नेभिगेशन

शहीद र शालिक थप्न सजिलो, नागरिक बचाउन गाह्रो !

चकमन्न मध्यरातमा सडक छेउका शालिकहरु आपसमा गुनगुन गर्न थाले ।

‘हैन नसुतेर तिमीहरु किन गुनगुन गर्दैछौ हँ ?’ कुनामा रहेका बुढो शालिकले खोक्दै सोध्यो ।

‘अर्को शालिक थपिने भयो रे क्या बा !’ तन्नेरी शालिकले बुढो शालिकतिर फर्किएर भन्यो ।

‘हँ फेरि को आउने भो ?’ बुढो शालिक जुरुक्क उठ्न खोज्यो ।

‘दुधे बालिका रे बा’ अर्कोले लामो सास तान्यो ।

‘हरे अझै राक्षसजस्तै मान्छे बाँकी रहेछन् है समाजमा ?’ बुढो शालिकले सुस्केरा हाल्यो ।

‘आखिर जे भए पनि हाम्रो संख्या बढ्ने भयो । अब मान्छे कम र हामी शालिक धेरै हुने दिन आउँदैछ ।'

‘एउटा कुरा चाहिँ मैले कहिल्यै बुझ्न सकिनँ । पहिलेजस्तै अहिले पनि सरकार किन हामीलाई थप्न यति उत्साहित हुन्छ ? मान्छे मर्न नदिने, अपराध हुन नदिने, शान्ति सुरक्षा कायम गर्ने काम चाहिँ किन गाह्रो मान्छ ?’ अर्कोले गम्भीर हुँदै भन्यो ।

‘त्यो काम गर्न गाह्रो छ नि ?’

‘कसरी ?’

‘मान्छे अकालमा नपर्न, अपराध हुनै नदिन त धेरैथोक गर्नुपर्छ । प्रहरीलाई चौबीसैघण्टा सतर्क राख्नुपर्यो । अपराधीको गतिविधि बुझ्नुपर्यो । अपराध हुने संकेत देखिनेबित्तिकै कुदेर पुग्नुपर्यो । समाजमा विवाद बढ्न दिन भएन । नागरिकको सुरक्षा गर्नुपर्यो । प्रहरीलाई जिम्मेवार बनाउनुपर्यो । दिनरात चौबीसै घण्टा काम गर्नुपर्यो ।’

‘त्यसपछि पनि घटना नहोला भन्ने ग्यारेन्टी छैन । त्यसैले झन् झन्झट !’

अर्को शालिकले टाउको हल्लाउँदै भन्यो, ‘हो त्यत्तिका दु:ख गर्नुभन्दा शालिक थप्नै सजिलो ।’

'सजिलो छ नि ! भन्दियो-मरेको मान्छेबारे छानबिन गरौँला । शहीद घोषणा गरौँला । परिवारलाई राहत घोषणा गरौँला । अनि एउटा शालिक ठड्याइदिऊँला । काम तमाम ।’

‘त्यसपछि अर्को घटना भयो भने फेरि यही प्रक्रिया दोहोर्याउने । सरकारलाई पनि सजिलो, हामीलाई पनि फाइदा !’

एकछिन सबै शालिक गम्भीर भए ।

त्यसैमध्ये एउटाले भन्यो, ‘तर हाम्रो संख्या यसरी नै बढ्दै गयो भने एउटा समस्या आउँछ ।’

‘के समस्या ?’

‘भोलि देशभरका चोकचोकमा शालिक मात्रै हुनेछन् । शालिकलाई माला लगाउने मान्छे चाहिन्छ । शहीद र शालिकको बारेमा भाषण गर्ने मान्छे चाहिन्छ । तर मान्छेभन्दा धेरै शालिक र शहीद भए भने कसले गर्ने त्यो काम ?’

यो  सुनेर सबै शालिक एकछिन चुप लागे ।

एउटा पुरानो शालिकले विस्तारै भन्यो, ‘हामी शालिकहरूलाई एउटा भ्रम छ । हामी बनेपछि समाजले सम्मान गरेको ठान्छौँ । तर वास्तवमा शालिक भनेको दुःखद घटनाको स्मारक हो । हामी जति बढ्छौँ, त्यति नै कतै न कतै केही नराम्रो घटना भएको संकेत पनि हुन सक्छ ।’

अर्कोले समर्थन गर्दै भन्यो, ‘हो त्यसैले सरकारले हाम्रो संख्या बढाउनेभन्दा हाम्रो संख्या घटाउने काम गर्नुपर्छ ।’

‘अर्थात मान्छे अकालमा नमरून् भनेर काम गर्नुपर्छ ।  गोली चल्ने अवस्था नआओस् भनेर काम गर्नुपर्छ । अपराध हुनै दिनु भएन । नागरिकले प्रहरी देख्दा डराउने होइन, सुरक्षा महसुस गर्ने अवस्था बनाउनुपर्छ । राज्यले नागरिकको ज्यान जोगाउनुपर्छ ।’

‘अनि मान्छे राक्षस होइन, मान्छे नै बन्नुपर्छ । मान्छेलाई राक्षस हुन नदिने र राक्षस प्रवृत्तिका मान्छेलाई तह लगाउने जिम्मा फेरि सरकारकै हो ।’

एकछिनपछि एउटा नयाँ शालिकको आवाज आयो, ‘तर त्यसो गर्नुभन्दा शालिक बनाइदिन सजिलो छैन र ?’

पुराना शालिकहरू सबै एकैपटक हाँसे ।

‘सजिलो त छ’ एउटाले भन्यो, ‘तर राज्यको काम सजिलो रोज्नु होइन । अप्ठ्यारोमा परेका नागरिकको ज्यान जोगाउनु हो ।’

अर्कोले थप्यो, ‘घटना भइसकेपछि श्रद्धाञ्जली दिनु राज्यको सफलता होइन । घटना नै हुन नदिनु सफलता हो ।’

त्यहीबेला टाढाबाट कसैले अर्को शालिकको आधार तयार पारिरहेको आवाज आयो ।

एउटा शालिकले टाउको फर्काएर भन्यो, ‘लौ, अर्को साथी आउँदैछ !’

अर्कोले भन्यो, ‘स्वागत गरौँ !’

तेस्रोले अलि गम्भीर भएर भन्यो, ‘स्वागत त गरौँला । तर यो नै हाम्रो अन्तिम साथी होओस् । किनकी देशलाई शालिकको बहुमत होइन, जिउँदा नागरिकको बहुमत चाहिएको छ ।’

‘सरकारले सम्झियोस्, शहीद थपेर इतिहास लेख्न सकिएला, तर भविष्य बनाउन नागरिक नै चाहिन्छ ।’

‘शालिकको संख्या बढ्नु गौरव होइन ।’

‘बिहान घरबाट हिँडेको मान्छे बेलुका सुरक्षित भएर घर फर्किनुचाहिँ राज्यको असली उपलब्धि हो ।’

प्रकाशित मिति:
थप ब्लग