नेभिगेशन
बुधबार, असोज १४, २०८३
व्यङ्ग्य

समाजको तनाव घट्यो, डलरेको तनाव बढ्यो !

बिहानको समय । शहरको एउटा क्याफे । कुनाको टेबलमा दुई जना सामाजिक सञ्जालका ‘इन्फ्लुएन्सर’ कफीभन्दा धेरै आफ्ना मोबाइल तताइरहेका छन् । दुवैको अनुहारमा यस्तो चिन्ता छ, मानौँ देश होइन, आफ्नै फेसबुक पेज सङ्कटमा परेको हो ।

पहिलोले लामो सास फेर्दै भन्यो, ‘दाइ ठूलो समस्या पर्‍याे ।’

दोस्रो झस्कियो । ‘हैन के भयो ? अकाउन्ट ह्याक भयो ?’

‘त्यो होइन ।’

‘के त ? डलर आउन छाड्यो ?’

‘त्यो पनि होइन ।’

‘अनि ?’

पहिलोले टाउको निहुराउँदै भन्यो, ‘तराई मधेशको तनाव शान्त हुन थालेछ ।’

दोस्रोको हातबाट कफीको कप झन्डै खस्यो । ‘के सबै मिलिसके ?’

‘हो । कसैले ढुङ्गा हानेको छैन । कसैले टायर बालेको छैन । फेसबुकमा पनि गालीगालौज घटेछ ।’

दोस्रोले निधार समात्यो । ‘हत्तेरिका ! त्यसो भए आजको कन्टेन्ट के त ?’

SATIRE_STRIP__final_one_IMgu25G2M1-1783398380.jpg


दुवै केहीबेर मौन बसे । यस्तो मौन, मानौँ एल्गोरिदमले श्रद्धाञ्जली दिएको हो ।

पहिलोले भन्यो, ‘अब के गर्ने त ?’

दोस्रोको आँखामा उतिखेरै चमक आयो । ‘कुनै चोकमा जाऔँ । दुई जना मान्छेलाई सोधौँ तपाईँलाई देशमा ठूलो द्वन्द्व हुन लागेकोजस्तो लाग्दैन ? यदि उसले लाग्दैन भन्यो भने त्यो लाग्दैन भनेको शब्द चाहिँ काटिदिने । बाँकी दर्शकले आफैँ कल्पना गर्छन् ।’

दुवै हाँसे ।

दोस्रोले अर्काे योजना सुनायो, ‘अस्पताल जाऔँ । त्यहाँ बिरामी त हुन्छन् । भिडियोको शीर्षक राखौँ—देशभर भयावह अवस्था !’

पहिलोले समर्थन जनाउँदै मोबाइल स्क्रोल गर्दै भन्यो, ‘हिजो एउटाले सडकमा दुई जना कराएको भिडियो हालेर लेखेछ–देश गृहयुद्धको संघारमा !’

दोस्रोले गर्वका साथ भन्यो, ‘हामी पनि पछि पर्नु हुँदैन । पुरानो भिडियो निकाल्ने । नयाँ मिति राख्ने । माथि लेख्ने—अहिलेको ताजा दृश्य !’

यति भन्दै गर्दा कुनाको टेबलमा चिया सुर्काउँदै बसेका एक वृद्ध उनीहरूको कुरा ध्यान दिएर सुनिरहेका थिए । कपाल फुलेको, आँखामा बाक्लो चस्मा, हातमा पुरानो पत्रिका । उनी मुस्कुराउँदै उठे ।

‘बाबुहरू, एउटा कुरा भनूँ ?’

दुवैले एकै स्वरमा भने, ‘अँ भन्नुस् न ।’

वृद्धले भने, ‘देशमा शान्ति हुँदा किन यति पीर परेको ?’

पहिलोले सीधै उत्तर दियो, ‘हजुरबा, शान्तिमा भ्युज आउँदैन नि !’

दोस्रोले थप्यो, ‘डलर पनि घट्छ ।’

वृद्ध हाँसे, ‘हामी जवान हुँदा आगो निभाउने मान्छेलाई गाउँलेले नायक भन्थे । अहिले त आगोमा घ्यू थप्नेले आफूलाई क्रिएटर भन्न थालेछन् ।’

दुवै चुप लागे ।

वृद्धले फेरि भने, ‘सामाजिक सञ्जाल आफैँ खराब होइन बाबु । यही सामाजिक सञ्जालबाट रगत खोजेर बिरामी बचाउने पनि छन् । बाढीपहिरोमा उद्धार जुटाउने पनि छन् । हराएका बालबालिका भेटाइदिने पनि छन् । किसानका समस्या उठाउने, राम्रो काम सिकाउने, समाज जोड्ने हजारौँ मान्छे छन् ।’

उनले अलि गम्भीर हुँदै थपे, ‘तर केहीलाई चाहिँ समाज जोडेर होइन, समाज तोडेर कमाउन सजिलो लाग्यो । आगो निभाउनेभन्दा आगोको भिडियो बेच्न सजिलो लाग्यो । सत्यभन्दा सनसनी प्यारो लाग्यो ।’

वृद्धको कुरा सुनेपछि दुवै जना एकछिन चुप लागे ।

पहिलोले भन्यो, ‘दाइ, अब साँच्चै के गर्ने ?’

दोस्रोले आँखा चम्काउँदै भन्यो, ‘यी बुढाले हामीलाई हप्काएको भिडियो बनाऔँ ।’

‘तर भिडियो खिचेकै छैन त ।’

‘के भो र ? खिचौँ न ।’

‘शीर्षक के राख्ने नि ?’

‘८० वर्षे बुढाले इन्फ्लुएन्सरलाई एकै झापडमा तह लगाए !’

‘झापड त हानेकै छैन नि ।’

‘एआईबाट थम्बनेल बनाएर राखिदिए भइहाल्यो नि !’

दुवै फेरि मोबाइलमा झुम्मिए ।

वृद्ध भने उनीहरूलाई हेर्दै क्याफेबाट बाहिरिए ।

सायद उनलाई थाहा थियो— समस्या मोबाइलमा होइन, त्यसलाई चलाउने मनमा हो । आज सामाजिक सञ्जाल सूचना, शिक्षा, अभियान र जनचेतनाको ठूलो माध्यम बनेको छ । हजारौँ सिर्जनाकर्ताले समाजका राम्रा काम देखाइरहेका छन् । कसैले विद्यालय बनाइरहेका छन् । कसैले रक्तदान अभियान चलाइरहेका छन् । कसैले विपद‍्मा सहयोग जुटाइरहेका छन् । उनीहरू पनि यही सामाजिक सञ्जालमै छन् ।

तर केहीका लागि भने समाजको शान्ति नै सबैभन्दा ठूलो समस्या हो । उनीहरूलाई मिलापभन्दा विवाद प्यारो हुन्छ । समाधानभन्दा सनसनी प्यारो हुन्छ । सत्यभन्दा थम्बनेल प्यारो हुन्छ । अनि जिम्मेवारीभन्दा एल्गोरिदम प्यारो हुन्छ ।

उनीहरू आगो निभाउन जाँदैनन्, धुवाँ राम्रो देखिने कोण खोज्न जान्छन् । झगडा रोक्न होइन ‘अलिकति अझ ठूलो स्वरमा भन्नुस् न’ भन्दै क्यामेरा तेर्साउँछन् । मान्छेको आँसुमा उनीहरूलाई पीडा देखिँदैन, सम्भावित भ्युज देखिन्छ । सायद यही हाम्रो समयको सबैभन्दा ठूलो विडम्बना हो ।

कतिपयलाई समाजमा शान्ति स्थापना भयो भन्ने खबरभन्दा ‘ब्रेकिङ’ हराउनु ठूलो दुःख लाग्छ । किनभने शान्त समाजमा सद्भाव बढ्छ, तर सनसनी बेच्नेहरूको डलर घट्छ ।

वृद्ध मनमा कुरा खेलाउँदै हिँडिरहेका थिए । अघि क्याफेमा भेटिएका तिनै ‘इन्फ्लुएन्सर’ ले बाटो छेकेर क्यामरा तेर्साउँदै भने, ‘तपाईँलाई लागेको कुरा यता हेरेर भन्नुस् त बाजे । यही तोडमोड गरेर राखे पो भ्युज बढ्छ कि ?’

प्रकाशित मिति:
थप ब्लग