नेभिगेशन
सोमबार, असोज ५, २०८३
व्यङ्ग्य

देउवा–ओली फोनवार्ता : हिजो हस्तिनापुरको राज, आज चपरीमुनिको बास !

देउवाको मोबाइलमा घण्टी बज्यो । छोडेर गएकाहरू फेरि आउन लागेछन् कि भनेर हत्तपत्त मोबाइल हेरे । ओलीको रहेछ ।

देउवा : अँ ओलीजी । भनेर भन्देखिनलाई के छ गुण्डुतिरको हालखबर ?

ओली : के हुनु, तपाईँको जे छ मेरो पनि त्यस्तै छ । पहिले तपाईँ बूढानीलकण्ठमा घरधनी, म बालकोटमा घरधनी । अहिले दुवै डेरावाल ।

देउवा : राजनीति पनि अचम्मको खेल रहेछ ओलीजी । हिजो हस्तिनापुरको राज, आज चपरीमुनिको बास !

ओली : घर जलेपछि डेरा त चाहियो नै देउवाजी । तर तपाईँको जस्तो मेरो डेराको बास भइसकेको छैन ! बुझ्नुभो नि, आफ्नै पार्टीभित्र चाहिँ तपाईँले जस्तो डेरामा बस्नु परेको छैन ।

देउवा : हेपेर चाहिँ नबोल्नु ओलीजी, सभापति भनेर छाती फुलाइरहेको छु । तपाईँलाई पनि पार्टीबाट फाल्न लागेकै छन् केरे !

ओली : अँ केही ठेट्नाहरू कराउने गर्छन् अब ओलीलाई आराम दिनुपर्छ भनेर । तर पार्टी अध्यक्ष मुक्का हान्ने पद हैन, मेरो त जिन्दगी आरामसँगै चलिरहेको छ ।

देउवा : अनि आराम गर भन्नेहरूलाई के भन्ने गर्नुभएको छ त ?

ओली : आराम कार्यकर्ताले गरून्, पार्टी चलाउने काम म गर्छु भन्छु उपरखुट्टी लाउँछु, बस्छु । बडो आराम छ मलाई ।

देउवा : विदेशबाट फर्किएँ । विमानस्थलमा स्वागत गर्नेको भीड देख्दा सानेपामा लगेर कुर्सीमै बसाल्छन् जस्तो लागेको थियो । तर...

ओली : अनि बसाले त ?

देउवा : के को बसाल्थे । स्वागत गर्ने र नजिक पर्ने आधाभन्दा धेरैले छोडेर हिँडिसके ।

ओली : राजनीति भनेको एअरपोर्टको स्वागतजस्तै हो देउवाजी ।

देउवा : कसरी ?

ओली : जहाज आउँदा सबैले हात हल्लाउँछन् । जहाज गएपछि कोही टिकट खोज्छन्, कोही अर्को जहाज ।

देउवा : तपाईँको पार्टीमा त अर्को पाइलट खोज्नेहरू छन् नि हैन ?

ओली : पाइलट मात्रै होइन, जहाज नै खोजिरहेका छन् ।

देउवा : अनि तपाईँ ?

ओली : म त अनुभवी पुरानो पाइलट ।

देउवा : तर यात्रुहरू नयाँ पाइलट खोजिरहेका छन् ।

ओली : यात्रुले पाइलट छान्ने हो र ? पार्टी भनेको एअरलाइन्स हो, टिकट काटेर आएका सबै यात्रु हुन् ।

देउवा : जहाज र पाइलट पनि के भन्नु र ओलीजी । तपाईँ हाम्रो जहाजको रूप फेरिएर ट्याम्पोजस्तो, अनि तपाईँ र म ड्राइभरजस्तो हालतमा आइपुगेका हाेइनाैँ र ?

ओली : ट्याम्पो नै भए पनि म त ड्राइभरको सिटमै छु ।

देउवा : मलाई पनि सिटमै बसेको अनुभूति भएरहन्छ । सभापति भनेर लेखेकै छु क्यारे ।

ओली : जेहोस् तपाईँलाई हटाइसके । मलाई पनि हटाउनुपर्छ भन्छन् केही ठेट्नाहरू । एउटा कुरा नि देउवाजी हामीलाई पार्टीबाट हटाउन खोज्नेहरू पनि हामीसँगै राजनीति सिकेका हुन् ।

देउवा : त्यसैले उनीहरूलाई लाग्छ, अब उनीहरूले हामीलाई सिकाउनुपर्छ ।

ओली : हो ।

देउवा : तर हामीले पनि सोचिरहेका छौँ, यत्रो वर्ष सिकेको राजनीति एकैचोटि कसरी बिर्सने ?

ओली : देउवाजी, तपाईँलाई पार्टी सिद्धिन्छ भनेर कसैले भनेको छ ?

देउवा : धेरैले ।

ओली : मलाई पनि भन्छन्, ‘ओलीलाई राखिरहे एमाले पनि बाँकी रहँदैन ।’ तर एउटा कुरा मान्नुपर्छ देउवाजी ।

देउवा : के ?

ओली : नयाँ पुस्ता हामीसँग रिसाएको छ ।

देउवा : हो ।

ओली : आफ्नै पार्टीका मान्छे पनि थाकेछन् ।

देउवा : हो ।

ओली : अनि हामी ?

देउवा : हामी अझै थाकेका छैनौँ ।

दुवै केहीबेर हाँसे । फेरि ओलीले भने : पार्टी बरु सकियोस्, हामी सकिनु हुँदैन ।

देउवा : सुध्रिनुपर्छ भनेर उपदेश दिनेहरू नै पहिले सुध्रिऊन् । हामी किन सुध्रिने ?

ओली : ल कुरा मिल्यो, तपाईँ आफूसित बाँकी रहेका दुई चार जनालाई थुम्थुम्याउन नछाड्नुस, म चाहिँ मेरालाई धम्क्याउन छाड्दिनँ ।

देउवा : ल ल नछाड्नुस् । बरु पार्टीको नाम मेटियोस्, तपाईं–हाम्रो नाम चाहिँ मेटिनु हुँदैन । अब म एकछिन आराम गर्छु । तर आराम गर्न ढल्किँदा सपनामा बालुवाटार मात्रै देख्छु ।

ओली : तपाईँको र मेरो सहमतिअनुसार तपाईँ यतिखेर बालुवाटारमै हुनुपर्ने मान्छे हो नि । ल तपाईँ सपनामा बालुवाटारमा बसेको देख्नुस् । म राजदूतको लिस्ट बोकेर भेट्न आउँछु ।

प्रकाशित मिति:
थप ब्लग