नेपालमा लगानी बढाउन इटालीलाई उद्योगमन्त्रीको आग्रह

 जेठ २२, २०८० सोमबार १७:९:२ | रासस
unn.prixa.net

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उच्च प्रतिफल प्राप्त गर्ने क्षेत्रमा लगानी बढाउन इटाली सरकारसँग आग्रह गर्नुभएको छ । 

इटालीका गैरआवासीय राजदूत भिन्सेन्जो डि लुकाले आज साेमवार गर्नुभएको शिष्टाचार भेटमा मन्त्री रिजालले सूचना प्रविधि, पूर्वाधार विकास, सेवा क्षेत्र, जलविद्युत्, कृषि क्षेत्रलगायतमा लगानी बढाउन र विविधिकरण गर्न आग्रह गर्नुभएको हो । इटालीबाट भित्रिएको प्रत्यक्ष विदेशी लगानीको प्रशंसा गर्दै उहाँले नेपालमा लगानी भित्र्याउन राजदूतले अधिकतम प्रयास गर्ने विश्वास व्यक्त गर्नुभयो । 

भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग तथा व्यापार र लगानीलगायत विषयमा छलफल भएको थियो । भेटमा मन्त्री रिजालले नेपाल र इटालीले विभिन्न विषयमा साझा धारणा राखेको र बहुपक्षीय फोरममा मिलेर काम गरेको स्मरण गर्दै आउँदा दिनमा पनि यस्तो सम्बन्ध कायम रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भूकम्प तथा कोभिड–१९ महामारीकाे समयमा इटाली सरकारले गरेको सहयोगको सरहाना गर्नुभयो । नेपाल अल्पविकसित राष्ट्रको स्थितिबाट स्तरोन्नति हुने चरणमा रहेको उल्लेख गर्दै मन्त्री रिजालले आउँदा दिनमा इटाली सरकारले आफ्नो सहयोगको दायरा बढाउने विश्वास व्यक्त गर्नुभयो । 

भेटमा गैरआवासीय राजदूत लुकाले नेपालसँग इटालीको व्यापार बढेको उल्लेख गर्दै इटालीमा उत्पादन भएका नयाँ प्रविधिका मेशिन नेपालमा आपूर्ति गर्न सकिने बताउनुभयो । नेपाल र इटालीबीच द्विपक्षीय सम्बन्धबाट व्यापार लगानी वृद्धि गर्न सकिने उहाँले स्पष्ट पार्नुभयो । इटाली सरकारले २०३० सालमा 'रोम एक्स्पो' आयोजना गर्न लागेको जानकारी दिँदै राजदूत लुकाले त्याे एक्स्पोमा नेपाली कला, संस्कृति र पहिचानसहित नेपालको पनि सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया