रुकुम पश्चिम : जीप दुर्घटनामा पाँच जनाको ज्यान गयाे, १० जना घाइते

 जेठ ११, २०८० बिहिबार १४:१७:२१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका-८ दुलीमा भएको जीप दुर्घटनामा पाँच जनाकाे ज्यान गएकाे छ । १० जना घाइते भएका छन् ।

सानीभेरी गाउँपालिका-५ हाँसुबाट खलङ्गाका लागि छुटेकाे लु १ ज १७४७ नम्बर जीप दुलीको मोचेखोलामा आज बिहान दुर्घटना भएकाे हाे । दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजाने क्रममा ज्यान गएकाे प्रहरीले जनाएकाे छ । 

दुर्घटनाम सानीभेरी गाउँपालिका-५ का ४८ वर्षीय देउचन खत्री, ७० वर्षीय कर्ण बाँठामगर, बाँफीकोट गाउँपालिका-८ की २२ वर्षीया रेखा केसी खनाल र उहाँका २२ दिनको छोरा रोशन केसीको ज्यान गएकाे हाे।त्यस्तै, सानीभेरी गाउँपालिका ५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु कुमार श्रेष्ठले बताउनु भयाे । 

यस्तै, घाइतेमध्ये चार जनालाई हेलिकप्टरमार्फत् उपचारका लागि कैलालीकाे नेपालगञ्ज शिक्षण अस्पताल लगिएकाे छ। सानीभेरी गाउँपालिका-५ का ४० वर्षीय प्रेम बाँठा मगर, २२ वर्षीय ललित बाँठा मगर, २ वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसीकाे नेपालगञ्जमा उपचार भइरहेकाे छ । अन्य घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया