ललितपुरको मङ्गलबजारमा आज सांस्कृतिक सङ्गीत महोत्सव, श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गरिँदै

 जेठ २१, २०८० आइतबार ९:१३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुरको मङ्गलबजारमा आज सांस्कृतिक सङ्गीत महोत्सवसँगै मल्ल राजा श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन गरिँदैछ । हरेक वर्षको जेष्ठ शुक्ल पूर्णिमा अर्थात् ज्या : पूह्नीका दिन मङ्गलबजारमा श्रीनिवास मल्लको  सिंहासन प्रदर्शन गर्ने गरिएको छ।

सिंहासन प्रदर्शनसँगै सङ्गीत महोत्सव हुन लागेको हो । झण्डै चार सय वर्ष अघिदेखि अर्थात् सिद्धिनरसिंह मल्लको पालादेखि पूर्णिमाका दिन सङ्गीत महोत्सव गर्ने चलन रहिआएको छ । सङ्गीत महोत्सवमा राजा सिद्धिनरसिंह मल्लले तयार पार्नु भएको राग मल्हारसहित ३२ वटा राग गाउने गरिन्छ ।

त्यस्तै सिद्धिनरसिंह मल्लको शासनकालमा बनेको पौभाः चित्र प्रदर्शनमा राखिनेछ । अरु दिन भने सिंहासन र पौभाः पाटन म्युजियमभित्र सुरक्षित तरिकाले राख्ने गरिन्छ । महोत्सव कार्तिक डबलीमा दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म हुनेछ ।

यस्तै, काठमाण्डौ उपत्यकाका नेवारले आजको दिनलाई वर्षको सबैभन्दा लामो दिनको रुपमा लिने गर्दछन् । पश्चिमेली परम्परामा भने जुन २१ तारिखलाई सबैभन्दा लामो दिनको रुपमा लिने गरिन्छ ।

यसैबीच, आज पनौतीमा भैरव र भद्रकालीको मुख्य जात्रा हुँदैछ । पनौतीमा हरेक वर्ष जेष्ठ शुक्ल पूर्णिमाका दिन जात्रा हुने गर्दछ । जात्राको क्रममा आज पनौतीको अजा टोलमा भैरव, महादेव र भद्रकालीको खट जात्रा गरिनेछ । तीन दिन अघि सुरु भएको  जात्रा आज जोगी चक्र पूजा गरेसँगै सकिनेछ । भैरव र भद्रकालीलाई महादेव र पार्वतीकै अर्को रुप भएको विश्वास गरिन्छ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया