गाउँको चौतारी हो, घाँसदाउरा र खेतीपातीको भन्दा धेरै कुरा राजनीतिकै हुन्छ । देशको राजनीति सिंहदरबारमा चल्छ, तर हिसाबकिताब हुन्छ गाउँको चौतारीमा । परम्परा यही हो, यही चल्दैछ हिजोआज पनि ।
चौतारीमा आमनेसामने भइरहन्छन् सरकारका समर्थक र विरोधी । आमनेसामने भएपछि कुरा शुरू हुन्छ । कुराको बान्की धेरैलाई थाहा छ । हिजो पनि कुरा शुरू भयो ।

विरोधीले शुरू गरे, ‘महिनौँ भयो, ग्यास सहज छैन । मान्छे रित्तो सिलिन्डर बोकेर डिपो धाइरहेका छन् । सरकार कहाँ छ ?’
समर्थकले तुरुन्तै जवाफ दिए, ‘पहिलेका मान्छेले ग्यास नहुँदा पनि भात खाएकै हुन् नि ।’
‘पहिलेका मान्छेसँग अहिलेको जस्तो जनसंख्या, आवश्यकता र सुविधा थियो ?’
‘त्यसो भए अहिले ग्यास नपाएर हिँडेको होइन, सरकारलाई विरोध गर्न रित्तो सिलिन्डर बोकेर हिँडेको हुन सक्छ ।’
विरोधी हाँसे । अनि अर्को प्रसङ्ग निकाले, ‘अनि सुत्केरी महिलालाई अस्पतालले भर्ना नगरेपछि सडकपेटीमै बच्चा जन्माउनुपर्ने अवस्था ? निःशुल्क स्वास्थ्य सेवा कहाँ पुग्यो ?’
समर्थकले फेरि तर्कको टोपी मिलाए, ‘सरकारलाई भनेर ती महिला गर्भवती भएकी हुन् ? सरकारले सबै गर्भवतीको पेट हेरेर बस्ने ? सबैको घरघरको अवस्था बुझेर साध्ये लाग्छ ?’
‘अस्पतालको काम के हो त ?’
‘त्यो अस्पतालको कुरा हो । सरकारको होइन ।’
‘तर अस्पताल सरकारकै स्वास्थ्य प्रणालीभित्र पर्छ नि !’
‘सरकारको विरोध गर्न अस्पतालबाट निस्केर सडकपेटीमा प्रसूतिको प्रहसन गरेको हुन सक्छ ।’
चौतारीमा बसेका एक जना कड्किए, ‘बच्चा जन्माउने कुरा पनि अब प्रहसन हुन थाल्यो है ?’
बहस त्यतिमै रोकिएन । विरोधीले भोटेकोशीको बाढी सम्झाए, ‘मान्छे बाढीमा फसे । कति बेपत्ता भए । कतिले आफ्ना प्रियजन गुमाए । समयमै उद्धार हुन सकेन । सरकारको तयारी कहाँ थियो ?’
समर्थकले प्रश्न गरे, ‘सरकारले बाढी ल्याएको हो ?’
‘होइन ।’
‘त्यसो भए सरकारलाई किन दोष ?’
‘विपद् सरकारले ल्याएको होइन । तर उद्धार गर्ने जिम्मेवारी सरकारको हो नि !’
समर्थक अलि तातिए, ‘सरकार भगवान् हो र ? बाढी आयो अनि उतिखेरको उतिखेरै सबैको उद्धार गर्नुपर्ने ?’
विरोधीले भने, ‘भगवान् होइन, त्यसैले त तयारी, उद्धार र राहतको प्रश्न उठाएको ।’
समर्थकले कुराको अन्त्य आफ्नै ढङ्गले गरे, ‘जे गर्न सक्यो, गर्याे । अब यसैलाई लिएर सरकारलाई बदनाम गर्ने ?’
केहीबेरपछि समर्थकले विरोधीतिर हेरेर सोधे, ‘तपाईँहरूको सरकार भएको भए के गर्नुहुन्थ्यो ?’
विरोधीले मुस्कुराउँदै जवाफ दिए, ‘साँचो कुरा भनौँ ? अहिले तपाईँहरूको सरकारले जे गर्याे, हामीले पनि त्यति नै गर्ने हो ।’
समर्थक दंग परे ।
‘अनि अहिले हामीले जे भनिरहेका छौँ, तपाईँहरूले के भन्नुहुन्थ्यो ?’
विरोधीले चिया सुर्काउँदै भने, ‘हामी पनि तपाईँहरूजस्तै भन्थ्यौँ–सरकारले सक्ने जति गर्याे । परिस्थिति बुझ्नुस् । सरकार भगवान् होइन ।’
चौतारीमा फेरि हाँसो चल्यो ।
त्यही बेला कुनामा बसेका बुढा मान्छेले भने, ‘तिमीहरू दुवैको कुरा सुन्दा एउटा कुरा चाहिँ बुझियो ।’
सबै चुप भए ।
बूढाले भने, ‘जनताको दुःख बदलिएको रहेनछ, दुःखमाथिको तर्क मात्रै बदलिँदो रहेछ ।’
‘कसरी ?’
‘हिजो रित्तो ग्यास सिलिन्डर थियो भने सरकारको असफलता हुन्थ्यो । आज त्यही रित्तो सिलिन्डर विरोधीको षड्यन्त्र भयो । हिजो अस्पतालबाहिर सुत्केरी हुनु सरकारको लापर्बाही हुन्थ्यो । आज त्यही घटना सरकारलाई बदनाम गर्ने प्रहसन भयो । हिजो बाढीमा उद्धार ढिलो हुनु सरकारको अपराध हुन्थ्यो । आज त्यही बाढी प्रकृतिको दोष भयो । हिजो जनता रोए भने सरकार असफल हुन्थ्यो । आज जनता रोए भने जनताले सरकारलाई नबुझेको भयो ।’
बुढाले एकछिन रोकिएर दुवैतिर हेरेर भने, ‘तिमीहरूमा फरक के रहेछ थाहा छ ?’
दुवै चुप लागे ।
‘सरकारमा हुँदा तिमीहरू समस्या गन्न छोडेर बहाना गन्छौ । सरकार बाहिर हुँदा बहाना गन्न छोडेर समस्या गन्छौ ।’
चौतारी फेरि शान्त भयो ।
बुढाले फेरि भने, ‘कुर्सीमा बस्दा देश चलाउन गाह्रो हुँदो रहेछ । कुर्सीबाहिर बस्दा देश चलाउन सजिलो । किनकि बाहिरबाट हेर्दा हरेक समस्याको समाधान हुन्छ । भित्र पसेपछि हरेक समाधानलाई पन्छाउने अर्को समस्या गणना हुन्छ । सत्ता बाहिर हुँदा जनताको आँसु देखिन्छ । सत्ता भित्र पुगेपछि त्यही आँसुलाई ‘परिस्थिति’ भनेर पुछिन्छ । अनि अर्को चुनाव आउँछ । फेरि चौतारीमा नयाँ सरकारको पुरानै आलोचना शुरू हुन्छ । मान्छे उही, दुःख उही, चौतारी उही—फेरिने भनेको कुर्सी मात्रै ।’
बुढा मान्छे लौरो टेकेर हिँडे । सरकारका विरोधी र समर्थक मुखामुख गरेर आ–आफ्ना मोबाइलमा घोप्टिए ।