गायक हेमन्त शर्मा : तीतो विगत, मिठो वर्तमान

 कात्तिक १०, २०७५ शनिबार ११:०:५६ | दीपा तिमल्सिना
unn.prixa.net

चिटिक्क परेर हिँड्नु र मुसुक्क हाँस्नु उनको विशेषता हो । दौरासुरुवाल, कोट र टोपीमा ठाँटिएर हिँडेको खासै देखिंदैन । तर सम्बन्ध भने यी औपचारिक पोशाकलाई भन्दा पनि निकै सम्हालेर राख्न जानेका छन् ।

व्यस्तता होस् या नहोस् दर्शक र शुभचिन्तकलाई दिने माया र प्रतिक्रियामा कमी नै आउँदैन । कुरा गर्दैछौं गायक हेमन्त शर्माको ।

एउटा विशेषता– परिवार र दर्शक अनि शुभचिन्तकको विमान उडाउने क्रममा ब्रेक लागेको छैन । सम्बन्धलाई न्यानोपनामा संगालेर राख्न सिपालु उनी कुनै राप र तापमा परिएला कि भनेर चिन्तित हुँदैनन् । किनकी उनलाई थाहा छ, रीतुको साथ छउन्जेल उनलाई प्रि मनसुनको चट्याङले पनि तर्साउन सक्दैन ।

रीतु – गायक शर्माकी श्रीमती । सम्बन्ध चट्याङ पर्ने बेलामा नै गाँसिएको । तर २५ वर्ष भइसक्यो माया र स्नेहको न्यानोपनालाई हुण्डरीले हल्लाउन समेत सकेको छैन, झन् बलियो गरी कसिएको छ । 

शर्मा भन्छन्, ‘मलाई कुनै गुनासो छैन अहिले पनि, थिएन पहिले पनि । किनकी म जे थियो त्यसैमा रमाउँथे । कुनै सपना बोकेर राजधानी शहर काठमाडौं पस्दा पनि म उतिकै खुशी थिएँ, जति आज छु । त्यही खुशीकै कारण आज मसँग आफ्नै घर छ । हिँडडुल गर्न गाडी छ । जबसम्म मानिस आफूमा ईमान्दार रहन्छ, तबसम्म उसले कुनै दुखेसो र गुनासो गर्नै पर्दैन ।’

संसारमा अपवादबाहेक सबैले संघर्षपछि मात्रै सफलता पाउँछन् । शर्मा संघर्षमा नै विश्वास गर्छन्  । अर्थात आफूले  आफैलाई विश्वास गर्छन् । 

ती दिनका संर्घष त्यति सहज थिएन । सामान्य एक मानिसले जसरी उचाइ छुन दुःख गर्दछ, उतिकै स्थापित भइसकेकासँग पापड पनि बेल्नु पर्दछ । 

उनी भन्छन्, ‘पापड बेलेको सम्झना मसँग पनि छ, तर म त्यो क्षणलाई मिठो पलको रुपमा लिन्छु । किनकी म आशावादी र सकारात्मक सोच राख्दछु । उहाँहरुले मलाई सजिलै काम दिनु भएको भए सायद म आजको यो हेमन्त हुने थिइनँ होला ।’ 

एक सयभन्दा बढी गीत गराइसकेका शर्माले विगतमा गरेको मिहेनेतकै कारण अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन । ससाना केटाकेटीदेखि लिएर बुढाबुढीमाझ उनी लोकप्रिय छन् । 

जाले रुमाल गाउने गायक भन्दै नाम थाहा नभएका बुढापाका पनि उनको गीतमा मस्त नाँच्छन् । यही कारण अहिले मन र मस्तिष्क चंगा बनेको छ । अनि त्यो चंगामा धागो बेर्न उनलाई भ्याई नभ्याई छ ।

काठमाडौंको बसुन्धारामा घर छ । यो घरमा हल्लाभन्दा धेरै सल्लाह हुन्छ । विगतको दुःख र अभावको काँडालाई पन्छाउन जीवनसंगिनीले पनि उतिकै हतियार चलाउँछिन् ।

श्रीमतीको केही साथमा एक्लोपन नआहोस् भन्न शर्माले सकेसम्म र मिलेसम्म सँगै लैजाने प्रयास गर्छन् । तर नमिले काठमाडौंमा श्रीमती एक्लै छोड्दैनन् । 

भैरहवा घर (बुवाआमा बस्ने ) मा श्रीमतीलाई छोडेर जाने र फर्कंदा सँगै काठमाडौं लिएर आउने उनको बानी नै हो । 

यस्तै, श्रीमतीप्रतिको इमान्दार र मायाका कारण शर्माको मोबाइल पनि श्रीमतीका लागि खुला हुन्छ । कुनै छेकबार नभएकाले पनि सम्बन्ध सुमधुर बन्दै गएको छ । स्नेह र माया अनि पारदर्शी डोरीले बाँधिएको यो जोडी कलाकारमाझ उदाहरणीय छ ।  

बाल्यकालमै हिमाल, पहाड र तराई बुझ्ने मौका

कर्म क्षेत्र बनेको संगीतले गायक शर्मासँग अहिले सबैथोक छ । आफ्नो ईच्छाले रोजेको पेशामा सन्तुष्टि मिलेको छ । तब त उनी यो क्षेत्रलाई ‘स्वेच्छा’ भन्न रुचाउँछन् । 

जन्म तराई (नवलपरासी)मा । बाल्यकाल बित्यो हिमाल, पहाड र तराईमा पनि । बुबा सरकारी जागिरे । यही कारण बुवा जताजता, हेमन्त शर्मा त्यता । हिमाली जिल्लामा शिशु कक्षामा पढे । ३ कक्षा पढ्न नवलपरासी पुगे । ६ कक्षा पढ्न भैरहवा फड्को मारे । फेरि ९ र १० कक्षा कपिलवस्तुमा । अनि उच्च शिक्षा कपिलवस्तु र काठमाडौंमा । पढाईका लागि काठमाडौं आउनु त शर्माको बाहाना मात्रै । इच्छा संगीतमा । सांगीतिक यात्रा अघि बढाउन उनले पढाईलाई ढाल बनाए । 

संगीतकर्मीलाई उनको स्वर मनै परेन

गाउँ ठाउँमा गाउँदा पाएको स्याबासीले हेमन्त शर्मालाई लाग्थ्यो, ‘म त निकै राम्रो गाउँछु ।’ उनी जहाँजहाँ पुगे उनी सांगीतिक कार्यक्रम गरिहाल्थे । काठमाडौंको बसाईमा चस्किएको मनमा मलम लाग्न वर्षाैं पर्खिनु पर्यो । स्वर सुनाउन उनले कयौं संगीतकर्मी र विभिन्न कम्पनीलाई भेटे । तर उनीहरुले उनको स्वर नै रुचाएनन् । कारण उनलाई अझै थाहा छैन ।

संघर्षकै क्रममा उनले काठमाडौंमा २०५४ सालदेखि २०५७ सालसम्म ८ वटा गीत रेकर्ड गर्न पाए । त्यसबीचमा उनले गाएका ‘ओ प्रिय ...’ बोलको गीतले सञ्चार क्षेत्र दर्शकको मन तान्यो ।  २०५९ सालमा विशेष गीति संग्रह निकाले । यो संग्रहको ‘माया सारै महंगो ...’ बोलको गीत उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । यसपछि उनले नाम र दामका लागि भौंतारिरहनु परेन ।

आमा दुई, ममता बराबर

हेमन्त शर्मासित जन्मदिने आमाको आकृति धमिलो छ । बाल्यकालमा नै आमा गुमाउनुपर्यो । जागिरका सिलसिलामा जोमसोम पुगेका बुवालाई भेट्न आमासँगै उनी पनि त्यहीँ गए । तर फर्किने क्रममा छ्ट्यो आमाको साथ । आमालाई कालीगण्डकीले खोस्यो । 

आमाबिना उनी एक्लो बन्न थाले । छोराछोरीकै लागि भनेर बुवाले दोस्रो बिहे गरे । मान्छे मात्रै अर्को, माया त उही जन्माएको आमाले जस्तै गर्ने ।  उनी दोस्रो आमाकै लाडप्यारमा हुर्किए, रमाए  । 

व्यक्ति भन्दा पनि क्षमतालाई कदर गर्ने हेमन्त शर्मालाई ठ्याक्कै यस्तै गीत गाउँछु र बन्छु भन्ने पटक्कै थिएन । उनले आफ्नो कर्म गर्दै गए । अहिले पनि उनी आफ्नो कर्म गर्न नै रुचाउँछन् । महोत्सव र स्टेज कार्यक्रममा उतिकै व्यस्त छन् । 

कुनै बेला काठमाडौंमा एक छाक टार्न नै धेरै हन्डर खेप्नुपर्यो । धोबीधारामा माटोको घरमा डेरा । २७ जनाका लागि एउटै शौचालय । तर परिस्थिति फेरिएको छ अहिले ।  दुई छोरालाई उनले अष्ट्रेलिया पठाएका छन् । उच्च शिक्षाका लागि । आफ्नै कमाईले घर, गाडी जोडेका छन् । मुख्य कुरा त परिवार र दर्शकको माया पाएका छन् । उतिबेला जीवन भोगाई कष्टकर भए पनि त्यतिबेला देखेका मिठा सपनाको स्वाद अहिले चाख्न पाएका छन् । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया