प्रधानमन्त्री प्रचण्डसँग माेदीका सुरक्षा सल्लाहकार र विदेश सचिवकाे भेट

 जेठ १७, २०८० बुधबार १९:४८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गर्नुभएको छ । 

चार दिवसीय भारत भ्रमणका लागि आज बुधवार नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल मौर्यमा पुगेर सुरक्षा सल्लाहकार डोभालले भेट गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएकाे छ । यस्तै प्रधानमन्त्री प्रचण्डसँग त्यही हाेटलमा भारतका विदेश सचिव विनयमोहन क्वात्राले पनि भेट गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले भाेलि बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा दुई पक्षीय वार्ता गर्नुहुनेछ । भारत भ्रमणका क्रममा विद्युत विस्तार, विद्युतमा भारतीय लगानी प्रवर्धन, भारतसँग भएका सम्झौताहरूको कार्यान्वयन, सीमा विवाद, नाकाहरू सञ्चालनलगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई नयाँ दिल्लीकाे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएकाे थियाे ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल हुनुहुन्छ ।

प्रधानमन्त्री प्रचण्ड आउँदाे शनिवार स्वदेश फर्किने तालिका रहेकाे छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया