दूध बेचेर मासिक एक कराेड रुपैयाँ भित्र्याउँदै हेटौँडाको हटियाका किसान

 जेठ २३, २०८० मंगलबार ९:५६:२६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ हटिया लक्ष्मीनगरका किसान उपेन्द्रप्रसाद गौतमले विगत साढे दुई वर्षदेखि गाईभैँसी पालन गर्दै आउनु भएको छ । गौतमका फरक– फरक प्रकृतिका तीन वटा गोठमा गाई र भैँसी लस्करै बाँधिएका छन् । 

गौतमसहित उहाँकी श्रीमती र परिवारका अरू सदस्य बिहानको झिसमिसेदेखि राति अबेरसम्म गोठमा नै रमाउने गरेका छन् । कर्मचारी पनि उत्तिकै लागिपरेका छन् । उहाँका गोठमा अहिले १९ वटा गाई र तीन वटा भैँसी छन् । गाई पाल्नका लागि सुधारिएको गोठ पनि निर्माण गरिएको छ । प्रत्येक गाईको टाट्नुमा धाराबाट नै पानी झर्ने बनाइएको छ । आधुनिक गोठका कारण पनि गाईपालनमा निकै सहज भएको उहाँ बताउनुहुन्छ । 

उहाँले गाई र भैँसीको गरेर दैनिक ८० लिटर दूध घर नजिकैको चेतनशील दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा बिक्री गर्दै आउनुभएको छ । दूध बिक्रीबाट मासिक दुई लाख ८० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको गौतम बताउनुहुन्छ । उहाँको सुधारिएको गोठ निर्माण गर्न नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना सहयोग इकाइ हेटौँडाले चेतनशील दुग्ध उत्पादक सहकारी संस्थामार्फत सहयोग गरेको छ । पाँच वटा गाई खरिदमा पनि सहयोग प्राप्त भएको उहाँ बताउनुहुन्छ ।

आफूहरूले गरेको मेहनतअनुसार आमदानी पनि राम्रै भएको बताउँदै गौतम भन्नुहन्छ, ‘काम गरेपछि मेहनतअनुसार आम्दानी पनि राम्रै भएको छ । तर गाई, भैँसीका लागि दाना, ढुटो, चोकरलगायतमा धेरै खर्च गर्नुपरेको छ ।’ 

यसैगरी हटियाकै शम्भुप्रसाद दुलालले पनि दैनिक ७० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । यसै क्षेत्रका रणबहादुर न्यौपानेले दैनिक ५० लिटर दूध बिक्री गर्दै आउनुभएको छ । पछिल्लो एक वर्षमा सहकारीमार्फत गाई खरिद गर्न र सुधारिएको आधुनिक गोठ निर्माणका लागि धेरै किसानले सहयोग लिएका छन् । 

पहिले यस सहकारीमा दैनिक तीन हजार पाँच सय लिटरभन्दा बढी दूध सङ्कलन हुने गरेकोमा अहिले भने केही घटेको सहकारीका अध्यक्ष महेश ढकालले बताउनुभयो । 'लम्पी स्किन' रोगका कारण सबैजसो किसानका गाई बिरामी परेका कारण दूध धेरै सङ्कलन हुन नसकेको उहाँले बताउनुभयो । सङ्कलन गरिएको दूध जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड मकवानपुरलाई बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

इनोभेसन आयोजना सहयोग इकाइ हेटौँडाले दूध उत्पादन बढाउनकै लागि सहकारीमार्फत ६६ लाख ८३ हजार तीन सय ६७ रुपैयाँ १२ जना किसानका लागि सहयोग गरिएको कार्यालयका प्रमुख डाक्टर विदुरप्रसाद गौतमले बताउनुभयो । 

सहकारी, बैंकको लगानी र इकाइको अनुदानमा दूध उत्पादन बढाउने उद्देश्यका साथ सहकारीले तीन हजार लिटर क्षमताको चिलिङ भ्याट खरिद, स्टिलनेस क्यान, पानी ट्याङकी लगायतका सामग्रीहरू खरिद गरेको सहकारीका व्यवस्थापक दीपक ढकाल बताउनुहुन्छ । सहकारीमा दूध बिक्रीबाट नै यहाँका किसानले मासिक एक करोड रुपैयाँ भुक्तानी लिने गरेको उहाँको भनाइ छ । अहिले यस क्षेत्रका चार सय ३० जना किसानले दैनिक दूध बिक्री गरिरहेका छन् ।

इकाइले यस सहकारीमार्फत गोठ सुधारका लागि र गाई खरिदका लागि दिएको अनुदानपछि दूध उत्पादन बढेको छ । १२ जना किसानले नयाँ आधुनिक गोठ निर्माण गर्नुका साथै थप पाँच वटाका दरले ६० वटा गाई थपेका छन् । 

दूध उत्पादनमा वृद्धि गर्नका लागि दुग्ध सहकारीको २८ लाख नाै हजार, बैंकको ४४ लाख ४६ हजार र इनोभेसन आयोजना सहयोग इकाइ हेटौँडाले ६६ लाख ८३ हजार रुपैयाँ लगानी गरेको कार्यालयका प्रमुख डाक्टर विदुरप्रसाद गौतम बताउनुहुन्छ । राम्रा दुधालु गाई पालन गर्ने उद्देश्यका साथ किसानलाई प्रोत्साहित गरिएको उहाँ बताउनुहुन्छ । व्यावसायिक रूपमा गाई पालन गर्दै आएका र अनुदान प्राप्त गरेका किसानले आफ्ना परिवारसँगै अरूलाई पनि रोजगारीको अवसर सृजना गरेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया