नेभिगेशन

‘पौडी खेल्न जानेको छु भन्दैमा नदीमा हाम फाल्नु आत्मघाती हुन सक्छ’

अहिले मनसुनको बेला छ । यो बेला कतै पानी नपर्ने त कतै एकैचोटी मुसलधारे वर्षा हुने र नदीनाला तथा खोल्साहरूमा पानीको बहाव तीव्र रूपमा बढ्ने गर्छ । यस्तो बेला डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्ने गर्छ । यस्तो अवस्थामा डुबान र अनपेक्षित दुर्घटनाबाट बच्नका लागि आम नागरिकले विशेष सतर्कता अपनाउनु अपरिहार्य भइसकेको छ । यसै विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रवक्ता शान्ति महतसँग साथी महेश ज्ञवालीले कुराकानी गर्नु भएको छ ।

डुबेर ज्यान गुमाउनेहरूमा कुन वर्ग बढी जोखिममा पर्छन् ? यसको कारण के हो ?

विभिन्न प्रारम्भिक अध्ययन तथा घटनाक्रमका अनुसार डुबेर ज्यान गुमाउनेहरूमा विशेष गरी १५ देखि ३५ वर्ष उमेर समूहका युवाहरू बढी पर्ने गरेको देखिन्छ । यो उमेर समूहका मानिसहरूमा गतिशीलता बढी हुनु, पौडी खेल्ने चासो हुनु र खोलानाला वा पोखरीको आसपासमा हुने कामकाजमा बढी सक्रिय हुनु यसको मुख्य कारण हो । वृद्ध वृद्धाहरू प्रायः घरमै बस्ने भएकाले उनीहरू यस्ता जोखिमबाट टाढै रहन्छन्, तर युवाहरू भने मनोरञ्जन वा कामका सिलसिलामा नदी किनार र पोखरीतिर बढी जाने गर्छन् ।

सामान्यतया गर्मी सहेर बस्नुभन्दा शीतलताका लागि पौडी खेल्न जाँदा नै धेरै दुर्घटना हुने गरेका छन् । मनसुन सुरु भएपछि भारी वर्षाका कारण नदीको सतह बढ्ने, सडकका खाल्डाखुल्डी पानीले भरिने र प्राकृतिक जलाशयहरू गहिरा हुने भएकाले दुर्घटनाको दर झनै बढ्छ । पछिल्लो समय नदीनाला मात्र नभई पोखरी तथा आधुनिक पौडी पोखरीहरूमा समेत डुब्ने घटना फाट्टफुट्ट देखिन थालेको भए पनि तथ्याङ्क र घटनाको प्रकृति हेर्दा सबैभन्दा बढी दुर्घटना नदी तथा खोलामा नै हुने गरेको पाइन्छ, किनकि नदीको बहाव अनियन्त्रित हुने र यसको गहिराइको अनुमान गर्न नसकिने हुनाले नदी किनार सधैँ उच्च जोखिमयुक्त क्षेत्र रहन्छ ।

डुबानबाट बच्नका लागि अपनाउनुपर्ने सावधानी के के हुन् ?

डुबेर हुने घटनाबाट बच्नका लागि सबैभन्दा ठूलो उपाय भनेकै व्यक्तिगत सतर्कता र चेतना हो । वर्षाको समयमा पानी जमेका ठाउँ वा खाल्डाखुल्डीको वास्तविक गहिराइ बाहिरबाट अनुमान गर्न असम्भव हुने भएकाले त्यस्ता शङ्कास्पद जलाशय र खाल्डाखुल्डीको आसपासमा नजानु नै बुद्धिमानी हुन्छ । आफ्नै घर वरपर वा समुदायमा पानी जम्ने खाल्डाखुल्डी भेटिए बालबालिका त्यहाँ परेर दुर्घटना हुनसक्ने भएकाले ती समयमै पुर्नुपर्छ, र बालबालिकालाई खोला, नदी वा पोखरीजस्ता पानीका स्रोतमा अभिभावक वा वयस्कको निगरानीबिना कतै पनि छाड्नु हुँदैन । राम्ररी पौडी खेल्न जान्ने मानिस पनि नदीमा डुबेर ज्यान गुमाएका घटना प्रशस्तै भएकाले पौडी खेल्न जानेको छु भन्दैमा लापरबाहीका साथ नदीमा हाम फाल्नु आत्मघाती हुन सक्छ; पानीको बहाव र भित्री धार कस्तो छ भन्ने बुझेर मात्र पाइला चाल्नुपर्छ । 

भारी वर्षा भइरहेको समयमा अत्यावश्यक काम नभई बाहिर ननिस्किनु र पानीको बहाव कम नभएसम्म सुरक्षित आश्रय स्थल वा घरभित्रै बस्नु नै सबैभन्दा सुरक्षित उपाय हो । बाटोमा देखिने साना खाल्डाखुल्डी वा पानी जमेका ठाउँलाई पनि हल्का ठानी नाघ्ने प्रयास गर्नु हुँदैन र पानीको बहाव तीव्र हुने खोला–नदी किनारबाट सधैँ टाढै रहनुपर्छ ।

कसैलाई पानीमा डुबिरहेको देख्दा के गर्नुपर्छ ?

यदि कसैले कुनै व्यक्ति पानीमा डुबिरहेको देख्नुभयो भने हतारिएर आफैँ पानीमा हाम फाल्ने गल्ती कहिल्यै गर्नु हुँदैन । उद्धार गर्न खोज्ने व्यक्तिलाई राम्ररी पौडी खेल्न नआउने वा पानीको बहाव उच्च भएको अवस्थामा त्यहाँ अर्को ठूलो दुर्घटना समेत हुनसक्छ, र पौडी खेल्न जान्ने मानिसले पनि एक्लैको बलमा डुब्दै गरेको व्यक्तिलाई तान्न नसक्न सक्ने हुनाले सबैभन्दा पहिले सहयोगका लागि ठूलो स्वरमा कराउने र वरपरका मानिस तथा समुदायलाई तुरुन्तै एकत्रित गर्नुपर्छ ।

सामूहिक रूपमा सुरक्षित उपाय अपनाएर मात्र उद्धार कार्य अगाडि बढाउनुपर्छ, र सँगसँगै सरकारी संयन्त्रलाई तुरुन्त खबर गर्नु आवश्यक हुन्छ । यस्तो विपद्को बेला नेपाल सरकारको विपद् सम्बन्धी टोल फ्री नम्बर ११४९ वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गरी जानकारी दिनुपर्छ । स्थानीय पालिका, नजिकैको सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारीको कार्यालय वा स्थानीय सङ्घसंस्थालाई तत्काल गुहार्नुपर्छ । किनभने त्यस्तो बेला समुदाय र सरकारी संयन्त्रको द्रुत परिचालनले नै मानिसको ज्यान जोगाउन सक्छ ।

मनसुनको यो बेला नागरिकलाई के सन्देश दिन चाहनुहुन्छ ?

मनसुनको आगमनसँगै पहिले सुख्खा रहेका वा पानीको सतह कम भएका साना खोल्साहरू पनि अहिले ठूला नदीजस्तै हुन्छन्, र कुन ठाउँ कति गहिरो छ वा कहाँ हिलो छ भन्ने ठम्याउन गाह्रो हुन्छ । त्यसैले आफू मात्र जोगिने होइन, समुदायमा अरू कोही यस्तो जोखिमपूर्ण क्षेत्रतर्फ जाँदै भए उनीहरूलाई पनि रोक्ने र सचेत गराउने जिम्मेवारी सबैको हो । मनसुनको यो संवेदनशील समयमा संयम अपनाउँदै एक अर्कालाई सहयोग गर्ने र आपत्कालीन नम्बरहरू कण्ठस्थ राख्ने हो भने डुबानबाट हुने जनधनको क्षतिलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

प्रकाशित मिति:
थप अन्तर्वार्ता