महानगरको पहिलो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु हो : उपमेयर डंगोल

 जेठ २०, २०८० शनिबार १३:१३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोलले काठमाण्डौ महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताउनुभएको छ ।

शनिवार काठमाण्डौमा नेपाल मधुमेही समाज र काठमाण्डाै महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाण्डाै महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नगरवासीलाई रोग लागेपछिको उपचार भन्दा पनि रोग लाग्न नै नदिने उपायहरुको बारेमा महानगरले काम गरिरहेको बताउनु भयो ।

उहाँले देश विकासका लागि जनप्रतिनिधिहरुको इच्छाशक्ति र शारीरिक स्वस्थता आवश्यक रहेको बताउनु भयो । उहाँले धेरैजना जनप्रतिनिधिहरु प्रेसर र मधुमेहको रोगी रहेको भन्दै यस कार्यक्रमले धरै सहयोग पुग्ने बताउनु भयो । उहाँले जनप्रतिनिधिहरुको जीवनशैलीसँग जोडेर यस किसिमको स्वास्थ्य केन्द्रित तालिमहरु दिनसके त्यसले धेरै फाइदा पुग्ने बताउनु भयो । उहाँले मानिस स्वास्थ्य रहेमात्रै सबैखाले काम गर्न सकिने र इच्छाशक्तिले मात्रै काम गर्न नसकिने हुने बताउनु भयो । उहाँले स्वास्थ्यसम्बन्धित तालिमबाट जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रका बासिन्दाहलाई सचेत बनाउन सक्ने बताउनु भयो । आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र मधुमेह नियन्त्रणका लागि कार्यक्रम ल्याउन सहयोग पुग्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘आफ्नो मात्रै नभइ आफ्नो वडावासीको जीवनशैली सुधार गर्न र घर घरको रोग मधुमेहलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा पनि यहाँहरुले वडामा जनचेतनामुलक काम गर्दा स्वास्थ्य र घरसँग जोडिएको कार्यक्रम वडामा लैजान सहज हुनेछ । त्यसैले पनि हामी रोग लाग्न नै नदिनेतर्फ जान सक्छौँ । रोग लाग्न नै नदिनु पहिलो हाम्रो प्राथमिकता हो ।’ 

अहिले कार्यवाहक प्रमुखकाे जिम्मेवारी सम्हालिरहनुभएकी डंगोलले यस्ता कार्यक्रमहरुले वडावासीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने बताउनु भयो । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया