डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै अस्पता...
असोज १०, २०८० बुधबार
काठमाण्डाै – पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्रको गाडी पार्किङ स्थलको सम्झौता रद्द गरेको छ । पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भए पनि सम्झौताअनुसारको काम तथा समयमै बक्यौता रकम तीर्न नसकेका कारण सम्झौता रद्द गरिएको विकास कोषले जनाएको छ ।
पार्किङ सम्झौता रद्द गरी पार्किङ स्थल आज मङ्गलवारदेखि विकास कोषले आफ्नो मातहतमा लिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार तत्व इन्भेस्टमेन्ट प्रालीले गाडी पार्किङ सञ्चालनबापत कोषलाई तिर्नुपर्ने पुरानो ४० लाख रुपैयाँभन्दा धेरै रकम समयमै भुक्तान नगरेका कारण सम्झौता रद्द गरिएको हो ।
सञ्चालक परिषद्को गएको भदौ २१ गते बसेको बैठकले कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, भदौ २१ गतेको सञ्चालक परिषद् बैठकले पार्किङ सम्झौता रद्द गर्ने निर्णय गरेको हो, आजदेखि हामीले पार्किङ स्थल आफ्नो जिम्मा लिएका छौँ, अर्को टेन्डर प्रक्रिया नहुन्जेलसम्मलाई निःशुल्क पार्किङ गरिएको छ ।
तत्व इन्भेस्टमेन्ट कम्पनीले पशुपति क्षेत्रभित्र रहेको गाडी पार्किङ स्थल सञ्चालन गरेबापत विकास कोषलाई मासिक तीन लाख ४६ हजार रुपैयाँ तिर्ने गरी सम्झौता भएको विकास कोषले जनाएको छ । कम्पनीले पुरानो बक्यौता रकम ६० लाखमा केही हप्ता पहिले २० लाख रुपैयाँ बुझाए पनि अझै ४० लाख तिर्न बाँकी रहेको खतिवडाले जानकारी दिनुभयो । कोष र कम्पनीबीच पार्किङ व्यवस्थापनका लागि पाँच वर्षको सम्झौता भए पनि साढे दुई वर्षमा सम्झौता रद्द भएको छ ।
पशुपति क्षेत्र विकास कोषले दुई पाङ्ग्रे गाडीका लागि १० र चार पाङ्ग्रे गाडीका लागि २५ रुपैयाँ पार्किङ शुल्क तोकेर कम्पनीसँग सम्झौता गरेको थियो । तर कम्पनीले त्याेभन्दा बढी शुल्क उठाएको पाइएको आरोप छ । कम्पनीमाथि राजस्व अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको कोषले जनाएको छ ।