Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको अंक ६१८

बैदेशिक रोजगारीमा जादाँ सीप सिकेर मात्र जानुपर्छ भन्नेबारे श्रमिक जति सचेत छन्, त्यति नै श्रमिक आफ्नो स्वास्थ्य र सुरक्षाबारे सचेत हुनुपर्छ । यसबारेमा श्रमिक खासै जानकार रहेको देखिंदैन । त्यसैले गन्तव्य देशमा पुगेर काम शुरु गर्दा आफूले अप्नाउनुपर्ने सुरक्षाबारे जानकारी नभएका कारण श्रमिक दुर्घटनामा पर्नुका साथै ज्यान समेत गुमाइरहेका हुन्छन् । यहि विषयलाई लक्षित गर्दै व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रले बैशाख १६ गते देखि बैशाख २२ गतेसम्म राष्ट्रिय सुरक्षा तथा स्वास्थ्य सप्ताह मनाइरहेको छ । यो सप्ताहको नारा जलवायु परिवर्तनको वर्तमान अवस्था, काममा सुरक्षा र स्वास्थ्यको सुनिश्चितता भन्ने रहेको छ । कार्यक्रममा श्रमिक आफ्नो स्वास्थ्य र कामको सुरक्षाबारे कत्तिको जानकार छन् ? सप्ताहको नाराले दिन खोजेको सन्देशबारे व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रकी प्रमूख प्रतिभा गौतमसँग गरिएको कुराकानी समावेश छ । साथै, सरकारले श्रमिकका लागि बनाउनुपर्ने योजनाबारे नेपाल टे«ड युनियन महासंघ, जिफन्टको बागमती प्रदेशका अध्यक्ष रामहरि नेपालसँग कुराकानीको पनि कार्यक्रममा सुन्न सकिन्छ ।