सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा
मंसिर १९, २०८० मंगलबार
काठमाण्डौ - काठमाण्डौको तीनकुने गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गएराति एकै परिवारका तीनसहित चार जनाको हत्या गरिएको छ ।
मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उहाँकी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ । राई मृतक नविनको साथी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । उनी शरीरमा रगत लागेको अवस्थामा ट्याक्सी चढेर आफैँ प्रहरीमा पुगेका थिए ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा घटना अनुसन्धानकै चरणमा रहेकाले सबै कोणबाट अनुसन्धान गरिरहेको बताउनुहुन्छ । घटनाको प्रकृति हेर्दा सामान्य मानिसको हत्या भएकाले ठूलो गिरोह तथा कुनै ठूलो आर्थिक लाभका लागि नभएको निष्कर्ष प्रहरीको छ । यद्यपि यस्ता घटना पछिल्लो समय बढ्दै गएका छन् ।
गएको वैशाख ७ गते काठमाण्डौको कपन सरस्वतीनगरमा सामान्य भाडा व्यवसाय गर्दै आएकी ३५ वर्षीया नीरा पाण्डे आचार्यको हत्या भएको थियो । सामान्य लुटपाटका लागि आचार्यको हत्या भएको थियो । यो घटनाको ११औँ दिनमा झापामा पक्राउ परेका भक्तपुर बस्ने विनोद विकले हत्या गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको थियो । धेरैजसो घटना लुटपाट, रिसिबी र सामान्य कुरा सहन गर्न नसक्दा भएका प्रहरी प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायत बताउनुहुन्छ ।
आर्थिक समस्या र अभावले पनि घटना बढेका प्रहरीको भनाइ छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली मानिसहरु सानोसानो कुरा सहन नसक्दा, आवेग र सामाजिक सञ्जालका कारण पनि हत्याको सोचसम्म पुग्ने गरेको बताउनुहुन्छ ।
नैतिक शिक्षालाई बढाउन आवश्यक देखिएकोमा उहाँको जोड छ । प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७९/८० मा पाँच सय एक जनाको हत्या भएको छ । जसमा ३८ वटा घटना काठमाण्डौ उपत्यका भएका छन् । नौ सय ८२ वटा व्यक्ति हत्या प्रयासका घटना भएको छ । त्यसमध्ये ज्यान मार्ने उद्योगका एक सय ३६ घटना काठमाण्डौमा भएको पाइएको छ ।