पृथ्वीमा भएका पशुपक्षीमध्ये आधा प्रजातिको सङ्ख्या घट्दो क्रममा : अध्ययन

 जेठ १२, २०८० शुक्रबार ६:३१:२१ | एजेन्सी
unn.prixa.net

पृथ्वीमा अहिले भएका पशुपक्षीका आधा प्रजातिहरूको सङ्ख्या निरन्तर घटिरहेको एक अध्ययनले देखाएको छ । बेलायतको क्विन्स युनिभर्सिटी बेल्फास्टले ७० हजारभन्दा धेरै प्रजातिका पशुपक्षीको घनत्वबारे अध्ययन गरेको थियो । अनुसन्धानकर्ताले यो अहिलेसम्मकै सबैभन्दा विस्तृत अभिलेख भएको समेत बताएका छन् ।

अध्ययनका अनुसार अहिले पशुपक्षीका ४८ प्रतिशत प्रजातिको सङ्ख्या घट्दो क्रममा छ । तीन प्रतिशत प्रजातिको सङ्ख्या भने बढेको देखिएको छ । अध्ययनले यसको मुख्य कारण जैविक विविधतामा देखिएको विश्वव्यापी ह्रासलाई सङ्केत गरेको बीबीसीले जनाएको छ ।

औद्योगिकीकरणका कारण जैविक विविधतामा भैरहेको नोक्सानी पहिला ठानिएको भन्दा पनि निकै चिन्ताजनक भएको अध्ययनको चेतावनी छ । जैविक विविधतामा देखा परेको सङ्कट मानव जातिका लागि आउँदा दशकहरूमा सबैभन्दा ठूलो चुनौती बन्ने यो अनुसन्धानले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ आईयूसीएनले सन् १९६४ यता खतराको सूचीमा रहेका जनावरहरूको रातो सूची बनाउने गरेको छ । त्यसमा १ लाख ५० हजारभन्दा धेरै सङ्कटापन्न प्रजाति समाविष्ट छन् । आईयूसीएनको विधिअनुसार २८ प्रतिशत प्रजातिलाई लोप हुने खतरामा परेको मानिएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया