देशको अर्थतन्त्र उजिल्याउन प्रधानमन्त्रीको गम्भीर चासो
मंसिर २२, २०८० शुक्रबार
काठमाण्डाै - लगानी बोर्ड नेपालले आफ्नो १२औँ वार्षिकोत्सव मनाएको छ ।
शुक्रवार भएको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा रोजगारी र उत्पादन वृद्धि गर्दै उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिमार्फत् समावेशी र उत्थानशील विकासको आधार सिर्जना गर्न निजीसँगै विदेशी लगानीको अपरिहार्यता रहेको बताउनुभयो ।
लगानी बोर्डले स्थापनाको १२ वर्षमा ऊर्जा क्षेत्रका २८ र गैर ऊर्जा क्षेत्रका १४ परियोजना गरी ४२ परियोजनाका लागि १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । यस अवधिमा ५ खर्ब २५ अर्ब रुपैयाँ बराबरको लगानी परिचालन भएको छ । यस अवधिमा ६ हजार र ३ हजार टन प्रतिदिन उत्पादन क्षमता रहेका होङ्सी शिवम् सिमेन्ट र हुवासिन सिमेन्ट परियोजनासञ्चालनमा आएका छन् ।
यस्तै, धरानमा वेस्ट टु इनर्जी परियोजना सञ्चालनमा आएको छ । ९ सय मेगावाटको अरुण–३ जलविद्युत् परियोजना, २१६ मेगावाटको माथिल्लो त्रिशूली लगायतका परियोजना कार्यान्वयनका क्रममा छन् भने ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् परियोजना तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको परियोजना विकास सम्झौता सम्पन्न भइ वित्तीय व्यवस्थापनको क्रममा रहेका लगानी बोर्डले जनाएको छ ।
यस्तै, ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना अध्ययन तथा विकासका लागि एनएचपीसी लिमिटेडसँग समझदारी भइ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ । यस्तै, ३२७ मेगावाटको अपर मर्स्याङ्दी २ जलविद्युत् परियोजनाको डीपीआर मूल्याङ्कन भैरहेको छ ।
यस अवधिमा लगानीकर्ताको विश्वास र लगानी गन्तव्यको रूपमा साख अभिवृद्धिमा एउटा नयाँ उचाइ प्राप्त भएको बोर्डले जनाएको छ ।