मुम्बईलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा

 जेठ १३, २०८० शनिबार ६:२७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ । गएराति अहमदावादमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात उपाधि नजिकै पुगेको हो ।

गुजरातले दिएको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १ सय ७१ रन बनाउँदा अलआउट भयो । मुम्बईका सूर्यकुमार यादवले ६१, तिलक वर्माले ४३ र क्यामरन ग्रिनले ३० रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गुजरातका मोहित शर्माले पाँच तथा मोहम्मद शामी र राशिद खानले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका शुभमन गिलले १ सय २९ रन बनाए । यो सिजनको आईपीएलमा उनको यो तेस्रो शतक हो ।

गिलले आईपीएलको एकै सिजनमा तीन वटा शतक हान्ने विराट कोहली र जोस बट्लरको रेकर्ड पनि बराबरी गरेका छन् । गुजरातले अब उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग खेल्नेछ । गएको वर्ष पहिलोपटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया