साउन १ देखि स्वचालित प्रणालीमार्फत श्रम स्वीकृति पाइने

 जेठ २५, २०८० बिहिबार १७:३५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान हुने भएको छ ।

म्यानपावरहरूले आफ्नै कम्पनीमा बसेर वैदेशिक रोजगारीमा जाने श्रमिकको सूचना अनलाइन सिस्टममा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव एकनारायण अर्यालले जनाकारी दिनुभयो ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि फाइल बोकेर म्यानपावर कम्पनीहरू श्रम तथा रोजगार कार्यालयहरूमा धाउन पर्दैन ।

मन्त्रालयले अहिलेको अनलाइन प्रणालीलाई परिमार्जन गर्दै पूर्व र अन्तिम श्रम स्वीकृति सम्बन्धी सबै काम स्वचालित प्रणालीबाटै हुने व्यवस्था गरेको हो । तर म्यानपावर कम्पनीहरूले झुटा विवरण राखेको ठहरिएमा भने कम्पनी खारेजीसम्मको सजाय हुने मन्त्रालयले जनाएको छ ।

यस्तै अबदेखि श्रम स्वीकृतिका लागि आएका आवेदनको विवरण प्रमाणीकरण र अनुगमनको काम पनि अधिकृत तहका कर्मचारीहरूले गर्ने गरी व्यवस्था गरिएको पनि श्रम सचिव अर्यालले जानकारी दिनुभयो । यसअघि फेमिस सिस्टममार्फत दिएका आवेदनहरू विभिन्न तहमा कर्मचारीहरूले प्रमाणित गर्ने हुँदा काम ढिलो हुने गथ्र्यों । 

पछिल्लो समय सबै खाले श्रम स्वीकृति अनलाइनमार्फत नै प्रदान हुन्छ भने कुनै पनि कामका लागि कार्यालयमा गएर लाइन बस्न पर्दैन ।

यसअघि श्रम स्वीकृति लिँदा बायोमेट्रिक नभएकाहरूले मात्र पुनः श्रम स्वीकृति लिनका लागि श्रम कार्यालयमा उपस्थित हुनपर्छ । तर यस्तो सङ्ख्या एकदमै न्यून हुने र बिना झन्झण्ट सेवा लिन सकिने मन्त्रालयको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया