प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै, संयुक्त बैठकपछि पत्रकार सम्मेलन हुने

 जेठ १८, २०८० बिहिबार ७:११:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । उहाँहरुबीच आज बिहान ११ बजे हैदरावाद हाउसमा भेटवार्ताको तालिका छ । 

त्यसपछि प्रतिनिधिमण्डल स्तरीय संयुक्त बैठक हुनेछ । बैठकमा प्रचण्ड र मोदीको सहभागिता रहनेछ । यो बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । 

आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग दिउँसो ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समयतालिका छ । 

प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका क्रममा हिजो भारतको नयाँ दिल्ली पुग्नुभएको हो ।

भ्रमणको पहिलो दिन हिजो भारत सरकारका विदेश सचिव विनयमोहन क्वात्रा र सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटलमा पुगेर भेट गर्नुभएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणले विगतका केही वर्षमा नेपाल–भारत सम्बन्धमा देखिएको उतारचढावलाई सहजीकरण गर्ने उहाँको सचिवालयले जनाएको छ ।

यस्तै भ्रमणको क्रममा ऊर्जा व्यापार, पारवहन सन्धिको संशोधनसहितका विषयमा निर्णय हुन सक्ने नेपाली अधिकारीहरूले बताएका छन् ।

नेपालले थप हवाई रूटको माग गर्ने र महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजना विकास गर्न झन्डै तीन दशकअघि गरिएको प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने विषय उठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड पर्सि शनिवार स्वदेश फर्कने कार्यक्रम छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया