काजकिस्तानसँग हार्दै नेपाल सेमिफाइनलबाटै बाहिरियाे

 जेठ १२, २०८० शुक्रबार १९:११:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुग्न असफल भएकाे छ । सेमिफाइनलमा काजकिस्तानसँग हारेसँगै नेपाल फाइनल पुग्न असफल भयाे ।

आज शुक्रवार त्रिपुरेश्वरकाे कभर्ड हलमा भएकाे दाेस्राे सेमिफाइनल खेलमा काजकिस्तानले दुई संस्करणकाे च्याम्पियन नेपाललाई ३–२ काे सेटमा हरायाे । नेपालले पहिलाे सेट हारे पनि लगातार दाेस्राे र तेस्राे सेट जित्दै खेलमा उत्कृष्ट पुनरागमन गरेकाे थियाे । तर फेरि चाैथाे र पाँचाैँ सेट जित्दै काजकिस्तान फाइनल पुगेकाे हाे ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलाे सेट काजकिस्तानले ३०–२८ ले जित्याे । दाेस्राे र तेस्राे सेट नेपालले २५–१६ र २५–१५ ले जित्याे । चाैथाे र पाँचाैँ सेट काजकिस्तानले २५–१८ र १५–७ ले जित्याे ।  

अब काजकिस्तानले फाइनलमा आउँदाे आइतवार भारतसँग खेल्नेछ । आज भएकाे पहिलाे सेमिफाइनल खेलमा उज्बेकिस्तानलाई ३–० काे साेझाे सेटमा हराउँदै भारत फाइनल पुगेकाे हाे ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया