पाँचथर : १ करोड २८ लाख रुपैयाँमा सुभाङ खोलामा बनेकाे पुल प्रयोगविहीन

 भदौ ३०, २०८० शनिबार ८:२४:१२ | रासस
unn.prixa.net

तस्बिर : रासस

पाँचथर - पाँचथरमा एक करोड २८ लाख रुपैयाँमा लगानीमा बनेकाे पक्की पुल प्रयाेगविहीन भएकाे छ । विसं २०७३ सालमा निर्माण सम्पन्न भएको हिलिहाङ गाउँपालिकाको वडा नं ४ पञ्चमी र वडा नं ५ सुभाङलाई जोड्ने सुभाङ खोला पुल प्रयोगविहीन भएकाे हाे । 

यो पुल रहेको ठाउँभन्दा करिब सय मिटरमाथिबाट तमोर करिडोर बनेपछि तीन वर्षदेखि पुल प्रयोगविहीन अवस्थामा छ । करिडोर निर्माणपछि पुलसम्म पुग्ने कच्ची सडक पनि क्षतिग्रस्त भएको छ । अहिले यो पुल सुभाङ खोलाको वारिपारिका कृषकको आवतजावतबाहेक अन्य काममा प्रयोगमा छैन । 

हिलिहाङ–५ का खगेन्द्र योङहाङका अनुसार वर्षायाममा सुभाङ खोला पार गर्न समस्या भएपछि यहाँ पुल निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिमा स्थानीयवासीबाट माग भएको थियो । तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) र जिल्ला विकास समिति पाँचथरको संयुक्त लगानीमा १६ दशमलव ३० मिटरको पक्की पुल निर्माण भएको थियो । एक करोड २८ लाखको लागतमा इलामको गजुरमुखी निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गरेको थियो ।

पुल सञ्चालनमा आउनासाथ करिडोर निर्माण शुरु भयो । अहिले यो पुल रहेको ठाउँबाट करिब सय मिटरमाथि करिडोरमा कल्भर्टबाट गाडी आवतजावत गर्ने गरेका छन् । करिडोरबाटै गाडी आवतजावत गर्न थालेको तीन वर्ष नाघिसकेको छ । तमोर करिडोर निर्माणको सर्वेका क्रममा यही पुललाई प्रयोग गर्न स्थानीयवासीले जोड दिए पनि प्राविधिक जटिलताले सम्भव नभएको योङहाङको भनाइ छ ।

'यो पुल प्रयोग गरी करिडोरका ट्रयाक निर्माण गर्न हिलिहाङ–४ तर्फ उपयुक्त नभएको र पुल सिङ्गल लेनको भएकाले भविष्यमा प्रयोग हुन नसक्ने भनेर प्राविधिकले भनेँ', योङहाङले भन्नुभयो, 'त्यसैले करिडोरले यो पुललाई प्रयोग गरेन ।'

हिलिहाङ–५ का तिलक सुहाङ राज्यको ठूलो लगानी खेर जाने अवस्था आएको बताउनुहुन्छ । 'पुल बनिनसक्दै नयाँ सडक निर्माण भयो । राज्यको ठूलो लगानी यतिकै खेर गयो', सुहाङले भन्नुभयो, 'दीर्घकालीन सोच राखेर बनाइएको भए राज्यको लगानी खेर जाने थिएन ।' पुल निर्माण भएको दुवैतर्फ धान उत्पादन हुने खेत थियो । एकातर्फ कृषकको खेती मासिएको छ भने बनेको पुल झाडीले छोपिँदै गएको छ । यो पुलबाट करिब चार वर्ष गाडी ओहोरदोहोर गरेको हिलिहाङ–४ का डम्बर आचार्यको भनाइ छ । 

तमोर करिडोर अहिले सञ्चालनमा रहेको ट्रयाक पुलको पारिपट्टि जलुके पहिराेले क्षतिग्रस्त बनेको छ । विगतबाटै पहिराेको समस्या रहेको यस ठाउँमा सडक स्थायी हुन नसक्ने भएकाले सुभाङ खोला पुल प्रयोग गरी नयाँ ट्रयाकलाई कालोपत्र गरिनपर्ने स्थानीयवासीको माग छ । 

अन्तिम अपडेट: असोज २१, २०८०

तपाईको प्रतिक्रिया