नेभिगेशन

सापारु : शोकलाई साझा बनाउने एक सांस्कृतिक दर्शन

नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक देश हो। यहाँ मनाइने हरेक पर्वले कुनै न कुनै ऐतिहासिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक सन्देश बोकेको हुन्छ। नेवार समुदायको सापारु प्रचलित रूपमा गाईजात्रा  र त्यससँग सम्बन्धित खड्क जात्रा तथा रोपाइँ जात्रा यस्ता पर्व हुन्, जसले मानव जीवनका दुई महत्वपूर्ण पक्ष, मृत्यु र जीवन, शोक र आशा, तथा आध्यात्मिकता र उत्पादनशीलतालाई एउटै सांस्कृतिक यात्रामा जोड्छन्। यी पर्वहरू केवल धार्मिक अनुष्ठान मात्र होइनन्, समाजलाई मानसिक रूपमा सन्तुलित बनाउने, सामाजिक ऐक्यबद्धता कायम गर्ने र सांस्कृतिक पहिचानलाई निरन्तरता दिने माध्यम पनि हुन्।

मृत्यु मानव जीवनको अपरिहार्य सत्य हो। परिवारको कुनै सदस्य गुमाउँदा उत्पन्न हुने पीडा व्यक्तिगत भए पनि त्यसको प्रभाव सम्पूर्ण परिवार र समुदायमा फैलिन्छ। यही यथार्थलाई स्वीकार गर्दै नेवार समुदायले सापारुलाई शोकलाई सामूहिक रूपमा बाँड्ने सांस्कृतिक माध्यमका रूपमा विकास गरेको देखिन्छ। यस पर्वले मृत्युको पीडा कुनै एक व्यक्तिको मात्र नभई समाजकै साझा अनुभूति हो भन्ने सन्देश दिन्छ। यसैले शोकमा परेका परिवारलाई समाजले एक्लो हुन नदिई सामूहिक सहभागितामार्फत मानसिक सान्त्वना प्रदान गर्ने परम्परा स्थापित भएको छ।

नेपाल संवत्अनुसार गुंलागाः पारु, अर्थात् भाद्र शुक्ल प्रतिपदा गुन्हुपुन्हीको र जनैपूर्णिमाको भोलिपल्ट मनाइने सापारु नेवार समुदायको मौलिक धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्व हो। सापारुको सबैभन्दा गहन दार्शनिक आयाम यही होस् यसले शोकलाई व्यक्तिगत एकान्तबाट निकालेर सामूहिक चोकमा ल्याउँछ।वर्षभरि दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईको रूप धारण गरी नगर तथा टोल परिक्रमा गर्ने, भजन–कीर्तन गर्ने तथा श्रद्धालुहरूले दूध, दही, चिउरा, फलफूल, रोटी, अन्न र द्रव्य दान गर्ने परम्पराले मृतात्माप्रति सम्मान व्यक्त गर्नुका साथै जीवित समुदायबीच सहानुभूति र सामाजिक एकता अभिवृद्धि,सामूहिक हेरचाहको भावनालाई संस्थागत रूप दिएको देखिन्छ।यो पर्वलाई सतही रूपमा हेर्दा गाई निकाल्ने चाड मात्र देखिन सक्छ, तर यसको गहिराइमा गएर हेर्ने हो भने यो मृत्युको सामूहिक गणना, आत्मिक मुक्तिको कामना, र सामाजिक विसंगतिप्रतिको व्यङ्ग्यको त्रिकोणीय संरचनामा उभिएको पर्व हो।यसरी यो पर्व एक किसिमको मृत्यु गणनाको उत्सव मात्र होइन, यो सामाजिक सहानुभूतिको सार्वजनिक अभिव्यक्ति पनि हो — मृत्यु र त्यसपछिको शोक कुनै एक व्यक्ति वा परिवारको मात्र नियति होइन, यो सिंगो नगर समुदायले सँगै बोक्ने साझा अनुभव हो भन्ने सन्देश यसले दिन्छ।

उत्पत्ति र ऐतिहासिक तह :

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार यस पर्वको जरो लिच्छविकालसम्म पुग्छ, जहाँका अभिलेखहरूमा साँढे जुधाएर मनाइने जात्राको उल्लेख पाइन्छ। लगभग ६०० वर्षअघिको गोपालराज वंशावलीमा ‘सायात’ (सा— गाई, यात —जात्रा) शब्द प्रयोग भएको तथा भक्तपुरका जितामित्र मल्ल र भूपतीन्द्र मल्लका शिलालेखहरूमा समेत यसको चर्चा भेटिनु यस पर्वको दीर्घकालीन निरन्तरतालाई पुष्टि गर्दछ। मध्यकालमा आइपुग्दा यसमा राजा प्रताप मल्लसँग जोडिएको एउटा भावनात्मक कथा थपिन्छ पुत्रशोकले विह्वल रानीलाई सम्झाउन उहाँले प्रजालाई आ–आफ्ना दिवंगतका नाममा सापारु निकाल्न लगाएको र त्यसैले पनि रानीको मन शान्त नभएपछि प्रहसन र व्यङ्ग्यात्मक कार्यक्रमहरू थपिएको जनविश्वास छ। यो कथाको ऐतिहासिकतामा विवाद हुन सक्छ, तर यसले पर्वको मर्म व्यक्तिगत शोकलाई सामूहिक अनुभवमा रूपान्तरण गर्ने प्रयास लाई भने प्रस्ट्याउँछ।

धार्मिक आस्था र आध्यात्मिक पक्ष

सापारुको आधार केवल सामाजिक परम्परा मात्र होइन, यससँग गहिरो धार्मिक विश्वास पनि जोडिएको छ। हिन्दू धर्मग्रन्थ पद्मपुराण तथा गरुड पुराणमा उल्लेख भएअनुसार सापारुको दिन यमलोकको द्वार खुल्ने र मृतात्माले मुक्ति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ। गाईलाई नगर परिक्रमा गराउँदा दिवङ्गत आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी स्वर्गलोक पुग्न सहज हुने मान्यता रहेको छ। गाईलाई यस पर्वको केन्द्रीय प्रतीक बनाइएको हो भन्ने व्याख्या गर्छ। यस कारण गाई हिन्दू परम्परामा केवल जनावर नभई मोक्षको प्रतीकका रूपमा पनि सम्मानित छ।

धार्मिक दृष्टिकोणले हेर्दा सापारु मृतकप्रतिको श्रद्धाञ्जलि मात्र नभई जीवित व्यक्तिलाई जीवनको नश्वरता, कर्मको महत्त्व तथा आध्यात्मिक चेतनाको बोध गराउने अवसर पनि हो।

पशुपति देवपतनमा सापारुको विशिष्टता

सापारुको मर्म एउटै भए पनि यसको प्रस्तुति ठाउँअनुसार फरक – फरक छ ।  काठमाण्डौको पशुपति देवपतन क्षेत्रमा सापारुको विशेष महत्व रहेको छ। हरेक ठाउँका सापारुमा केही न केही विशेषता रहेका छन् । पशुपति मा पनि सापारुका छुट्टै रौनक र आकर्षण रहेका छन । यहाँ नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । यस दिन हरेक टोलहरुमा भजन किर्तन गरिनुका साथै हरेक घरबाट केराउमा काँक्रो र नस्पातीलाई स सानो टुक्रा गरी सानो केराउ पनि दान गरिन्छ । यहाँ सापारुको दिन घरघरबाट लाखे निकाल्ने, पूजा गर्ने, सगुन दिने तथा नगर परिक्रमा गराउने परम्परा छ।सापारु पर्वमा लाखेको पूजा अर्चना गर्दा मृत आत्माहरूले मुक्ति प्राप्त गर्छन् भन्ने जनविश्वास रहिआएको छ। त्यसैले यस दिन दिवंगत आफन्तहरूको सम्झना गर्दै उनीहरूको आत्माको चिरशान्ति र मोक्षको कामना गरिन्छ। सापारु जात्रामा लाखेलाई अगुवाका रूपमा प्रस्तुत गरिन्छ। परम्पराअनुसार गाईलाई पनि अगाडि हिँडाइन्छ, र यदि गाई उपलब्ध नभएमा सानो कुमार केटालाई गाईको प्रतीकका रूपमा सजाएर अघि लगिन्छ। यसले गाईको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई निरन्तरता दिएको मानिन्छ। लाखेको पछिपछि नन्दी, भृङ्गी, ख्याक  लगायतका परम्परागत पात्रहरू विभिन्न मुखुण्डो र रङ्गीचङ्गी पोसाकमा सजिएर बाजागाजासहित नगर परिक्रमा गर्छन्। यस क्रममा दिवंगत आफन्तजनका परिवारजनले आफ्ना दिवंगत आफन्तहरूको तस्बिर बोकेर जात्रामा सहभागी हुन्छन्।  पशुपतिमा यो पर्व तीन दिनसम्म मनाइन्छ भने भक्तपुरमा आठ दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी तथा प्रदर्शनसहित सञ्चालन गरिन्छ।

प्रत्येक स्थानले आफ्नै ऐतिहासिक र सांस्कृतिक विशेषताअनुसार सापारुलाई फरक ढंगले मनाउने भएकाले एउटै पर्वका विभिन्न स्थानीय स्वरूपहरू विकसित भएका छन्। यसले नेपालको सांस्कृतिक विविधता र स्थानीय मौलिकताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

सापारुको सामाजिक र मनोवैज्ञानिक महत्व

सापारुको अर्को महत्वपूर्ण पक्ष यसको मनोवैज्ञानिक प्रभाव हो। शोकमा डुबेका परिवारलाई समाजसँग पुनः जोड्ने, मानसिक तनाव कम गर्ने र सामाजिक सहभागिता बढाउने माध्यमका रूपमा यो पर्वको विकास भएको देखिन्छ।

समयसँगै सापारु व्यङ्ग्य र हास्यको पर्वका रूपमा पनि परिचित भएको छ। तर यसको उद्देश्य केवल मनोरञ्जन होइन। विभिन्न झाँकी, प्रहसन, व्यङ्ग्य तथा ठट्टामार्फत समाजका विकृति, विसङ्गति, राजनीतिक कमजोरी, आर्थिक असमानता तथा सामाजिक अन्यायमाथि आलोचनात्मक टिप्पणी गरिन्छ। यसले समाजलाई आत्मसमीक्षा गर्ने अवसर प्रदान गर्छ।

यस अर्थमा सापारु सामाजिक आलोचनाको लोकतान्त्रिक सांस्कृतिक माध्यम हो। यसले शोकबाट उत्पन्न मानसिक बोझलाई हास्य, व्यङ्ग्य र सामूहिक सहभागितामार्फत रूपान्तरण गर्ने अद्वितीय सांस्कृतिक अभ्यास प्रस्तुत गर्छ।

खड्क जात्रा र रोपाइँ जात्राको ऐतिहासिक पृष्ठभूमि

सापारुपछि पशुपति क्षेत्रमा भोलिपल्ट खड्क जात्रा तथा त्यसको पर्सि पल्त रोपाइँ जात्रा मनाउने परम्परा रहिआएको छ।पहिलो दिन सापारु, शोक र मृत्युको सामूहिक स्वीकृतिको दिन हो, जहाँ समुदायले आफ्ना दिवंगतलाई सम्झन्छ। दोस्रो दिन खड्गजात्रा भने फेरि जीवन र सुरक्षाको प्रतीकसँग जोडिन्छ। तरबार (खड्ग) निकालेर मनाइने यस जात्राले नगर र समुदायलाई अनिष्टबाट जोगाउने, शक्ति र संरक्षणको भावना ब्युँताउने काम गर्छ र मानौं शोकपूर्ण दिनपछि समुदायले आफ्नो सुरक्षा र अस्तित्वको पुनःपुष्टि गर्दैछ। तेस्रो दिन रोपाइँ जात्रा ,अन्ततः यो अनुक्रमलाई भविष्यतर्फ मोड्छ। कतिपयले रोपाइँ जात्रालाई आधुनिक चलन ठाने पनि यसको इतिहास मल्लकालसम्म पुग्छ। पशुपति क्षेत्रमा विशेष गरी राजा प्रताप मल्लले कृषिलाई राज्यको समृद्धिको आधार मानेर धान रोपाइँ सम्पन्न भएपछि किसानहरूको उत्साह र श्रमको सम्मानस्वरूप रोपाइँ जात्रालाई संस्थागत गरेको विश्वास गरिन्छ।

यसले तत्कालीन राज्य व्यवस्थाले कृषिलाई केवल आर्थिक गतिविधि नभई सांस्कृतिक जीवनको केन्द्रका रूपमा लिएको देखाउँछ।

रोपाइँ जात्रा : कृषिप्रधान समाजको उत्सव

नेपाल कृषिप्रधान मुलुक भएकाले मनसुन र धान उत्पादन किसानको जीवनसँग प्रत्यक्ष सम्बन्धित छन्। पर्याप्त वर्षा हुँदा उत्पादन बढ्ने आशा हुन्छ भने खडेरी वा अत्यधिक वर्षाले किसानको जीवनमा आर्थिक र मानसिक संकट निम्त्याउँछ। अनेक कठिनाइ पार गर्दै धान रोपाइँ सम्पन्न भएपछि मनाइने रोपाइँ जात्राले किसानको श्रम, आशा, उत्पादन र समृद्धिको उत्सव मनाउँछ।

यो पर्वले कृषि केवल जीविकोपार्जनको माध्यम मात्र नभई सामाजिक जीवन, संस्कार, परम्परा र राष्ट्रिय अर्थतन्त्रको आधार भएको सन्देश दिन्छ। रोपाइँ जात्रामा किसानको श्रमप्रतिको सम्मान, सामूहिक सहकार्य तथा उत्पादनमुखी संस्कृतिको अभिव्यक्ति स्पष्ट रूपमा देखिन्छ।।

समकालीन सन्दर्भ

आधुनिक समाजमा तीव्र सहरीकरण, प्रविधिको विकास र जीवनशैलीमा आएको परिवर्तनका कारण परम्परागत पर्वहरूको स्वरूप परिवर्तन हुँदै गएको छ। कतिपय अवस्थामा सापारुलाई केवल गाईजात्रा वा हास्य–व्यङ्ग्यको पर्वका रूपमा मात्र बुझ्ने प्रवृत्ति बढ्दो छ। त्यसैगरी रोपाइँ जात्राको सांस्कृतिक र ऐतिहासिक महत्वभन्दा मनोरञ्जनात्मक पक्ष बढी प्रचारित हुन थालेको छ।

यस्तो अवस्थामा यी पर्वहरूको मौलिक इतिहास, धार्मिक आधार, सामाजिक महत्व र सांस्कृतिक दर्शनलाई नयाँ पुस्तासम्म पुर्‍याउनु आवश्यक छ। स्थानीय समुदाय, गुठी संस्था, शैक्षिक निकाय तथा राज्यको सहकार्यबाट यस्ता अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न सकिन्छ।

निष्कर्ष

सापारु, खड्क जात्रा र रोपाइँ जात्रा नेपाली समाजका जीवनदर्शनसँग अभिन्न रूपमा जोडिएका सांस्कृतिक सम्पदा हुन्। सापारुले मृत्युको पीडालाई सामाजिक सहानुभूति, धार्मिक विश्वास र सांस्कृतिक अभिव्यक्तिमा रूपान्तरण गर्छ भने रोपाइँ जात्राले श्रम, कृषि, उत्पादन र समृद्धिको उत्सव मनाउँछ। यी पर्वहरूले मानिसलाई शोकलाई स्वीकार गर्न, समाजसँग जोडिन, श्रमको सम्मान गर्न र जीवनप्रति आशावादी रहन प्रेरित गर्छन्।। बदलिँदो समयसँगै यिनको मौलिकता जोगाउनु र भावी पुस्तासम्म हस्तान्तरण गर्नु सम्पूर्ण समाजको साझा दायित्व हो।

प्रकाशित मिति:
थप ब्लग