हरेक वर्ष साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदा अर्थात् गुंलाथ्व पारूदेखि ञलाथ्व पारूसम्म गुंला पर्व मान्ने परम्परा रहिआएको छ । बौद्धमार्गी नेवार समुदायले एक महिनासम्म सफासुग्घर भई विभिन्न चैत्य, बहाः बही, गुम्बा दर्शन गरी गुंला मनाउने गर्छन् । नेपाल भाषामा ‘गुं’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुंलाको अर्थ नवौं महिना हुन्छ । हरेक वर्ष चन्द्रमास पात्रो अनुसार नवौं महिनामा मनाउने पर्व भएकोले गुंला भनिएको हो । नेपाल सम्वत् अनुसार दशौं महिनामा परेता पनि कार्तिक महिनाको प्रतिपदाबाट गणना गर्दा यो महिना नवौंमा पर्न आउँछ । विशेष गरी रोपाईं सकेपछि यो पर्व मनाउने गरिन्छ ।
इतिहासमा गुंला पर्व
गुंला पर्वको पनि आफ्नो छुट्टै इतिहास रहेको छ । गोपालराजवंशावलीको पत्र ३०ख मा लिच्छवी राजा पुष्पदेवको शासनकालको घटना उल्लेख गर्ने क्रममा ‘गुणिला’ शब्द उल्लेख गरेको छ । यस पत्रको अन्तिममा सम्वत् १७७ आषाढ उल्लेख छ । चम्पापुरको ने.सं. ८०१ को लक्ष्मीनारायण मन्दिरको अभिलेखमा पनि ‘गुणिला पादोन’ अर्थात् गुंला पारूको उल्लेख भएको छ । लामो समयको अन्तरालमा गुणिला शब्दको उच्चारण नै गुंला हुन गएको अनुमान गर्न सकिन्छ ।
गुंला पर्व मान्ने चलन बुद्धकालिन समयदेखि शुरू भएको मान्न सकिन्छ । कपिलवस्तुको शाक्य गणराज्यमा कोशलका राजा विडुडभले आक्रमण गरी राज्य ध्वस्त गरेर शाक्यहरूलाई हत्या गरेपछि शाक्य र कोलिया जातिको समूह नेपालमण्डलमा शरण लिन आएका थिए । तत्कालिन किराँत राजाहरूले उनीहरूको आश्रयको लागि ‘गुंविहार’ निर्माण गरेका थिए । धनबज्र बज्राचार्यको पुस्तक ‘लिच्छविकालका अभिलेख’ (पृष्ठ ५०८) मा लिच्छविकालमा बौद्ध विहारमा सबभन्दा विशिष्ट विहार साँखुमा रहेको र यसको नामाकरण किराँत परिवारको भाषाबाट भएको उल्लेख गरेको छ । उतिबेलाको गुंविहार अहिलेको साँखुको बज्रयोगिनी मन्दिरको वनमा रहेको छ । विहारसंगै चैत्य पनि रहेको छ । सोही गुंविहारबाट गुंला पर्वको शुरुवात भएको लोकधारणा रहेको छ ।
भाषावंशावली अनुसार राजा विक्रमदेवले बौद्धमार्गीहरूको लागि श्रावण शुक्ल प्रतिपदादेखि एक महिनासम्म बौद्धारम्भ यात्राको परम्परा बसालेको देखिन्छ । (संस्करण २०२०, पृष्ठ ६३, पुरातत्व विभाग) श्रावण महिना वर्षात्को समय भएकोले बाढी, पहिरोले दुःख दिने र बौद्धमार्गीहरू टाढा टाढाको यात्रा गर्न नसक्ने हुँदा नजिकैको बौद्ध तीर्थस्थल, चैत्य, विहार घुम्ने परम्परा अहिलेसम्म कायमै रहेको छ ।
गुंला पर्वको धार्मिक कथन
गुंला धर्मको सम्बन्धमा स्वयम्भु पुराणमा वर्णित कथनलाई महत्वपूर्ण रुपमा हेर्ने गरेको छ । त्यही पूराणमा उल्लेख गरे अनुसार प्राचीन समयमा काठमाण्डौ उपत्यका ठूलो दह थियो । त्यस दहमा विपश्वी बुद्ध आई कमलको बीज छरेको र सोही बीजबाट फूल फुलेपछि त्यसमाथि धर्मधातु ज्योतिको स्वरुपमा स्वयम्भुनाथ प्रादुर्भाव भएको कथन छ । त्यस ज्योति स्वरुप दर्शन गर्न चीनबाट महामञ्जुश्री आएको र आफ्ना दुई पत्नी वरदालाई ‘फुच्व’ अर्थात् फुल्चोकी र मोक्षदालाई ‘धिनाच्व’ अर्थात् चम्पादेवी डाँडामा बस्न लगाई ती दुई डाँडाको बीचमा रहेको चोभार डाँडालाई खड्गले प्रहार गरी दहको पानी बाहिर पठाएको र पानी बगेर बाहिर गएपछि ‘मञ्जुपतन’ शहर बसालेको कथन रहेको छ । शहर बसाएपछि स्वयम्भु उत्पत्ति भएको डाँडामा नियमित सेवा हुन थालेको र यसैलाई पछि चैत्य सेवा भन्न थालियो । स्वयम्भु विराजमान भएको ठाउँमा महायानतर्फका धर्मगुरु शान्तिकराचार्यले स्वयम्भु महाचैत्य निर्माण गरेपछि यो चैत्य सेवालाई नै गुंला धर्म भनिएको कथनले अहिले व्यापकता पाएको छ । हिनयान, महायान, बज्रयान तीनै सम्प्रदायका बौद्ध धर्मावलम्बीहरूले विभिन्न चैत्य, विहार, गुम्बा, बौद्ध स्तूप परिक्रमा गर्ने, ध्यानमा रहने, बुद्धको सदाचार नियमको पालना गर्ने गरी यो धर्म मान्ने गरिन्छ ।
गुंला पर्वको सम्बन्धमा पाप र पुण्यको कथा प्रचलनमा रहेको छ । यसको चलन शशीपट्टन नगरका राजा सिंहकेतु राजाको कथासँग जोडिएको छ । राजा जङ्गली जनावर, चराचुरुङ्गीहरूको शिकार खेल्न अति नै मन पराउँथे । उनको सुरक्षणी नाम गरेकी रानी थिइन् । रानी अहिंसावादी भएको कारण अवोध वन्यजन्तुको हत्या गर्ने कार्यलाई पापको रुपमा लिने गर्थिन् । राजालाई वन्यजन्तु, चराचुरुङ्गीको शिकार नगर्न अनुरोध गर्थिन् । तर राजा मान्दैनथे । धेरै वर्ष बितेपछि ती राजा र रानी दुवैको मृत्यु हुन्छ । वन्यजन्तुको हत्या गर्ने भएको कारण राजा अर्को जन्ममा राँगा भएर जन्मिन्छ भने रानी पनि ब्राम्हण कुलकी छोरी भएर जन्म लिन्छिन् । एकदिन राँगा चराउँदै गरेको अवस्थामा बाघहरूले आक्रमण गरेर मारी खान्छन् । त्यो देखेर रानी शोकमा पर्छिन् । शोकमा रहेकी उनले वोधिसत्वको आज्ञा बमोजिम राँगाको सिङ बाहेक सम्पूर्ण हड्डी जम्मा गरी जमिनमुनी पुरेर त्यसकोे ठिक माथि ‘चिभाः’ (चैत्य) स्थापना गरिदिन्छ र बाँकी रहेको सिङलाई बाजाको रुपमा बजाई एक्काइस दिनसम्म चैत्यको वरिपरि घुमेर साधना गर्छिन् । उनको कार्यले पूर्वजन्ममा राँगा भई जन्मेका राजाको सबै पाप मुक्त हुन्छ र पुनः राजा र रानीको मिलन हुन्छ । ब्राम्हणकी छोरी भएर जन्मेकी रानीले हिंसावादी स्वभावका राजालाई पहिले गरेको पापबाट मुक्त गरी उद्धार गरेको प्रसङ्गले गुंला महिनाभरि राँगाको सिङ फुकेर विभिन्न चैत्यको परिक्रमा गर्नु पर्ने परम्पराको थालनी भएको मान्न सकिन्छ । यसलाई न्येकुँ बाजा भनिन्छ । गुंलाको अवसरमा मात्र यो बाजा बजाइने हुँदा कसैकसैले गुंला बाजा पनि भन्ने गरेको छ । नेवाः समाजमा त्यस वर्ष भित्र निधन भएका व्यक्तिहरूको पापबाट मुक्तिको लागि गुंला महिनाभरि सिङलाई फुकेर स्वयम्भु महाचैत्य परिक्रमा गरेर मनाउने गरिन्छ । याे बाहेक अन्य ठाउँमा पनि नेकुँ बाजा बजाई चैत्य परिक्रमा गर्ने चलन रहेको छ । कथा काल्पनिक वा सत्य, असत्य, जेजस्तो भएपनि यसले जीवनमा मानिसले पाप गर्नु नहुने कुरा सिकाएको छ । यस कथासंग जोडिएको चैत्य सेवा अहिले बौद्ध संस्कृतिको रुपमा रहन पुगेको छ । यसलाई अमूर्त साँस्कृतिक सम्पदाको रुपमा लिन सकिन्छ ।
गुंलामा हुने धार्मिक कार्य
न्येकुँ बाजा नेवाः जातिको मौलिक बाजाको रुपमा रहेको छ । यो बाजा विशेष गरी राँगाको सिङबाट बनाइएको हुन्छ । सिङलाई सोझै फुक्न मिल्ने गरी वा त्यसमा काठको नली जडान गरी फुक्न मिल्ने गरी बनाइएको हुन्छ । स्थानीय समुदायमा यो ‘न्येकुँ बाजा’को नामबाट परिचित छ । यो बाजाको साथमा मृदंग, नायखिं, धां, ताः, भुस्याः, छुस्याः, म्वाली (सहनाई), बासुरी आदि पनि बजाउने गरिन्छ । यस किसिमको विभिन्न बाजाहरू बजाई गुंला अवधिभरि विभिन्न चैत्य, वहाः, वही दर्शन गर्ने कार्यले नेवाः समुदायमा निरन्तरता पाएको छ । यस पर्वको अवसरमा काठमाण्डौं उपत्यकाको बौद्ध तीर्थस्थल स्वयम्भु चैत्य, बौद्धनाथ स्तुप, हिरण्यवर्ण महाविहार, रक्तावलोकितेश्वर (बुंगमती), आनन्दादीलोकेश्वर (चोभार), श्रृष्टिकान्ता लोकेश्वर (नाला) र आर्यावलोकितेश्वर (काठमाण्डौं) गरी चार लोकेश्वर दर्शन गर्ने गरिन्छ । बाडेगाउँमा रहेको षडक्षरी लोकेर प्रत्येक बुधबारको दिन दर्शन गर्ने कार्य पनि यसै अवधिमा हुने गरिन्छ । कतिपय मानिसहरू काभ्रेको नमोबुद्ध पुगेर मृत आत्माको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन कार्य यसै समयमा हुने गर्छ । दिवंगत आत्माको सुखावति भुवन (बैकुण्ठ) बासको कामना गर्दै परिवारजनले एक महिनासम्म चैत्य, बहाः, बही दर्शन गरी दीप प्रज्वलन गर्ने, नाम संगती पाठ गर्ने, चैत्य पूजा गर्ने, दान दक्षिणा दिई मनाउने गरिन्छ । यस किसिमको कार्यले नरकमा परेका मृत आत्माहरूको समेत उद्धार हुने विश्वास गरिन्छ ।
अहिले खासगरी काठमाण्डौ उपत्यकाका नेवाः समुदायका मानिसहरू गुंला बाजा बजाउँदै एक महिनासम्म स्वयम्भू महाचैत्य दर्शन गरी बडो हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस समयमा स्वयम्भू चैत्यमा विभिन्न परम्परागत मौलिक बाजाहरू धां, मृदंग, न्येकुँ, ताः, भुस्याः छुस्या, बासुरी आदिको गुञ्जनले संगीतमय हुने गर्छ । भक्तपुरमा मानन्धर समुदायले गुंला पर्वमा न्येकुँ बाजा सहितको नौबाजा बजाई चैत्य परिक्रमा गरिन्छ । काठमाण्डौं उपत्यका बाहिर पनि नेवाः समुदायले आ–आफ्नै तरिकाले विभिन्न बाजागाजा सहित चैत्य, वहाः, बही दर्शन गरी गुंला पर्व मनाउने गरिन्छ । गुंला बाजा खलः स्वयम्भु जाने चलन लिच्छविकालिन राजा हर्षदेवको शासनकालमा नेपाल सम्वत् २०४–२१८ बाट शुरु भएको अनुमान छ । (हाम्रोपात्रो डटकम)
गुंला अवधिभरि बिहानीपखको समयमा वहाः, वहिका साथै पाटी, धर्मशाला आदिमा बुद्ध धर्मको नव ग्रन्थ पाठ गर्ने चलन छ । जसलाई नाम संगती पाठ गर्ने भनिन्छ । यसका साथै खिं, ताः, बबुचा, पोंगाको तालमा दुई समूहमा बसेर परम्परागत शास्त्रीय रागमा आधारित भएर दाफा गाउने चलन पनि रहेको छ । दाफामा च्वताल, लंताल, प्रताल, जति, पलेमा, अस्त्र, गरह आदि तालहरूमा बाजा बजाउने गरिन्छ । गुंला बाजामा पनि यी तालहरूको प्रयोग हुने गर्छ । वहाः, वहीको चोक, आँगनमा दिपङ्कर बुद्ध र पौभा चित्रहरूको प्रदर्शन गर्ने कार्य यसै समयमा हुने गरिन्छ । यस उत्सवलाई ‘बहिद्यः ब्वयेगु’ भनिन्छ । गुंलामा दाफा तथा भजन गाउने समूह ‘बहिद्यः स्ववनेगु’ भन्दै गाइजात्राको दिनमा हेर्न जाने गरिन्छ ।
गुंलाको धार्मिक आस्था
गुंला पर्व बौद्ध धर्मको ध्यान, ज्ञान र दानसंग सम्बन्धित रहेको छ । बौद्ध दर्शन अनुसार आफ्नो तन, मन, मस्तिष्कलाई ध्यानमा मार्फत् स्वस्थ बनाउने, ज्ञान आर्जन गरी तन, मन शुद्ध बनाउने र दान गरी पुण्य कमाउने महिनाको रुपमा गुंलालाई लिन सकिन्छ । यस समयमा दिने दानलाई पवित्र काम मानेको छ । गुंलामा पञ्चदानको रुपमा अन्न, रोटी, द्रव्य, फल, ओखतीलाई शुद्ध दानको रुपमा स्वीकारयोग्य मानेको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा पञ्चदानको कार्यक्रम हुने गर्छ ।
बौद्ध धर्म प्रति आस्थावान व्यक्तिले बुद्धलाई आदर एवम् भक्तिभाव प्रकट गर्दै यो पर्व मान्ने गरिन्छ । बौद्ध धर्म प्रति आस्थावान व्यक्तिले यस समयमा शरिर र मन शुद्ध भई कालो माटोको धर्मधातु चैत्य बनाई ३० दिनसम्म व्रत बस्ने गरिन्छ, जसलाई नेपाल भाषामा ‘द्यः थायगु’ भन्ने गरिन्छ । माटोको चैत्यलाई बोकी नौबाजा बजाई नगर परिक्रमा गरी नजिकै रहेको तीर्थस्थलमा लगेर बिसर्जन गरी व्रत समापन गरिन्छ । पुण्य सञ्चय गर्ने उत्सवको रुपमा पनि यसलाई मान्दै आएका छन् । यो पर्व बुद्ध प्रति आशक्त भई चित्त शुद्ध गर्ने पर्व पनि हो । यस पर्वले बौद्ध धर्मको शिक्षालाई व्यवहारमा उतार्न र सदाचारमा रहन सिकाउँछ । त्यसैले यो पर्वभरिमा मानिसहरू माछा, मासु, अण्डा, लसुन, प्याज आदिलाई भोजनको रुपमा नलिई बारेर बस्ने गर्छन् । यस समयमा पशुपन्छी, जीवजन्तुको शिकार गर्न नहुने मान्यता रहेको छ । गुंला पर्वमा गरिने हरेक कार्य प्राणी जगतको कल्याण तथा पाप मुक्तिको लागि हुने हुँदा यसलाई स्वार्थ रहित पर्वको रुपमा पनि लिन सकिन्छ ।
गुंला महिनामा नै भाद्रकृष्ण प्रतिपदाको दिन मरेको मान्छेको प्रत्येक घरबाट गाईको स्वरुप बनाई झाँकी सहितको ‘सापारु’ निकाली नगर परिक्रमा गर्नु पर्ने चलन रहेको छ । यो सापारु नै अहिले गाइजात्राको नामले परिचित छ । नेवाः समुदायमा मृतकको आफन्तले विहान सबेरै लगन थूर (लगनखेल), पुच्व थूर (पुल्चोक), वागमती थूर (बङ्गलामुखी) र तेता थूर (ग्वार्को) घुमेर मृत आत्माको शान्तिको लागि दीप बाल्ने गरिन्छ । प्रतिपदाको दिन मात्र यमलोकको ढोका खुल्ने र गाईको मद्दतबाट मृतकको आत्मा यमलोक प्रवेश गर्ने जनविश्वास रहेको छ । यसको भोलिपल्ट ललितपुरको पाटनमा मृत आत्माको चिरशान्तिको कामना गर्दै चैत्य, वहाः, वही, चारै स्तूप, मन्दिर घुमेर ‘मतया’ (दीपयात्रा) मनाउने गरिन्छ भने कतै रोपाईं जात्राको रुपमा मनाउने गरिन्छ । यसको अलाबा गुंलामा नागपञ्चमी, जनैपूर्णिमा, कृष्ण जन्माष्टमी, जुगः (पञ्चदान), कुशे औंशी पर्व पनि पर्ने गरेको छ । गुंला पर्वको समाप्तीको दिन विभिन्न व्यञ्जन सहित ‘पारु भ्वय्’ अर्थात् भोज खाएर खुशीयाली साटासाट गरी मनाउने गरिन्छ ।
अन्तमा, कला, संस्कृृतिमा नेवाः समाज निकै धनी छ । हिन्दू तथा बौद्ध धर्मसंग सम्बन्धित भएर आउने प्रत्येक जात्रा, पर्वले देशको पहिचान बनाइराख्न सफल भएको छ । गुंला पर्व बौद्ध संस्कृतिको रुपमा विकास भएको मौलिक पर्व हो । यो पर्व मानिसको सभ्यताको प्रतीक पनि हो । यस प्रति नयाँपुस्तामा चेतना जागृत हुन थालेको छ । मौलिक पर्वमा विकृति नल्याई संस्कृति र परम्पराको उत्थानमा सबै लाग्न सकेको खण्डमा पहिचान जोगिन्छ । यस्ता मौलिक पर्वले नै नेवाः समुदायलाई एकताबद्ध बनाइराख्न मद्दत गरेको छ ।