अराजक गतिविधिलाई सरकारले छुट दिन सक्दैन : गृहमन्त्री श्रेष्ठ

 जेठ २६, २०८० शुक्रबार १३:५:३१ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि खालको अराजक गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा नेकपा एमालेले कोशी प्रदेशमा आफ्ना पार्टीका नेताहरूमाथि निरन्तर आक्रमणको प्रयास भइरहेको बताएपछि गृहमन्त्री श्रेष्ठले त्यस्ता खालका गतिविधिलाई छुट दिन नसकिने बताउनुभएकाे हाे । उहाँले शान्तिपूर्ण बाटोबाट विरोध प्रदर्शन गर्न पाइने हुनाले सरकारले कुनै पनि खालको अराजक गतिविधिलाई सहन गर्न नसक्ने पनि स्मरण गराउनुभयो । 

मन्त्री श्रेष्ठले कोशी प्रदेशको नामाकरण गर्ने प्रदेश सभाको निर्णय कार्यान्वयनका लागि लाग्न र त्यहाँ उत्पन्न अराजक गतिविधिलाई नियन्त्रण गर्नका लागि संवाद र सहजीकरण गरिदिन पनि सबै राजनीतिक दलहरूलाई आग्रह गर्नुभयो । उहाँले संविधान र कानुनलाई मिच्ने काम सरकारले गर्न नदिने उल्लेख गर्नुभयाे । 

उहाँले भन्नुभयाे, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि एकपछि अर्को ढङ्गले आक्रमण हुन दिनु कसैको पनि हितमा हुने छैन । आन्दोलनकारी साथीहरूलाई पनि म भन्न चाहन्छु– सबैलाई आ–आफ्नो दृष्टिकोण, विचार राख्ने स्वतन्त्रता छ । तर त्याे संविधान र लोकतन्त्रले प्रत्याभूत गरेको शान्तिपूर्ण बाटो, शान्तिपूर्ण विधिअन्तर्गत हुनु पर्दछ । संविधान, कानुनलाई आफ्नो हातमा लिने, संविधान विरोधी गतिविधि गर्ने, अराजक गतिविधि गर्ने, उदण्ड गतिविधि गर्ने, सार्वजनिक सम्पत्ति वा सार्वजनिक संस्थाहरूको सुरक्षामा चुनौती उत्पन्न गर्ने क्रियाकलापलाई सरकारले छुट दिन सक्दैन । त्यसाे गर्नेलाई हामी कानुनी दायरामा ल्याउनेछौँ । यसमा हामी दृढ छौँ ।’

उपप्रधानमन्त्री श्रेष्ठले सङ्घीयता, लोकतन्त्रमाथि प्रहार हुन नदिन सरकार वचनबद्ध रहेको समेत बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया