नेभिगेशन
सोमबार, असोज २६, २०८३

‘गगन नेतृत्वको कांग्रेसको भविष्य राम्रो देखिन्छ’

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएसँगै पार्टीमा पुस्तान्तरणको बहस शुरु भएको छ । थापाको राजनीतिक व्यक्तित्व, पार्टी रूपान्तरणका लागि गरेको विद्रोह र पार्टीलाई यथास्थितिमा राख्न चाहने पुस्ताको बहिर्गमनका कारण अब कांग्रेस रूपान्तरण हुने चर्चा र दाबी बढेको हो । लामो समयदेखि गुटैगुट रहेको कांग्रेस अब मुद्दामा केन्द्रित हुन्छ भन्ने धेरैको बुझाइ छ । कांग्रेसमा थापाको नेतृत्व र चुनौतीको विषयमा साथी कृष्ण शर्माले राजनीतिक विश्लेषक प्राध्यापक डा. लोकराज बरालसँग कुराकानी गर्नुभएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछिको नयाँ नेतृत्व र महाधिवेशनको प्रक्रियाबारे के भन्नुहुन्छ ?

मेरो विचारमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन समग्रमा अत्यन्त उत्साहजनक र व्यवस्थित रूपमा सम्पन्न भएको छ । चुनावको अन्तिम चरणमा दुई/तीन दिन ढिलाइ हुनु र केही प्रचारमुखी शैलीहरू देखिए पनि सभापति पदको प्रतिस्पर्धा सहज र सामान्य ढङ्गले अगाडि बढ्यो । लोकतान्त्रिक अभ्यासमा चुनाव हुनु र प्रतिस्पर्धा देखिनु स्वाभाविक हो । यसबाट पार्टीमा नयाँ ऊर्जा र जागर देखिएको छ भने कुनै पनि किसिमको गुट–उपगुटको विवाद नदेखिनु १५औँ महाधिवेशनको निकै सकारात्मक पक्ष हो भन्ने लाग्छ ।

तर सर्वसम्मत रूपमा सभापति चयन हुन्छ भन्ने एक खालको आकलन हुँदाहुँदै पनि २ जना बीच प्रतिस्पर्धा देखियो, कतै यो गुट–उपगुट फेरि सिर्जना हुने संकेत  होइन ?

लोकतन्त्रमा चुनाव हुनु र प्रतिस्पर्धा हुनुलाई अन्यथा लिनु हुँदैन । सर्वसम्मत हुनैपर्छ भन्ने पनि छैन । कतैबाट आएको एउटा उम्मेदवारले ३७५ मत ल्याउनु र अर्कातर्फ ६ हजारभन्दा बढी मतले विजय हासिल हुनुबीच ठूलो अन्तर छ । सङ्गठनमा चुनावपछि केही असन्तुष्ट व्यक्तिहरू यताउता लाग्नु सामान्य सांगठनिक प्रवृत्ति हो, यसलाई धेरै ठूलो महत्त्व दिनुहुँदैन । नेपालको वर्तमान राजनीतिमा गगन थापा तहको नेतृत्व अरूमा छैन र पुराना नेताहरूको समय अब घाम अस्ताएझैँ भइसकेको छ । त्यस कारण पनि तपाईँले भने जस्तो गुट–उपगुट फेरि सिर्जना हुने वा पुरानै प्रवृत्ति दोहोरिने सम्भावना नरहला ।

राजनीतिक रूपमा अन्य नेताहरू जस्तै गगन थापामाथि पनि केही वितृष्णा छ र विगतका जिम्मेवारीप्रति प्रतिनिधि–कार्यकर्ताहरू असन्तुष्ट रहेको कुरा त बाहिरिरहेकै छन् । यस्तो बेला पुरानै प्रवृत्ति नदोहोरिएला भनेर कसरी पत्याउने ?

मुख्य कुरा के हो भने गगन थापामाथि लगाइएका भ्रष्टाचार वा अवसरवादीजस्ता आरोपहरूको कुनै कानुनी वा वस्तुगत आधार छैन । उनी स्वास्थ्यमन्त्री हुँदा होस् वा अन्य जिम्मेवारीमा, उनले कुनै भ्रष्टाचार गरेका छैनन् । एउटा उद्योग खोल्ने प्रयासलाई लिएर लगाइएका ‘बाख्रा चोर’ जस्ता आधारहीन टिप्पणीमा कुनै सत्यता छैन । उनले यो नेतृत्व कसैको निगाह वा दयाले नभई संघर्ष, च्यालेन्ज र प्रतिस्पर्धाबाटै आर्जन गरेका हुन् । त्यस कारण पनि पुरानो प्रवृत्ति दोहोरिने सम्भावना म देख्दिनँ ।

पार्टीभित्र पूर्वसभापति शेरबहादुर देउवा पक्ष आधिकारिक कांग्रेस आफूहरू भएको दाबी गरेर छुट्टै महाधिवेशनको तयारीमा छ । यस्तो विवादको स्थितिमा नेतृत्वले नै वैधानिकता पाउला भन्नेमा शंका गर्नेहरू पनि छन् । यसमा तपाईँ के भन्नुहुन्छ ?

सर्वोच्च अदालत र निर्वाचन आयोग दुवैले यस प्रक्रियालाई रोक्ने कुनै कदम नचालेकाले कानुनी वैधानिकता पहिल्यै प्राप्त भइसकेको छ । अदालतले केवल अर्को पक्षको कुरा सुन्ने अवस्था मात्र राखेको हो । यता पार्टीका कार्यकर्ता र आम नागरिकले गगन थापाको नेतृत्वलाई पूर्ण रूपमा स्थापित गरिसकेका छन् । यदि पुराना नेताहरूले असन्तुष्टि जनाएर अर्को पार्टी गठन गरे पनि त्यसको कुनै औचित्य हुनेछैन र त्यस्ता दलहरू जनस्तरमा विलीन भएर जानेछन् ।

राजनीतिक अभ्यासमा विगतको योगदानलाई पनि बढी मूल्याङ्कन गर्ने गरिन्छ । यस हिसाबले गगन थापा अरू शीर्ष नेताहरूको तुलनामा कसरी योग्य र सर्वमान्य नेतृत्व बन्न सक्नु होला ?

योगदानका हिसाबले गगन थापा गणतन्त्र प्राप्तिको आन्दोलनमा २५ वर्षभन्दा बढी समयदेखि आक्रामक र जुझारु रूपमा होमिएका नेता हुन् । केवल लामो पृष्ठभूमि वा त्याग मात्रैले आजको राजनीति चल्दैन । नागरिकले कार्यक्षमता र विश्वसनीयता हेर्छन् । जस्तै, बालेन्द्र शाहको सांगठनिक पृष्ठभूमि नभए पनि उनी प्रधानमन्त्री बन्न सकेका छन् । त्यसैले विश्वेश्वरप्रसाद कोइराला वा गणेशमान सिंहका पालाका कुरा गरेर वा पुरानो त्यागको मात्रै आधारमा वर्तमानलाई दाँज्न मिल्दैन । गगन थापा विगतका भन्दा कुनै कोणबाट कमजोर पात्र होइनन् ।

राजनीतिक गठबन्धन र पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने गगन थापाका एजेन्डाले बहुदलीय प्रतिस्पर्धामा दलहरूबीच हुनुपर्ने सहमति र सहकार्यको वातावरणमा कस्तो प्रभाव पार्ला ?

एउटा कुरा के हो भने, गुट–उपगुट पूर्ण रूपमा अन्त्य नभए पनि चरम रूप लिएर पार्टीलाई ब्रेकिङ विन्दुमा पुर्‍याउनु हुँदैन । नेपाली कांग्रेसकै इतिहासमा पनि बीपी र मातृकाप्रसाद वा गिरिजाप्रसाद र शेरबहादुरबीचका विवादले पार्टी फुटेका उदाहरण छन् । तर लोकतान्त्रिक मूल्यमान्यता र भारतमा इन्दिरा गान्धीले जस्तै मूलधारको संगठनलाई बलियो बनाएर अगाडि बढ्ने क्षमता नेतृत्वमा हुनुपर्छ । परिस्थितिअनुरूपमा समयअनुसार चल्दै जाने कुराले यसको दिशा तय गर्छ ।

पार्टी सञ्चालनसँगै नेपाली राजनीतिमा गगन थापाको थप जिम्मेवारी र चुनौतीहरू के–के हुन् ?

कांग्रेसको लोकतान्त्रिक छवि र जनमुखी समाजवादको पहिचानलाई पुनः स्थापित गर्नु नै गगन थापाको मुख्य जिम्मेवारी हो । नयाँ पुस्ताका युवा–युवतीलाई आकर्षण गर्दै पार्टीको सांगठनिक संरचना बलियो बनाउनुपर्छ । वर्तमानमा देशको कमजोर आर्थिक स्थिति, व्यापार घाटा, प्राकृतिक विपत्ति र प्रशासनिक जटिलताहरू जस्ता गम्भीर चुनौतीहरू छन् । जसलाई सम्बोधन गर्न उनले फराकिलो दायराबाट विज्ञहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने देखिन्छ ।

सरकार र रास्वपा लगायतका नयाँ शक्तिहरूसँग उहाँको सहकार्य कस्तो हुनुपर्ला ?

नेपाली कांग्रेसले प्रतिपक्षी दलको रूपमा सरकारसँग सुमधुर र जिम्मेवार सम्बन्ध राख्नुपर्छ । अहिले प्रतिपक्षमा छौँ भन्दैमा जथाभाबी गालीगलौज गर्ने होइन, सौम्य भाषामा सरकारलाई सही बाटोमा ल्याउन र आवश्यकता पर्दा जनस्तरमा आन्दोलन गर्नसमेत तयार हुनुपर्छ । नेपालमा अन्य देशहरूको तुलनामा दलहरूबीचको राजनीतिक वातावरण राम्रो छ, जसलाई गगन थापाले अझ परिपक्व बनाउनुपर्छ । रास्वपाजस्ता नयाँ दलहरूको क्रेज बिस्तारै घट्दै जाने र डेलिभर गर्न नसक्दा नागरिकको आकर्षण कांग्रेसतर्फ नै बढ्ने सम्भावना बलियो रहेकाले गगन नेतृत्वको कांग्रेसको भविष्य निकै राम्रो देख्छु ।

समग्रमा गगन नेतृत्वको कांग्रेसले आउँदा दिनमा के कस्ता कुरामा विशेष ध्यान दिएर अघि बढ्नु पर्ला ?

सबैभन्दा पहिले त पार्टीका बाँकी असन्तुष्ट समूहहरूलाई समेटेर, सबैलाई मिलाएर संगठनलाई एकताबद्ध रूपमा अगाडि लैजानु पर्छ । सम्भावित चुनौतीहरूको सामना गर्दै पार्टीलाई समयानुकूल गतिशीलता प्रदान गर्नुपर्छ । त्यसैमा उहाँको आगामी राजनीतिक यात्रा निर्भर हुनेछ ।

प्रकाशित मिति:
थप अन्तर्वार्ता