नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई उर्जामन्त्रीको आग्रह

 भदौ २७, २०८० बुधबार १८:४६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

आफूसँग शिष्टाचार भेटवार्ताका लागि आउनुभएका माथिल्लो त्रिशूली–१ आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन) का सभापति एवम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमलाई मन्त्री बस्नेतले थप लगानी गर्न आग्रह गर्नुभएको हो । वैदेशिक लगानीका लागि नेपाल उपयुक्त गन्तव्यस्थल रहेको, सरकारले त्यसका लागि आवश्यक वातावरण बनाएको तथा वैदेशिक लगानीको प्रतिफल फिर्ताका लागि समेत सहज रहेको उल्लेख गर्दै उहाँले थप केही महत्त्वपूर्ण आयोजनामा लगानी विस्तार गर्न आग्रह गर्नुभएको छ ।

मन्त्री बस्नेतले कोरियाली प्रविधि, सीपबाट नेपालले समेत फाइदा लिन सक्ने बताउनुभयो । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनालाई सहज रूपमा अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग रहने र ताेकिएकाे समयभित्रै सम्पन्न गर्न मन्त्री बस्नेतले आग्रह गर्नुभयो ।

छलफलमा होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रूपमा खपत बढाउन, बाँकी भएको ऊर्जा छिमेकी देशहरूमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । उहाँले आफू कोरिया फर्किएपछि कोरियाली लगानीकर्तालाई नेपाल सुरक्षित गन्तव्य भएको विश्वास दिलाउने र थप लगानीका लागि आग्रह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

दुई सय १६ मेगावाटको माथिल्लाे त्रिशूली–१ जलविद्युत् आयोजनाको हिजो मङ्गलवार मात्रै शिलान्यास भएको छ । आयोजनाको भौतिक प्रगति २२ प्रतिशत रहेको छ ।

अन्तिम अपडेट: असोज ६, २०८०

तपाईको प्रतिक्रिया