नेभिगेशन
शुक्रबार, कात्तिक १३, २०८३

राष्ट्रपतिद्वारा पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा पूजाअर्चना तथा रथयात्रा अवलोकन

पाल्पा – राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा पूजाअर्चनाका साथै रथयात्रा अवलोकन गर्नुभएको छ ।

पाल्पाको रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति पौडेल पाल्पाको तानसेन आउनुभएकाे थियाे । जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुग्नुभएको थियो ।

यस्तै राष्ट्रपति पौडेलले नेपाली सेनाको दि फेमस महिन्द्र दल गणको निरीक्षण गर्नुका साथै पाल्पाका जनप्रतिनिधि र सरोकारवालासँग भेट गर्नुभयो । पूजाअर्चना र रथयात्रामा सहभागी भएर उहाँ आजै काठमाण्डाै फर्किनुभएकाे छ ।

नेपालले बुटवल जितगढी युद्धमा तत्कालीन इस्ट इण्डिया कम्पनीको अङ्ग्रेज फौजलाई हराएको सम्झनामा आज २०५ औं विजयोत्सव तथा भगवती रथयात्रा भएको हो । १८७१ र ७२ सालमा भएको युद्धमा तत्कालीन कर्णेल उजिर सिंह थापाको फौजले दुवै पटक अङ्ग्रेज फौजलाई पराजित गरेको थियो । लडाइँमा जानुअघि तत्कालीन कर्णेल थापाले भगवती मातासँग युद्ध जित्ने भाकल गरेको र लडाइँ जितेपछि सिन्दूरजात्रा गर्ने भाकलअनुसार हरेक वर्ष भाद्र कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सवसहितको भगवती रथजात्रा मनाउन थालिएको इतिहासमा उल्लेख छ ।

विजयोत्सवमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश अर्थमन्त्री धनेन्द्र कार्की, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, प्रदेश सभामुख तुलाराम घर्तीमगरलगायत पनि सहभागी हुनुभएकाे थियाे । विजयोत्सवका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज पाल्पामा सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति:
थप समाज