सुनकाेसीमा बेपत्ता सीटीईभीटीका कर्मचारी अझै भेटिएनन्, गाेताखाेर टाेली पानीमुनि जानै सकेनन्

 जेठ २१, २०८० आइतबार २०:२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अस्ति शुक्रवार सुनकोसी नदीमा जीप खस्दा बेपत्ता भएका तीन जना आज आइतवारसम्म पनि भेटिएका छैनन् ।

सशस्त्र प्रहरी, नेपाली सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानकाे टोलीले खोजी गरिरहेको भए पनि जीप तथा जीपमा रहेका तीन जनाको अवस्था थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले जानकारी दिनुभयो । जीप खसेको ठाउँमा पानीको बहाब तीव्र रहेकोले गोताखोरको टोली पानीमुनि जानै नसकेको उहाँले बताउनुभयो । ‘खोजी गर्ने टोली पानीमा हाम फाल्दा एकै पटक पारि पुर्‍याइदिन्छ, त्यसैले पानीको बहाब घटाउने काम भइरहेको छ’, एसपी सिलवालले भन्नुभयाे । 

पानीको बहाव घटाउनका लागि हिजो शनिवारदेखि तीन वटा एक्स्काभेटर प्रयोग भएको छ । आज रातिसम्म आधा पानी अन्यत्र फर्काउन सकेमा खोजी गर्न सकिने आशा गरिएको र अहिलेकै अवस्थामा भने खोजी गर्न नसकिने उहाँले बताउनुभयो ।

भक्तपुरबाट खोटाङका लागि छुटेको बा १ झ ७४६७ नम्बरको जीप शुक्रवार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा दुर्घटना भई सुनकोसी नदीमा खसेकाे थियाे । जीप नदीमा खस्दा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का निर्देशकहरू कृष्ण केसी र यमप्रसाद भुर्त्तेल तथा विद्युत् प्राविधिक अधिकृत भानु पौडेल हराइरहनुभएको छ । जीप चालक कृष्ण चौधरी भने पौडिएर बाँच्न सफल हुनुभएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया