भक्तपुरमा महिलाको शव फेला

 भदौ ३०, २०८० शनिबार १५:२६:४१ | रासस
unn.prixa.net

काठमाण्डौ – भक्तपुरमा दुई महिना अगाडि घरबाट हराएकी एक महिलाको शव जङ्गलमा टाउको छिनेको अवस्थामा फेला परेकाे छ ।

मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेकी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी)वसन्त पाठकले बताउनुभयो ।

दुई महिना अगाडि हराएकी महिलाको शवको कङ्काल मध्यपुरथिमिको जङ्गलमा भेटिएको उहाँले जानकारी दिनुभयो । पाठकका अनुसार कङ्कालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो । ‘शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बङ्गलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ,’ उहाँले भन्नुभयो ।

मृतककी छोरी जानुका दाहालले गएको साउन १० गते आमा हराएको भन्दै प्रहरीवृत्त थिमिमा जाहेरी दिनुभएको थियो । शव परीक्षणका लागि काठमाण्डौ मेडिकल कलेज दुवाकोटमा पठाइएको बताउँदै डीएसपी पाठकले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक २२, २०८०

तपाईको प्रतिक्रिया