मुख्यमन्त्रीलाई भेटेर राउटेले मागे दशैँ खर्च

 असोज ४, २०८० बिहिबार १३:३४:१० | हेमराज शर्मा
unn.prixa.net

दाङ – फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरेका छन् ।

आज बिहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि बिर्खेबहादुर शाहीको टोलीले मुख्यमन्त्रीसँग भेटघाट गरेकाे हो । भेटमा राउटे मुखियाका प्रतिनिधि शाहीले दशैँ खर्च दिन मुख्यमन्त्रीलाई आग्रह गर्नुभयाे ।

‘अब दशैँ आइसक्यो, दशैँमा बलि पनि दिनुपर्छ, खसी पनि खानुपर्छ, सरकारले पैसा दिनुपर्‍यो’, उहाँले भन्नुभयाे, ‘८६ घरपरिवार छन्, खसी खान सरकारले दुई लाख रुपैयाँ दिनुपर्छ । सबै मत्रीहरूले हामीलाई दशैँ खर्च दिनुपर्‍यो, हामी लगेर सबैलाई बाँड्छाैँ ।’

शाहीले आफूहरू अहिले दैलेखमा बसिरहेको र दशैँ खर्चका लागि दाङ आएको बताउनुभयाे । तीज खर्चकै लागि आएका हौँ, उहाँले भन्नुभयाे, तीज गइगो, अब दशैँ खर्च जुटाउनु परेको छ ।

मुख्यमन्त्री चौधरीले सरकार राउटे समुदायलाई सहयोग गर्न, दशैँ खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताउनुभयाे । ‘राउटेहरूलाई पहिलेदेखि नै सरकारले दशैँ खर्च दिँदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशैँ मनाउन समस्या हो भने लुम्बिनीले पनि केही सहयोग गर्छ’, मुख्यमन्त्री चौधरीले भन्नुभयाे, ‘दुई/तीन दिनमा सरकारको केही सहयोग हुन्छ ।’

अन्तिम अपडेट: असोज १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया