यसपालि कक्षा १२ को नतिजा मूल्याङ्कन र नतिजाको विश्लेषण गर्दा विगतका वर्षहरूको तुलनामा शैक्षिक स्तरमा उल्लेखनीय सुधार आएको देखिन्छ । गत वर्ष ६१ दशमलव १७ प्रतिशत विद्यार्थीहरू मात्र उत्तीर्ण अर्थात् ग्रेडेड भएकोमा यस वर्ष त्यो सङ्ख्या बढेर ६९.७५ प्रतिशत पुग्नु ठूलो उपलब्धि हो । यो सकारात्मक परिवर्तनको मुख्य श्रेय अक्षराङ्कन (ग्रेडिङ) पद्धतिमा लागू गरिएको निश्चित कट–अफ पोइन्टलाई जान्छ, जसले विद्यार्थीहरूमा ‘नपढीकन परीक्षामा सामेल भए नन–ग्रेडेड भइन्छ’ भन्ने चेतना र पढ्नै पर्ने भावनाको विकास गराएको छ । नतिजाको यो वृद्धिले परीक्षा केवल विद्यार्थीको मात्र नभई सम्बन्धित विद्यालय, अभिभावक, पालिका र प्रदेश सरकारको समेत सामूहिक चासो र जवाफदेहिताको विषय बनेको प्रमाणित गर्छ । सबैको सक्रिय सहभागिताले गर्दा नै शैक्षिक उपलब्धि मापन गर्न अझ सहज भएको छ ।
यद्यपि, समग्र नतिजा सुध्रिए पनि विषयगत र क्षेत्रगत रूपमा भने अझै केही असमानता र चुनौतीहरू कायमै छन् । प्रदेशगत रूपमा बागमती प्रदेशको प्रदर्शन अलिकति उच्च देखिएको छ भने विषयगत रूपमा अनिवार्य नेपालीमा विद्यार्थीको नतिजा निकै राम्रो र उत्साहजनक पाइएको छ । यसको विपरीत अनिवार्य गणित जस्ता विषयहरूमा विद्यार्थीहरूको प्रदर्शन अझै पनि कमजोर रहेको र यसमा थप सुधारको आवश्यकता रहेको देखिन्छ । यस विषयमा गहिरो र सूक्ष्म अनुसन्धान तथा विश्लेषण गर्न अझै बाँकी रहे ता पनि प्राप्त तथ्याङ्कले गणित र विज्ञान जस्ता कठिन मानिने विषयहरूमा विशेष गृहकार्य गर्नुपर्ने सङ्केत गरेको छ ।
यो नतिजालाई आगामी दिनमा शिक्षाको गुणस्तर सुधार्ने बलियो औजारका रूपमा प्रयोग गर्न सकिन्छ । अहिले राष्ट्रिय परीक्षा बोर्डले सबै विद्यालय, पालिका र प्रदेश सरकारले आ–आफ्नो क्षेत्रको नतिजा आफैँ हेर्न र विश्लेषण गर्न सक्ने व्यवस्था मिलाएको छ । त्यसैले सम्पूर्ण सरोकारवालाहरूले आ–आफ्नो क्षेत्रको नतिजाको गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ । आफूले शिक्षा सुधारका लागि गरेका प्रयासहरू किन सोचे अनुरूप सफल भएनन्, कहाँ कमीकमजोरी रह्यो, विषयगत शिक्षकको अभाव भयो कि वा विद्यार्थीको पढ्ने बानीमा समस्या थियो भन्ने कुरा आफैँले पहिल्याउनु पर्छ । सबैले आ–आफ्नो क्षेत्रको नतिजातर्फ रचनात्मक चासो देखाएमा मात्र आगामी दिनमा अझ उच्च शैक्षिक उपलब्धि हासिल गर्न सहयोग पुग्ने देखिन्छ ।
यो नतिजा सार्वजनिक भएसँगै उत्तीर्ण भएका विद्यार्थीहरूका लागि उच्च शिक्षा अर्थात् स्नातक तहको ढोका खुलेको छ । उत्कृष्ट ग्रेड ल्याएर सफल भएका विद्यार्थीहरू केवल किताबी ज्ञानमा मात्र सीमित नभई अबको यात्रामा अझ बढी सिर्जनशील, अनुसन्धानात्मक र अध्ययनशील बन्नुपर्ने दायित्व बढेको छ । उनीहरूले आफ्नो रुचि र क्षमताका क्षेत्रहरू पहिचान गर्दै रचनात्मक कार्यमा जोड दिनु आजको आवश्यकता हो ।
अर्कोतर्फ, परीक्षामा सोचे जस्तो नतिजा नल्याएका वा नन–ग्रेडेड भएका विद्यार्थीहरूले पनि पटक्कै निराश हुनु वा हरेश खानुपर्ने अवस्था छैन । शैक्षिक फर्मयाटकाे परीक्षा एउटा प्रक्रिया मात्र हो, जबकी मानव जीवन आफैँमा एउटा निरन्तर चलिरहने ठूलो परीक्षा हो । एउटा परीक्षामा असफल हुँदैमा जीवनको सबै ढोका बन्द हुँदैनन् । दुई विषयसम्म नन–ग्रेडेड भएका विद्यार्थीहरूका लागि साउनको १ र २ गते नै मौका परीक्षाको व्यवस्था गरिएकाले उनीहरूले आफू कहाँ कमजोर भएँ भनी आत्मविश्लेषण गर्दै दृढताका साथ तयारीमा लाग्नुपर्छ । धेरै विषय लागेका विद्यार्थीहरूले पनि यसलाई जीवनको अन्तिम मोड नसम्झी यही बिन्दुबाट आफ्नो सफलताको नयाँ यात्रा शुरू हुन्छ भन्ने सकारात्मक सोचका साथ आउँदो वर्षका लागि हौसलाका साथ अध्ययनमा जुट्नु बुद्धिमानी हुन्छ ।
यस सम्पूर्ण प्रक्रियामा अभिभावकहरूको भूमिका सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील रहन्छ । आफ्ना छोराछोरीले अपेक्षा गरे अनुसारको ग्रेड नल्याउँदा वा नन–ग्रेडेड हुँदा उनीहरूलाई गालीगलौज गर्ने, हतोत्साहित गर्ने वा दबाब दिने काम कति पनि गर्नु हुँदैन । बरु आफ्ना नानीबाबुहरू कुन कारणले कमजोर भए, उनीहरूमा कुन दक्षताको कमी रह्यो भन्ने कुरामा शान्त भएर विचार विमर्श गर्नुपर्छ र आउँदा दिनमा अझ राम्रो गर्नका लागि स्नेहपूर्वक सहयोग र हौसला प्रदान गर्नुपर्छ । उत्तीर्ण वा अनुत्तीर्ण जस्तोसुकै अवस्थामा पनि अभिभावकले आफ्ना छोराछोरीको पढाई र गतिविधिमा निरन्तर रचनात्मक चासो लिइरहनु पर्छ । परीक्षा भनेको कुनै एक पक्षको मात्र नभएर विद्यार्थी, शिक्षक, विद्यालय र अभिभावक सबैको साझा चासो र सामूहिक जवाफदेहिताको प्रतिफल भएकाले सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक वहन गरेमा मात्र देशको शिक्षा क्षेत्रले वास्तविक र दिगो उन्नति हासिल गर्न सक्ने स्पष्ट हुन्छ ।
यसपालिको कक्षा १२ को नतिजा विगतका वर्षहरू र एसईईको तुलनामा समेत निकै छिटो समयमा र व्यवस्थित रूपमा सार्वजनिक हुनु आफैँमा एउटा प्रशंसनीय कार्य हो । यो सफलता कुनै एउटा निकायको एकल प्रयासबाट नभई परीक्षा केन्द्र, विषय विज्ञ शिक्षक, राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी र विभिन्न पालिकाकाे सघन समन्वय तथा पूर्वनिर्धारित कार्ययोजना र कार्यतालिका अनुसार सँगसँगै काम गर्ने रणनीतिको परिणाम हो भन्ने कुरा स्पष्ट हुन्छ । परीक्षा प्रणालीमा गरिएको यस्तो कार्यगत सुधारले नेपालको समग्र शैक्षिक व्यवस्थापनलाई नै नयाँ दिशा दिएको महसुस गर्न सकिन्छ ।
(राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता सहसचिव जयन्ती सत्यालसँग महेश ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)