अर्थमन्त्रीलाई रास्वपा सांसदकाे प्रश्न– ‘गरिब किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ ?’

 जेठ २४, २०८० बुधबार १५:५३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत ल्याएको कर नीतिको सशक्त ढङ्गले विरोध गर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएको आउँदाे आर्थिक वर्षको बजेटमाथिको छलफलमा सांसद श्रेष्ठले गरिबलाई झन् गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकिर गर्दै त्यसको विरोधमा आफूहरूले संसद् बैठकसमेत राेक्न चेतावनी दिनुभयो । उहाँले दैनिक उपभोग्य खाद्यान्नमा सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा आपत्ति जनाउँदै त्याे नीति स्वीकार्य नहुने बताउनुभयो । सांसद श्रेष्ठले गरिब किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ भनी अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गरिबलाई कर थोपर्ने काम भयो । करको नियम कस्तो बनाएका छौँ भने गरिब झन् गरिब बनाउने, अनि कुपोषण निवारणको ठूल्ठूला कुरा गर्ने ? आफूले लक्ष्य लिएकाे कर उठेन भने अब त अर्को वर्ष तपाईँले सासमा पनि कर लगाउनुहुन्छ । हरेक सासको कति मोल लिनुहुन्छ ? यो सदन पटक–पटक राजनीतिक हिसाबले रोकिएको छ । नागरिकका लागि अब हामी रोक्छौँ ।’

सांसद श्रेष्ठले गरिबीलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरूलाई मारमा पार्ने काम हुनै नसक्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया