कोस्टारिकाको एउटा चिडियाखानामा संसर्ग नै नगरि गोही आफैँ गर्भवती भएको पुष्टि

 जेठ २५, २०८० बिहिबार ११:४८:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी

कोस्टारिकाको एउटा चिडियाखानामा भाले गोहीसँग संसर्ग नै नगरि एउटा पोथी गोही आफैँ गर्भवती भएको पत्ता लागेको छ । यसअघि गोहीमा त्यस्तो अवस्था हुने गर्छ भन्ने तथ्य बाहिर आएको थिएन ।

कोस्टारिकाको ‘पार्क रेप्टिलानिया’ मा पालिएको एउटा १८ वर्षे पोथी गोहीले सन् २०१८ को जनवरीमा पारेको अण्डामा यो घटना पुष्टि भएको हो । गर्भवती अवस्थामा गोहीको अण्डाभित्र विकसित भ्रूणमा ९९ दशमलव ९ प्रतिशत अनुवांशिक समानता छ ।

अण्डामा भ्रूण पूर्ण रूपमा विकसित भएको थियो तर कोरलिन नपाइ त्यो मरेको थियो । पोथी गोहीलाई दुई वर्षको उमेरदेखि चिडियाखानामा एक्लै राखिएको थियो । ‘भर्जिन बर्थ’ अर्थात् कुमारी आमाबाट हुने जन्म भनिने त्यस्तो प्रक्रिया चराचुरुङ्गी, माछा र अन्य सरीसृप (घस्रिने जीव) मा देखिन्छ । तर गोहीमा पहिलो पटक पत्ता लागेको हो ।

क्रमविकासका क्रममा कुनै पुर्खाबाट त्यस्तो क्षमता गोहीमा पनि विकसित भएको हुनसक्ने वैज्ञानिक आकलन रहेको बीबीसीले उल्लेख गरेको छ । रोयल सोसाइटीको वैज्ञानिक जर्नल ‘बायोलाेजी लेटर्स’ मा यसबारे एउटा शोधपत्र प्रकाशित भएको छ ।

गोहीले अण्डा पारेपछि चिडियाखानामा कार्यरत वैज्ञानिकको टोलीले अमेरिकाको भर्जिनिया टेक विश्वविद्यालयमा कार्यरत डा. वारन बुथलाई जानकारी गराएका थिए । उहाँले विगत ११ वर्षदेखि पशुपक्षीमा भाले र पोथीको संसर्गविना नै हुने प्रजननबारे अनुसन्धान गर्दै आउनुभएको छ ।

डा. बुथले गोहीको सूक्ष्म विश्लेषण गरेपछि भालेको संसर्ग नभएको पुष्टि गरेको खबरमा उल्लेख छ । आफ्नो प्रजातिको सङ्ख्या घटेको र मासिन सक्ने जोखिम भएको अवस्थामा पार्थनोजनेसिस गर्न सक्षम जीवले संसर्गविना नै सन्तान जन्माउन सक्छन् भन्ने एउटा मान्यता छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया