सगरमाथा आरोहणको ७० वर्ष : साढे ७ हजारभन्दा धेरै सर्वोच्च शिखरमा

 जेठ १५, २०८० सोमबार ८:२७:४२ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - विश्वको सर्वाेच्च शिखर सगरमाथामा ७० वर्षको इतिहासमा साढे ७ हजारभन्दा धेरैले आरोहण गरेका छन् ।

सगरमाथामा पहिलो पटक सन् १९५३ मे २९ तारिखमा मानव पुगेका थिए । यो दिनदेखि अहिलेसम्म झण्डै ७ हजार ८ सय ५१ जनाले आरोहण गरेका पर्यटक विभागको तथ्याङ्क छ ।

विभागका सूचना अधिकारी सूर्यप्रसाद उपाध्यायका अनुसार सन् २०२२ सम्ममा ७ हजार २ सय ५१ जनाले आरोहण गरेका छन् भने सन् २०२३ को चालु सिजनमा झण्डै ६ सय जनाले आरोहण गरेका छन् ।

यस्तै, ७० वर्षमा झण्डै ३ सय जनाको ज्यान गएको छ । यस वर्षको वसन्तयाममा मात्रै १३ जनाले सगरमाथामा ज्यान गुमाएका छन् । जसमा नेपालका ५, मलेसियाका २, चीन, भारत, अमेरिका, सिङ्गापुर, मालदोवा र अष्ट्रेलियाका १/१ जना छन् ।

नेपालले मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउँदै आएको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिनलाई नेपालले दिवसको रूपमा मनाउने गरेको हो । २९ मे १९५३ मा न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया