यसवर्षको दशैँ घमाइलो भयो । केही ठाउँमा छिटपुटबाहेक खासै पानी परेन । तर दशैँ सकिएलगत्तै फेरि झरी पर्ने सम्भावना बढेको छ । मौसमविदहरुले अर्को हप्ता झरी पर्ने भएकाले सतर्क रहन आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने सम्भावना भए पनि कहाँ कति पानी पर्छ भन्ने यकिन भैनसकेको जनाएको छ । यसै विषयमा साथी कृष्ण शर्माले मौसमका जानकार उज्ज्वल उपाध्यायसँग कुराकानी गर्नुभएको छ ।
अर्को हप्ता पानी पर्छ भनेर तपाईंले पनि भन्दै आउनुभएको छ । कहाँ कहिले कति पानी पर्ने सम्भावना छ ?
अहिलेसम्मको मौसम पूर्वानुमानअनुसार आउँदो एक हप्ता पानी पर्ने सम्भावना देखिएको छ । ११ गते बुधबारदेखि बादल लाग्ने क्रम बढ्ने र बुधबार मध्यराति वा बिहीबार बिहानदेखि देशका पूर्वी तथा मध्य भागमा वर्षा शुरु हुन सक्छ । १२ गतेदेखि १५ गतेसम्म देशभरका विभिन्न ठाउँमा पानि पर्ने सम्भावना छ । औसतमा कुनै ठाउँमा करिब १०० मिलिमिटरसम्म र केही ठाउँमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्छ । पश्चिम कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा तुलनात्मक रूपमा कम वर्षा हुने अनुमान छ । यो पूर्वानुमान आगामी दिनमा परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा मौसमसम्बन्धी सूचना हेर्न आवश्यक छ ।
कुन–कुन ठाउँमा बढी वर्षा र हिमपात हुने सम्भावना छ ?
अहिलेको पूर्वानुमानअनुसार गण्डकी प्रदेशका पहाडी तथा हिमाली ठाउँमा बढी वर्षा र हिमपात हुन सक्छ । गण्डक क्षेत्र मनाङ, उपल्लो मुस्ताङ, कास्की, लमजुङ, गोरखा, म्याग्दी, पर्वत र बागलुङलगायतका ठाउँमा यसको प्रभाव बढी पर्न सक्ने देखिन्छ । बागमती, कोशी र मधेस प्रदेशमा पनि वर्षाको सम्भावना छ । तराईको तुलनामा पहाडी तथा हिमाली ठाउँमा वर्षा र हिमपात बढी हुन सक्छ । सुदूरपश्चिममा तुलनात्मक रूपमा कम वर्षा हुने अनुमान भए पनि त्यहाँ वर्षा हुँदै नहुने भन्ने होइन ।
वर्षा कहिलेसम्म रहन सक्छ ?
अहिले बंगालको खाडीमा न्यूनचापीय प्रणाली द्रुत गतीमा विकसित भइरहेको छ । यो प्रणाली तीव्र गतिमा विकसित भएमा चक्रवातको रूप लिन सक्छ, जसले वर्षा र आँधीहुरीको सम्भावना बढाउन सक्छ । चक्रवात बनेको अवस्थामा तीनदेखि चार दिनसम्म वर्षा हुन सक्छ । न्यूनचापीय प्रणाली मात्रै सक्रिय भयो भने ठूलो वर्षा नभए पनि लामो समयसम्म झरी पर्न सक्छ । यस्तो अवस्थामा एक हप्तासम्म पनि मौसम प्रभावित हुन सक्छ । त्यसैले वर्षाको अवधि अहिले नै निश्चित भन्न सकिँदैन ।
यो वर्षाले बाढीपहिरोको जोखिम कत्तिको बढाउन सक्छ ?
यस वर्ष प्रि–मनसुन र मनसुनका विभिन्न समयमा वर्षा भएकाले कतिपय ठाउँको जमिन राम्ररी सुक्न पाएको छैन । यस्तो अवस्थामा लगातार तीन–चार दिन वर्षा भयो भने सामान्य वर्षाले पनि बाढीपहिरो निम्त्याउने, हिम क्षेत्रहरु स्खलन हुनसक्ने हुन सक्छ । गण्डकी प्रदेशका लमजुङ, मनाङ, माथिल्लो कास्की, म्याग्दी र बागलुङलगायतका ठाउँमा तीन–चार दिनको अवधिमा १५० मिलिमिटरसम्म र केही ठाउँमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान छ । यसले आकस्मिक बाढी र पहिरोको जोखिम बढाउन सक्छ । त्यसैले नदी किनार, भिरालो जमिन र पहिरोको जोखिम भएका ठाउँमा बसोबास गर्ने नागरिकले विशेष सतर्कता अपनाउनुपर्छ ।
वर्षाले खेतीबालीमा कस्तो असर पार्न सक्छ ? किसानले के कस्ता सावधानी अपनाउन आवश्यक छ ?
कात्तिक महिना धान भित्र्याउने समय भएकाले किसानले विशेष सावधानी अपनाउन आवश्यक छ । सम्भव भएसम्म १० गतेभित्रै धान काटेर सुकाई भित्र्याउनु राम्रो हुन्छ । नसकिएको अवस्थामा ११ गते मध्याह्नसम्म भित्र्याउने प्रयास गर्नुपर्छ । ११ गते पछि त धान नकाटेकै राम्रो होला, नकाटेको भन्दा किन कि खेतमै छोडिएको धान भिजेमा बिग्रने सम्भावना धेरै हुन्छ । त्यसैले सम्भव भएसम्म बाली सुरक्षित ठाउँमा राख्नुपर्छ । यस वर्षा प्रणालीसँगै असिना पर्ने सम्भावना पनि रहन सक्छ । असिनाले धान, मकै र अन्य बालीमा क्षति पुर्याउन सक्छ । त्यसैले किसानले मौसमको अद्यावधिक सूचना हेरेर समयमै बाली भित्र्याउने तयारी गर्नुपर्छ ।
सर्वसाधारण र पदयात्रामा जानेहरूलाई सुझाव के छ ?
उच्च हिमाली ठाउँमा पदयात्रा गर्न जानेहरूले १२ गतेदेखि १५ गतेसम्मको यात्रा सम्भव भएसम्म स्थगित गर्नु राम्रो हुन्छ । यात्रा शुरु गरिसकेको अवस्थामा मौसमको अवस्था बुझेर सुरक्षित ठाउँमा बस्ने तयारी गर्नुपर्छ । आवश्यक परे केही दिन एउटै सुरक्षित ठाउँमा बस्नुपर्ने हुन सक्छ। नदी किनार र जोखिमयुक्त ठाउँमा बसोबास गर्ने नागरिकले पनि पूर्वतयारी गर्नुपर्छ । मौसमको पूर्वानुमान परिवर्तन हुन सक्ने भएकाले नियमित रूपमा आधिकारिक सूचना लिनु आवश्यक छ । सबै नागरिकले सतर्कता अपनाएमा सम्भावित जोखिम र क्षति कम गर्न सकिन्छ ।