नेपालीहरूको उज्यालो पर्व तिहार शुरू भइसकेको छ । दशैँको बेलामा जस्तै तिहारमा पनि मौसम घमाइलो हुने मौसमविद्हरूको भनाइ छ । तर हिमाली र उच्च पहाडी ठाउँमा भने आंशिक बदली र छिटपुट वर्षा हुन सक्ने सम्भावना छ। यसै सन्दर्भमा नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीसँग तिहार अवधिभर देशभरको मौसमी अवस्थाबारे साथी कृष्ण शर्माले कुराकानी गर्नुभएको छ ।
तिहार अवधिभर देशभरको मौसम कस्तो रहने पूर्वानुमान छ ?
पछिल्लो अद्यावधिक विश्लेषणअनुसार तिहार अवधिमा कुनै विशेष मौसमी प्रणाली सक्रिय हुने देखिएको छैन । यस अवधिमा पश्चिमी वायुको आंशिक प्रभावमात्रै रहने सम्भावना छ । त्यसले उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली हुन सक्ने भए पनि अरू भूभागको मौसम सामान्यतया सफा रहनेछ । जाडोयाम शुरु भएसँगै उपत्यका तथा तराईका खोँचमा बिहान केही समय हुस्सु र कुहिरो लाग्न सक्छ । तर, बिहान ९/१० बजेदेखि हुस्सु र कुहिरो हट्दै घाम लाग्ने सम्भावना छ ।
कुनै ठाउँमा वर्षाको सम्भावना पनि छ कि ?
वर्षाको सम्भावनालाई हेर्दा हिमाली भूभागका एक/दुई ठाउँमा छिटपुटदेखि हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । एक/दुई ठाउँ भन्नाले झण्डै १० प्रतिशत भूभागमा मात्रै सम्भावना हुनु हो । त्यो पनि निकै कम सम्भावना रहेकाले समग्रमा तिहार अवधिको मौसम घमाइलो नै रहने देखिन्छ ।
विशेष गरी भाइटीकाको दिन मौसम कस्तो रहने सम्भावना छ ?
भाइटीकाको दिन पनि अधिकांश भूभागमा मौसम सफा र घमाइलो रहनेछ । तर कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा भने छिटपुटदेखि हल्का वर्षा हुन सक्छ ।
हिमाली भूभागमा वर्षाको सम्भावना छ भन्नुभयो । त्यसको प्रभाव देशका कुन क्षेत्रमा बढी देखिन सक्छ ?
आइतबार र सोमबारको अवस्था हेर्दा पश्चिमतर्फका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आंशिक बदली हुन सक्छ । छिटपुट हिमपात भएमा पनि यिनै क्षेत्रमा हुने सम्भावना छ । तर, दिन बित्दै जाँदा आउँदो दुई/तीन दिनमा पश्चिमी भूभागको तुलनामा पूर्वी भूभागका एक/दुई ठाउँमा छिटपुट वर्षा वा हिमपात हुन सक्ने देखिन्छ । यद्यपि, यसको सम्भावना निकै कम छ । झण्डै १० प्रतिशत भूभागमा मात्रै वर्षा वा हिमपातको सम्भावना रहेकाले अहिले अनुभव भइरहेको मौसमभन्दा धेरै प्रतिकूल अवस्था सिर्जना हुने देखिँदैन । त्यसैले धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन ।
यसको अर्थ तिहार अवधिभर मौसम पूर्ण रूपमा सफा र घमाइलो नहुन पनि सक्छ हैन ?
हो, अधिकांश ठाउँमा मौसम राम्रो नै रहनेछ । अहिले देखिएको मौसमजस्तै अवस्था तिहार अवधिभर पनि रहने सम्भावना छ । यसभन्दा बढी प्रतिकूल हुँदै जाने देखिँदैन । एक/दुई ठाउँमा छिटपुट वर्षा हुन सक्ने सम्भावनालाई छाडेर अधिकांश भूभागमा मौसम अनुकूल नै रहने देखिन्छ ।
तिहार अवधिमा देशभरको तापक्रममा कस्तो परिवर्तन आउन सक्छ ?
अहिलेको बेला तापक्रम क्रमिक रूपमा घट्ने क्रममा छ । बिहानको न्यूनतम तापक्रम होस् वा दिउँसोको अधिकतम तापक्रम, दुवै घट्दै जाने सम्भावना छ । जाडोयाम शुरु भएसँगै क्रमशः चिसो बढ्दै जाने अवस्था हो । यसको प्रभाव देशका सबै भूभागमा पर्ने देखिन्छ । अहिले उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा न्यूनतम तापक्रम शून्य डिग्रीभन्दा तल पुग्न थालिसकेको छ । जुम्लालगायतका क्षेत्रमा आगामी दिनमा तापक्रम अझ घट्ने सम्भावना छ । यो कुनै विशेष मौसमी प्रणाली वा बादलका कारण हुने परिवर्तन होइन । अहिले हामी कात्तिक महिनामा छौँ र सूर्य दक्षिणायन हुँदै गएको छ । सूर्यको किरण दक्षिणी गोलार्धमा बढी सिधा पर्ने भएकाले नेपाललगायत उत्तरी गोलार्धमा रहेका भूभागमा क्रमशः चिसो बढ्दै जान्छ । त्यसैले उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा बिहानको तापक्रम शून्य डिग्रीभन्दा तल मापन हुन थालेको छ । आगामी दिनमा यो क्रम अझ बढ्दै जाने देखिन्छ ।
त्यसो भए दिउँसोको तुलनामा बिहान र साँझको तापक्रम बढी घट्ने सम्भावना हो ?
हो, बिहान र साँझ दुवै समयमा तापक्रम घट्ने क्रम जारी रहनेछ । तर, दिउँसोको तुलनामा बिहान र साँझको तापक्रम घट्ने दर केही बढी छ । त्यसैले बिहान र साँझको चिसो अझ बढ्दै जाने सम्भावना छ ।
यहाँले उल्लेख गर्नुभएको शून्य डिग्रीभन्दा तलको तापक्रमलाई आम नागरिकले कसरी बुझ्ने ? उदाहरणसहित स्पष्ट पारिदिनुहोस् न ।
यो कुनै असामान्य वा ठूलो परिवर्तन होइन । उदाहरणका लागि, काठमाण्डौ उपत्यकामा आज अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १३ देखि १५ डिग्री सेल्सियस रहने पूर्वानुमान छ । त्यस्तै, जुम्लामा अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस पुग्ने र भोलि बिहान न्यूनतम तापक्रम माइनस १ डिग्रीसम्म झर्न सक्ने पूर्वानुमान गरिएको छ । सबै ठाउँमा तापक्रम शून्यभन्दा तल पुग्ने भने होइन । काठमाण्डौ लगायतका क्षेत्रमा न्यूनतम तापक्रम अझै १२–१३ डिग्रीकै हाराहारीमा छ । तर, जुम्लालगायत उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा भने तापक्रम शून्यभन्दा तल पुग्न थालेको हो ।
तिहारमा विशेष गरी देउसी भैलो खेल्ने र भाइटीका लगाउन घरबाहिर निस्कने चलन छ । यस्तो बेला के-कस्ता सावधानी अपनाउन उपयुक्त होला ?
अहिले विभागले जारी गरिरहेको पाँच दिनको मौसम पूर्वानुमानमा कुनै विशेष मौसमी चेतावनी छैन । त्यसैले पूर्वानुमान चित्रमा पनि हरियो रङले मौसमलाई सङ्केत गरिएको छ । यसको अर्थ अहिलेको अवस्थामा प्रतिकूल मौसमको चेतावनी नरहेको भन्ने हो । छिटपुट वर्षा भइहाले पनि त्यसका कारण नागरिकले आफ्ना नियमित गतिविधि रोक्नुपर्ने अवस्था देखिँदैन । त्यसैले तिहारका कार्यक्रम तथा अन्य काम आफूले तय गरेको समयमा गर्न सकिने अवस्था छ । यद्यपि मौसमको पछिल्लो जानकारी भने नियमित रूपमा हेर्न आवश्यक छ ।
अहिले सामाजिक सञ्जालमा विभिन्न किसिमका मौसमी सूचना आइरहेका हुन्छन् । कुन आधिकारिक हो र कुन होइन भनेर कसरी छुट्याउने ?
अहिले बजार तथा सामाजिक सञ्जालमा विभिन्न किसिमका मौसमी सूचना र समाचार आउने गरेका छन् । कुन सूचना सही हो र कुन गलत हो भन्ने छुट्याउन कठिन हुन सक्छ । त्यसैले सामाजिक सञ्जालमा आएका सबै सूचनालाई विश्वास गर्नुभन्दा आधिकारिक स्रोतबाट जानकारी लिन आवश्यक छ । यो तिहारका लागि नेपालमा आधिकारिक मौसम पूर्वानुमान तथा चेतावनी जारी गर्ने निकाय नेपाल मौसम विज्ञान विभागले कुनै विशेष मौसमी चेतावनी जारी गरेको छैन । त्यसैले तिहार ढुक्कसँग मनाउन र मौसमसम्बन्धी पछिल्लो तथा आधिकारिक जानकारीका लागि विभागको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालका माध्यमलाई नियमित रूपमा पछ्याउन पनि अनुरोध गर्दछु ।