यसपालि असार पहिलो हप्ता मात्रै मनसुन भित्रिने सम्भावना, अझै केही दिन गर्मी बढ्ने

 जेठ २१, २०८० आइतबार ७:३४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - यसपालि मनसुन भित्रिन ढिलाइ हुने भएको छ । भारतमै मनसुन आउन ढिलाइ भइरहेकाले नेपालमा पनि ढिलो हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार भारतमा मनसुन भित्रिएको दुई/तीन दिनपछि बल्ल नेपालमा मनसुन आउँछ ।

सामान्यतया भारतमा जुन १ तारिखमा मनसुन भित्रने गरेको थियो । तर, यसपालि जुन ४ तारिख हुँदा सम्म मनसुन भित्रिएको छैन । आज जुन ४ तारिख हो । यसले गर्दा नेपालमा पनि ढिलाइ हुने सम्भावना देखिएको मौसमविद् मानन्धरले बताउनुभयो । उहाँका अनुसार यसपालि मनसुन भित्रिँदा असार लाग्ने सम्भावना छ  ।

सामान्यतया नेपालमा जुन १३ तारिख अर्थात् जेठ अन्तिम हप्तातिर मनसुन भित्रने गर्छ । तर यो मितिमा हरेक वर्ष जस्तो तलमाथि हुने गरेको छ । केही वर्ष छिट्टै र केही वर्ष ढिलो गरी मनसुन भित्रने गरेको सरकारी तथ्याङ्क छ ।  जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको समय मानिन्छ । यसपालिको मनसुनमा सरदर भन्दा कम पानी पर्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले धेरैजसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको हो ।

यसैबीच, तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने मौसमविद्ले बताएका छन् । पछिल्लो एक हप्तादेखि तराई मधेसका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा धेरै छ । तापक्रम लगातार ४० डिग्री सेल्सियस भन्दा माथि रहेकाले उखरमाउलो गर्मी छ ।

तराई मधेसमा तातो हावा चल्ने र लू लाग्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् । तराई मधेससँगै पहाडी जिल्लामा पनि गर्मी बढेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा बिहानैदेखि घाम चर्किन थालेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया