चर्चामा आउन र नेतालाई खुसी पार्न सांसदहरू संसदमा नसुहाउँदाे क्रियाकलाप गर्दै

 जेठ २२, २०८० सोमबार २०:३१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – आफ्नो पार्टी र नेतालाई खुसी पार्ने तथा सञ्चारमाध्यममा चर्चामा आउने नाममा संसद् बैठकमा सांसदहरूले नसुहाउँदाे क्रियाकलाप गर्न थालेका छन् । संसद् नियमावली र व्यावहारिक विषय बिर्सेर सांसदहरूले संसद्को गरिमामा नै आँच पुग्ने किसिमका क्रियाकलाप गर्न थालेका हुन् ।

आज साेमवारको संसद् बैठकमा यस्ता थुप्रै नसुहाउँदाे दृश्य देखिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा भएका सम्झौता र अभिव्यक्तिलाई लिएर प्रतिपक्ष दलहरू नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले हिजो आइतवार संसद् चल्न दिएका थिएनन् । आज प्रधानमन्त्रीले यो विषयमा जवाफ दिने भएपछि आजको संसद् बैठक सुरु भएको थियो । तर आज प्रधानमन्त्रीले जवाफ दिने बेलामा नै सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच चर्काचर्की पर्‍याे । 

रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्री प्रचण्ड भारतबाट भैँसी चढेर आएको भनेपछि माओवादीका सांसदहरूले आपत्ति जनाएर उठे । माओवादीको विरोधका लागि एमाले र रास्वपाका सांसदहरू पनि उठेर हो–हल्ला गर्न थाले । सभामुख देवराज घिमिरेलाई यो विषय साम्य पार्न बडो सकस पर्‍याे ।

बल्ल–बल्ल सभामुख घिमिरेले शिशिर खनालको भनाइ संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभयो तर रास्वपा र एमालेका सांसदले प्रधानमन्त्री स्वयंले नै भैँसी चढेर आएको अभिव्यक्ति दिएकाले प्रचण्डको भनाइ पनि रेकर्डबाट हटाउन माग गरे । सभामुखले प्रचण्डको भनाइ पनि हटाउन भनेपछि यस पटक संसद् शान्त बन्यो ।

तर प्रधानमन्त्रीले बोल्दै गर्दा एमालेका सांसद सूर्य थापाले हो–हल्ला गर्दै बोल्न थालेपछि फेरि बैठक अशान्त भयो, प्रधानमन्त्री रोस्ट्रममा उभिएर बोल्दै गर्दा अपमानजनक ढङ्गले हो–हल्ला गरेको भन्दै सत्तापक्षका सांसदहरूको विरोध सुरु भयो । एमालेका केही सांसद र माओवादीका सांसद निकै चर्काे स्वरमा सवाल–जवाफ गर्न थाले । एमालेका सूर्य थापा, रघुजी पन्त र योगेश भट्टराई तथा माओवादीका राजन दाहाल र माधव सापकोटाले चोर औँला देखाएर बडो आवेगमा एकअर्का पार्टी र नेतालाई आलोचना गरे । रोस्ट्रममा उभिएका प्रधानमन्त्रीले पनि बेला–बेला आफ्नो कुरा राख्न पाउनुपर्छ भनिरहनुभयो ।

सभामुखले विरोध गर्नेहरूलाई बल्ल–तल्ल फकाउनुभयो, नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गरेको शालीन भाषणले पनि बैठकलाई शान्त बनाउन सहयाेग पुग्याे । 

सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको सवाल–जवाफका कारण रोस्ट्रममा गएर पनि प्रधानमन्त्रीले बोल्न पाउनुभएन, उहाँले १५ मिनेट यत्तिकै उभिएर बस्नुपर्‍याे । आजको संसद् बैठक बल्ल–तल्ल शान्त भए पनि पार्टीका प्रमुखलाई खुसी पार्न र आकर्षणमा पर्नका लागि पटक–पटक संसद् बैठकमा अमर्यादित क्रियाकलाप हुँदै आएका छन् जुन संसदीय अभ्यासमा पर्दैनन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Daka Khan

    June 5, 2023, 9:07 p.m.

    Tamma tamma pani gare ki kya ho?

  •  0 Reply

तपाईको प्रतिक्रिया