दलहरूमा आफू सत्तामा हुँदा सबै ठिक, सत्ताबाहिर हुँदा सबै बेठिक भन्ने गलत सोच बढ्दै

 जेठ ७, २०८० आइतबार २०:४२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राजनीतिक दलहरूमा आफू सत्तामा हुँदा सबै ठिक, सत्ताबाहिर हुँदा सबै बेठिक भन्ने गलत सोच बढ्दै गएको छ । सत्तामा हुँदा आफूले गरेका गलत काम पनि ठिक र सत्ताबाहिर हुँदा अर्को पक्षले गरेका सबै काम गलत भन्ने सोच नेताहरूमा बढेको छ ।

आउँदो आर्थिक वर्षका लागि संसदमा प्रस्तुत भएको सरकारकाे नीति तथा कार्यक्रममाथिको टिप्पणीका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि कुराको प्रशंसा गर्नु भएन । हुँदा–हुँदा नक्कली शरणार्थी प्रकरण पनि आफैँ बाहिर आएको र यो सरकारले कुनै पनि पहल नगरेको आरोप लगाउनुभयो ।

अस्ति शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दा एक घण्टा ४४ मिनेट लगाएकोमा आज आइतवार ओलीले एक घण्टा ५२ मिनेट लगाएर आलोचनात्मक टिप्पणी गर्नुभयो । ओलीले नीति तथा कार्यक्रमबारे कतै विषयवस्तुभित्र रहेर त कतै वाक्य गठन नमिलेको, लय हालेर पढ्न मिल्ने किन बनाएको, कवितात्मक शैलीमा लेखिएको लगायतका विषयमा पनि आलोचना गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गरेको बेलामा आएको नीति तथा कार्यक्रम पनि अहिलेको भन्दा धेरै भिन्न थिएन तर त्यति बेला देश समृद्ध बन्ने गरी नीति तथा कार्यक्रम ल्याएको दाबी गर्नुभएका उहाँले यस पटक तारिफ गर्न लायक एउटा पनि विषय नरहेको बताउनुभयो । नीति तथा कार्यक्रम पहिलेकै 'कपी' अर्थात् नक्कल भएको आरोप लगाउनुभएका ओलीले आफैँमा बाझिने कुरा पनि गर्नुभयो । पहिले आफूले ल्याएको नीति तथा कार्यक्रम निकै राम्रो भएको दाबी गर्दा अहिले त्यही 'कपी' गरेको हो भने कसरी नराम्रो भयो र देशलाई निर्देशित नगर्ने बन्यो भनेर उहाँले जवाफ दिन सक्नुभएन । उदाहरणका लागि ओली प्रधानमन्त्री हुँदा वनका काठ उपयोग गर्ने र ढुङ्गा, गिटीको अधिकतम प्रयोग गर्ने नीति तथा कार्यक्रममा उल्लेख थियो तर आज उहाँले यही नीतिको चर्को विरोध गर्नुभयो । 

अहिले सत्तापक्षमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादीमा पनि यो समस्या छ । सरकारले गरिरहेका काम, विकास निर्माण, नियुक्ति, भागबन्डालगायतका विषयमा कांग्रेस र माओवादीले पनि दुई खाले चरित्र देखाएका छन् । उस्तै कार्यक्रम केपी शर्मा ओलीले ल्याउँदा सपना देखेर देश बन्दैन भनेका दलहरूले अहिले दुरुस्तै कार्यक्रम ल्याएका छन् । सरकार आर्थिक सङ्कट उन्मुख भइरहेका बेला सयाैँ नयाँ कार्यक्रम ल्याइएको छ, ती कार्यक्रम कार्यान्वयनका लागि कसरी स्रोत जुटाउने भन्नेमा भने मौन देखिन्छ ।

आजभन्दा चार वर्षअघि तत्कालीन ओली सरकारले नीति तथा कार्यक्रम ल्याउँदा कांग्रेसले नागरिक झुक्याउने र कागजको नासमात्रै भएको आरोप लगाएको थियो । नीति तथा कार्यक्रमले आश्वासनमात्रै बाँडेको आरोप थियो । तर अहिले पनि नीति तथा कार्यक्रममा भएका व्यवस्था कार्यान्वयनको कुनै ग्यारेन्टी छैन तर कांग्रेसले उत्कृष्ट भनिरहेको छ ।

ओली सरकारको नीति तथा कार्यक्रम र बजेटमा सामाजिक सुरक्षा भत्ताका नाममा देशलाई भार बोकाएको भन्दै चर्को आलोचना भयो । तर अहिले कांग्रेस र माओवादीको सरकारले सामाजिक सुरक्षा भत्ता पुनरावलोकनको कुरै समेटेकाे छैन । चाहे राजनीतिक होस्, चाहे आर्थिक र अन्य विषय । आफू सत्तामा हुँदा सबै ठिक र सत्तामा नहुँदा सबै बेठिक भन्ने गलत चलनले नागरिकको जीवनस्तर उठ्न सकेको छैन ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया