म्याद सकिएकाे घिउ, अण्डा बेच्ने भाटभटेनीलाई १ लाख रुपैयाँ जरिबाना

 भदौ ३१, २०८० आइतबार १९:९:० | रासस
unn.prixa.net

ललितपुर – म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकमा रहेकाे भाटभटेनी सुपरमार्केटलाई एक लाख रुपैयाँ जरिबाना गरेको छ । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज आइतवार कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको बिग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्टकाे अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा बिक्री गरेको पाइएपछि न्यूनतम एक लाख रुपैयाँ जरिबाना गरिएको सहायक प्रजिअ सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार बिग मार्टले बिक्री गर्ने हरियो तरकारीमा कम तौल पाइएपछि १० हजार जरिबाना गरिएको छ । यस्तै म्याद सकिएको बियर बिक्री गरेको भेटिएपछि दश हजार रुपैयाँ जरिबाना गरेको सुनारले जानकारी दिनुभयो ।

‘संयुक्त बजार अनुगमन ललितपुरको टोलीले आइतवारदेखि चाडपर्व लक्षित बजार अनुगमन शुरु गरेको हो । हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानिसको स्वास्थ्यसँग खेलबाड गर्ने गरी खाद्यवस्तु बिक्री/वितरण नगर्न सचेत गराउँदा पनि पालना नगरेपछि जरिबाना गरिएको हो’, सहायक प्रजिअ सुनुवारले भन्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका निरीक्षक अधिकृत सञ्जय थापाले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर अखाद्य वस्तुको 'डिस्पोज' गरिएको बताउनुभयो ।

अन्तिम अपडेट: असोज ७, २०८०

तपाईको प्रतिक्रिया