शिक्षा विधेयकमा आपत्ति जनाउँदै महासङ्घले आन्दाेलनकाे घाेषणा गर्‍याे

 भदौ २९, २०८० शुक्रबार १७:१७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लाई संशोधन गर्न १८ बुँदे मागसहित काठमाण्डाै केन्द्रित आन्दोलनको घोषणा गरेको छ ।

सरकारले बुधवार प्रतिनिधिसभामा दर्ता गरेको विधेयक शिक्षकहरूको हकहित विपरीत भएको भन्दै महासङ्घले सडक आन्दोलनको घोषणा गरेको हो । महासङ्घले माध्यमिक तहसम्मको अधिकार पालिकालाई दिने, शिक्षकलाई पालिकाअन्तर्गत राख्ने लगायतका व्यवस्थाहरूको विरोध गरेको छ ।

शिक्षकलाई पालिकाअन्तर्गत राख्दा जनप्रतिनिधिबाट मनोमानी हुने भएकोले आन्दोलन गर्नुपरेको महासङ्घकी अध्यक्ष कमला तुलाधारले बताउनुभयो । पाँच वर्ष कानुनै नहुँदा पनि पालिकाहरूले शिक्षकमाथि ज्यादती गरेको भन्दै उहाँले कानुन नै बनेपछि त पालिकाबाट शिक्षकको पेसागत सुरक्षा नरहने बताउनुभयो । 

अध्यक्ष तुलाधरले शिक्षकहरूलाई पञ्चायतकालमा भन्दा पनि अङ्कुश लगाउने गरी  ऐन प्रस्तुत भएकाे बताउनुभयो । शिक्षकहरूले पुरानै प्रणालीअनुसार पेन्सन पाउनुपर्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले काठमाण्डाै केन्द्रित आन्दोलनको घोषणा गरेका छौँ । असोज ३ गतेदेखि विद्यालय ठप्प हुने गरी आन्दोलन अघि बढ्छ । हाम्रा मागहरू सम्बोधन नगरिकन विधेयक प्रस्तुत भएको छ । धेरै विषयवस्तु संशाेधन हुनुपर्ने देख्छु म । हाम्रा मागहरू सम्बोधन नहुँदासम्म आन्दोलनलाई विश्राम गर्दैनौँ । धेरैजसो पालिकाले आ–आफ्नो नियमावली बनाएर शिक्षकहरूलाई तह लगाउँदा ठिक हुन्छ भन्ने हिसाबले आग्रह पूर्वाग्रह गरिएको देखिन्छ । बर्खास्तीको अधिकार, ग्रेड रोक्काको अधिकार, बढुवा रोक्काको अधिकार पालिकालाई दिइयो । सङ्घले हाम्रो तलब भत्ता सुनिश्चित गरेको छ अनि दरबन्दी मिलान गर्ने बेलामा पालिकालाई अधिकार दिइयो ।’

अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बाल शिक्षकको स्थायीत्वको सवालमा शिक्षा ऐन नबोलेको शिक्षकहरूको आरोप छ ।

अन्तिम अपडेट: असार २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया