तनाव कम गर्न चीनसँग वार्ता आवश्यक रहेकोमा अमेरिकाको जोड

 जेठ २१, २०८० आइतबार ६:२३:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाले दुई शक्तिदेशबीच द्वन्द्व निम्त्याउन सक्ने असमझदारीबाट जोगिन चीनसँग वार्ता गर्न आवश्यक रहेकोमा जोड दिएको छ ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सिंगापुरमा भएको रक्षा शिखर सम्मेलनको अवसरमा चिनियाँ समकक्षी ली शाङफुलाई भेटका लागि निमन्त्रणा गर्नुभएको तर बेइजिङले अस्वीकार गरेको पेन्टागनले जनाएको छ ।

चिनियाँ प्रतिनिधिमण्डलका एक सदस्यले आफ्ना मन्त्रीमाथिको अमेरिकी प्रतिबन्ध हटाउनु वार्ताका लागि पूर्वसर्त भएको बताएका समाचार संस्था एएफपीले उल्लेख गरेको छ । अस्टिनले विशेषगरी अमेरिकी र चिनियाँ रक्षा तथा सैन्य नेताहरूबीच सञ्चारको खुला रेखाहरू आवश्यक रहेको बताउनुभएको छ ।

अमेरिकी शीर्ष अधिकारीहरू क्षेत्रीय गठबन्धन र साझेदारीलाई बढाउन एसियाको भ्रमणमा छन् । यसै हप्ता जापानको भ्रमण गरेका अष्टिन कुटनीतिक पहलका लागि भारत पनि पुग्नुहुनेछ । चिनियाँ रक्षामन्त्री लिलाई सन् २०१८ मा अमेरिकी सरकारले रूसी हतियार खरिद गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो तर पेन्टागनले अस्टिनलाई लीसँँग आधिकारिक कारोबार गर्नबाट नरोकेको बताएको छ ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल ताङ हेफेईले पेन्टागन प्रमुखले धेरै झुटा आरोप लगाएको टिप्पणी गर्नुभएको छ । वासिङ्टन र बेइजिङबीच ताइवान र चिनियाँ बेलुनलाई लिएर तनाव बढेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया