नेभिगेशन

‘ग्यास अभाव हटाउन विद्युतीय चुलोको प्रयोग बढाउनुपर्छ’

अहिले बजारमा खाना पकाउने ग्यासको चरम अभाव भइरहेका बेला विज्ञहरूले भने विद्युतीय चुलोको प्रयोग बढाउन जोड दिएका छन् । नेपालमा अहिले आवश्यक्ताभन्दा झन्डै २ हजार मेगावाट धेरै विद्युत् उत्पादन भइरहेको भन्दै विद्युतीय चुलोको प्रयोग गर्न कुनै समस्या नहुने विज्ञको भनाइ छ । तर यसै बेला सरकारले ५० युनिटभन्दा धेरै बिजुली खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत कर बढाएर बिजुली महँगो बनाएको छ भने अर्कोतिर देशका सबै ठाउँमा बिजुलीको पहुँच विस्तार हुन सकेको छैन । यसरी गुणस्तरीय बिजुली पनि नहुने, बढी खपत गर्दा भ्याट पनि तिर्नुपर्ने र ग्यास पनि पर्याप्त नपाइने अवस्थामा समस्याको स्थायी समाधानका लागि बिजुलीबाट चल्ने इन्डक्सश चुलोको प्रयोग नै उत्तम विकल्प हो । यसै सन्दर्भमा साथी कृष्ण शर्माले सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीसँग कुराकानी गर्नुभएको छ ।

नेपालमा पटक–पटक ग्यास अभाव भैरहन्छ, किन होला ?

एलपी ग्यास हामीले शतप्रतिशत विदेशबाट आयात गर्नुपर्छ, त्यसैले आपूर्तिमा अलिकति समस्या आउनासाथ देशभरका भान्सा प्रभावित हुन्छन् । जसका कारण समस्या पर्दा काठमाण्डौका सीमित ठाउँमा ग्यास सिलिन्डर बाँडेर तात्कालिक राहत दिने तर अरू ठाउँका नागरिकलाई ध्यान नदिने परिपाटीले समस्या समाधान हुँदैन । यसका लागि सरकारले हाम्रै देशमा उत्पादन भइरहेको जलविद्युत‍्को प्रयोग बढाएर ग्यासको परनिर्भरता घटाउने खालको नीति बनाउनुपर्थ्याे, त्यसमा सरकारको ध्यान पुग्न सकेको छैन । उपभाेक्तालाई भरपर्दो र सुलभ बिजुली दिएर भान्सामा बिजुलीकै प्रयोग बढाउनु नै ग्यास अभावबाट छुटकारा पाउनु हो ।

त्यसो भए ग्यास अभावका कारण हुने समस्याको दिगो समाधान विद्युतीय प्रयोग नै हो त ?

हो, यसका लागि सरकारले बिजुलीबाट खाना पकाउने प्रणालीलाई प्रोत्साहन गर्ने स्पष्ट नीति ल्याउनुपर्छ । तर अहिलेको सरकारी नीति अलि विरोधाभासपूर्ण देखिन्छ । किनभने सरकारले एकातिर बिजुली धेरै खपत गर्न आग्रह गरेको छ, अर्कोतिर निश्चित युनिटभन्दा धेरै बिजुली बाल्ने उपभोक्तालाई थप कर लगाएर बिजुली महँगो बनाएको छ । जसका कारण उपभोक्ताहरू एकातिर चाहिएको बेला पर्याप्त र गुणस्तरीय बिजुली नपाएर हैरान छन् भने अर्कोतिर धेरै बिजुली बाल्दा करको भारसमेत  खेप्नुपरेको छ । बजारमा ग्यास पनि नपाइने र बिजुली पनि सोचेजस्तो नहुने यो अवस्थाले आमनागरिकलाई सास्ती दिएको छ । त्यसैले सरकारले काठमाण्डौ केन्द्रित नभई देशभरका नागरिक र विपन्न वर्गलाई समेत ध्यानमा राखेर निर्णय गर्नुपर्छ ।

विद्युतीय चुलोको प्रयोगले नै ग्यासलाई पूर्णरूपमा विस्थापित गर्न सक्छ त ?

सक्छ, किनभने नेपालमा अहिले आवश्यकताभन्दा धेरै बिजुली उत्पादन भइरहेको छ र धेरै बिजुली खेर पनि गइरहेको छ । यस्तो अवस्थामा महसुल दर र बिजुलीको पूर्वाधार सुधार गर्ने हो भने उपभोक्ताले निकै सहजरूपमा बिजुलीबाट खाना पकाउन सक्छन् ।

त्यसैले विद्युतीय चुलो नै नेपालका लागि सबैभन्दा दिगो र उत्तम विकल्प हो । हामीले एलपी ग्यासलाई मुख्य इन्धन बनाउनुको सट्टा आपत्कालीन अवस्थाका लागि मात्र राख्नुपर्छ र मुख्यरूपमा बिजुलीलाई नै प्रयोग गर्नुपर्छ ।

विद्युतीय उपकरण पनि बाहिरबाटै आयात गनुपर्ने स्थिति छ । अर्कोतिर महसुल बढिरहेको छ । यस्तो अवस्थामा बिजुली प्रयोग आर्थिकरूपमा महँगो पर्दैन ?

यो एउटा भ्रम मात्र हो । हिसाब गरेर हेर्दा एलपी ग्यासको तुलनामा इन्डक्शन वा इन्फ्रारेड चुलो प्रयोग गर्दा मासिक खर्च आधाजस्तै सस्तो पर्न जान्छ । इन्डक्शन चुलो खरिद गर्दा शुरूमा केही रकम खर्च भए पनि एक वर्षभित्रै ग्यासमा हुने बचतले त्यो खर्च असुल हुन्छ । यसका साथै सरकारले विदेशबाट चुलो आयात गर्नुको सट्टा स्वदेशमै विद्युतीय चुलो तयार पार्ने उद्योगहरूलाई सहयोग गर्नुपर्छ । स्वदेशी उद्योगका लागि चाहिने कच्चा पदार्थमा भन्सार छुट दिने हो भने नेपालमै बनेका चुलो निकै सस्ता र गुणस्तरीय हुन्छन् । साथै आयात गरिने चुलोमा पनि भन्सार दर समायोजन गरेर नागरिकका लागि सुलभ बनाउन सकिन्छ ।

नेपालमा विद्युतीय चुलो सञ्चालन गर्न बिजुली पर्याप्त छ त ?

हामीसँग बिजुलीको उत्पादन क्षमता त पर्याप्त छ तर मुख्य समस्या प्रसारण र वितरण लाइनमा छ । धेरै घर वा एउटै टोलमा एकैपटक इन्डक्शन चुलो चलाउँदा पुराना ट्रान्सफर्मर र तारहरूले भार धान्न नसकेर बिजुली जाने समस्या हुन सक्छ । यसका लागि नेपाल विद्युत् प्राधिकरण र सरकारले शहरी तथा ग्रामीण दुवै क्षेत्रका पुराना तार, ट्रान्सफर्मर र सबस्टेशनहरूलाई तत्काल स्तरोन्नति गर्नुपर्छ । पूर्वाधार सुधारको कामलाई अभियानका रूपमा अघि बढाउने हो भने बिजुली आपूर्तिको समस्या सजिलै समाधान हुन्छ ।

ग्यासको सट्टा बिजुलीको प्रयोग गर्दा उपभोक्तालाई के–के फाइदा हुन्छ ?

खर्चको हिसाबले हेर्दा अहिले ग्यास सिलिन्डरको मूल्य धेरै बढेको छ । त्यति नै खाना बिजुलीबाट पकाउँदा गार्हस्थ्य महसुल दरअनुसार आधा जति मात्र खर्च लाग्छ । यसले गर्दा हरेक परिवारको मासिक बजेटमा प्रत्यक्ष बचत हुन्छ । स्वास्थ्य र सुरक्षाका दृष्टिले पनि इन्डक्शन चुलो धेरै राम्रो छ । किनभने यसबाट धूवाँ आउँदैन, भान्सा सफा रहन्छ र ग्यास लिक भएर आगलागी वा विस्फोट हुने खतरा पनि हुँदैन । त्यसैले सबै उपभोक्तालाई विद्युतीय चुलो प्रयोग गर्न र नियमित बिजुली आपूर्तिका लागि सरकारसँग माग गर्न अनुरोध गर्दछु ।

नीतिगतरूपमा बिजुलीको खपत बढाउन सरकारले के–कस्ता सुधार गर्नुपर्छ होला ?

तपाईँले ठीक कुरा उठाउनुभयाे । बिजुलीको आन्तरिक खपत बढाउन सरकारले सर्वप्रथम बिजुली प्रयोगमा लगाइएको अतिरिक्त कर (भ्याट) हटाउनुपर्छ ताकि उपभोक्ताले ढुक्क भएर बिजुली प्रयोग गर्न सकून् । दोस्रो, खाना पकाउने प्रयोजनका लागि गार्हस्थ्य उपभोक्तालाई विशेष र सस्तो महसुल दर लागू गरिनुपर्छ । तेस्रो, देशभर चाैबीसै घण्टा विना अवरोध गुणस्तरीय र पर्याप्त बिजुली पुर्‍याउन सबस्टेशन र वितरण लाइनको सुधार गर्नुपर्छ । अन्तमा, सीमित ठाउँमा मात्र ग्यास बाँडेर अरूलाई सास्ती दिने परिपाटी बन्द गरी सबै नागरिकको भान्सा सहजरूपमा चल्ने व्यवस्था मिलाउनुपर्छ ।

प्रकाशित मिति:
थप अन्तर्वार्ता