बचत फिर्ताको माग गर्दै सहकारी पीडितद्वारा माइतीघरमा प्रदर्शन

 जेठ २०, २०८० शनिबार १७:१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाण्डाैमा प्रदर्शन गरेको छ । सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिवार आज काठमाण्डाैको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

सहकारीहरुले खाएर भागेको बचत फिर्ताको लागि पालिकादेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दा समेतबचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको उनीहरुले बताएका छन् ।

सङ्घर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको बचत फिर्ताको लागि राज्यका सबै निकायहरु धाउँदा कतै पनि सुनुवाइ नहुँदा संयुक्त रुपमा पीडितहरु सडक आन्दोलनमा आएको बताउनु भयो । उहाँले सरकारसँग सहकारी पीडितहरुको माग सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुले बनाउने निजी ऐन बन्द गर्नुपर्ने रहेको बताउनु भयो ।

उहाँले सहकारीमा बचत गरेको लाखौँ रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले न्याय सडक आन्दोलनमार्फत् माग्न बाध्य भएको बताउनु भयो । उहाँले काठमाण्डाै महानगरपालिका,वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाइ कतैबाट पनि नभएको बताउनु भयो ।

उहाँले अहिले १०० वटाभन्दा बढी सहकारीमार्फत् ठगिएका बचतकर्ताहरु एक ठाउँमा रहेको बताउनु भयो । उहाँले सहकारीमा बाटोमा दिनभर मकै पोल्ने, भारी बोकेर सहकारीमा जम्मा गरेको पैसा फिर्ता नदिएको भन्दै कुनै कालोधन जम्मा नगरेको बताउनु भयो ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया