नेभिगेशन

लाखसम्मको ट्राफिक जरिवाना प्रस्तावले सडकलाई लाज !

काठमाण्डाै – काठमाण्डौका सडकहरूको आकस्मिक बैठक बस्यो । बैठकको अध्यक्षता सबैभन्दा पुरानो खाल्डाले गर्‍याे । बैठकमा नयाँ–पुराना खाल्डा, साँघुरा सडक, हिलाम्मे गल्ली, धुलाम्मे चोक, चिल्ला कालोपत्र सडक, फराकिला सडक, डुबान हुने खोला छेउका करिडोर र वर्षा लाग्नासाथ नदी बन्ने चोकहरू उपस्थित भए । बैठकको एजेन्डा थियो, नागरिकलाई लाख रुपैयाँसम्म ट्राफिक जरिवाना तिराउने सरकारी प्रस्तावप्रति सडकको धारणा ।

सबैभन्दा पहिले एउटा पुरानो खाल्डो सकिनसकी अघि सरेर बोल्न थाल्यो, ‘म त अब लाजले भासिन लागेँ । दश वर्षदेखि यही ठाउँमा बसेको छु । चुनाव आउँदा म पुरिन्छु, चुनाव सकिएपछि फेरि जन्मिन्छु । मलाई स्थानीय मान्छेहरूले नामै राखिसके ‘स्थायी विकास’ । अब यस्तै अवस्थामा मान्छेलाई लाख रुपैयाँ जरिवाना गर्ने कुरा सुन्दा मलाई पनि आफ्नै अनुहार ऐनामा हेर्न मन लागेन ।’

त्यसपछि साँघुरो सडक उठ्यो । उसले लामो सास फेर्‍याे र भन्यो, ‘मेरो चौडाइमा दुईवटा गाडी एकैपटक गुड्न पुग्दैन । तर दुवैतिर पार्किङ छ । बीचमा व्यापारीको सामान छ । पैदलयात्री मेरो काँधमा होइन, सीधै सडकमा हिँड्न बाध्य छन् । अनि सरकार भन्छ, जेब्रा क्रसिङबाहिर हिँड्यौ भने पाँच सय जरिवाना ! जेब्रा क्रसिङसम्म पुग्ने बाटो त बनाइदेऊ सरकार !’

साँघुरो सडकले टाउको झुकाउँदै बसेपछि हिलाम्मे सडकको बोल्ने पालो आयो । उसले भावुक हुँदै भन्यो, ‘म त वर्षाको पहिलो थोपापछि आफैँलाई चिन्न छोड्छु । सडक हुँ कि धान रोप्न ठीक पारेको खेत, छुट्याउन मुस्किल पर्छ । मोटरसाइकल चिप्लिन्छ, पैदलयात्री लड्छन् । अनि दोष कसलाई ? पैदलयात्री र चालकलाई ।’

उसको भावुक कुरा सुनेर एकछिन सबैजना मौन बसे । त्यसपछि निकै चिल्लो र कालोपत्र सडक बोल्न उठ्यो । सबैले उसलाई हेरे ।
‘तिमीलाई पनि पीडा छ र ?’ खाल्डाले सोध्यो ।

चिल्लो सडकले मुसुक्क हाँसेर भन्यो, ‘तिमीहरू बाहिरबाट बिग्रेका छौ । म भित्रबाट बिग्रेको छु ।’

सबै अचम्ममा परे । चिल्लो सडकले फेरि भन्यो, ‘हेर्दा म चम्किलो छु । फोटो खिच्दा मन्त्रीज्यू पनि मेरै काखमा उभिनुहुन्छ । उद्घाटनको रिबन पनि मेरै छातीमा काटिन्छ । तर एक घण्टा पानी परेपछि म सडक होइन, पौडी पोखरी बन्छु ।’

उसको कुरा सुनेर सबै सडक हाँस्न थाले ।

कालोपत्र सडकले फेरि भन्यो, ‘पानी जाने नाला छैन । पानी सोस्ने माटो छैन । वरिपरि सबै कङ्क्रिट । वर्षा शुरू भयो कि म आफैँ डुब्छु । गाडी डुब्छन् । मोटरसाइकल पल्टिन्छ । ट्राफिक प्रहरीले उद्धार गर्छ । अनि दोष ? चालकको गति धेरै भयो रे !’

त्यत्तिकैमा खोला छेउको करिडोर सडक उठ्यो । ‘म त वर्षा लाग्नेबित्तिकै डाइभिङ सेन्टर बन्छु । बिहान गाडी गुड्छन्, बेलुका डुङ्गा चलाउन मिल्ने अवस्था हुन्छ ।’

सबै सडकले ताली बजाए ।

त्यसपछि बैठकमा उपस्थित ट्राफिक बत्ती पनि बोल्न खोज्यो । तर ऊ आफैँ बिग्रिएको रहेछ । त्यसैले उसको भनाइ कसैले बुझेन ।

त्यसपछि एउटा जेब्राक्रस उठ्यो र आफ्नो व्यथा पोख्न थाल्यो, ‘म त आधा मेटिएको छु, मान्छे मलाई खोज्दै हिँड्छन् । म आफैँलाई खोज्दै हिँडिरहेको छु ।’

सबैको अनुहार गम्भीर बन्यो ।

त्यसैबेला बैठकका सचिवले सरकारी प्रस्ताव पढेर सुनाए, ‘जेब्राक्रस नभएको ठाउँमा बाटो पार गर्नेलाई पाँच सय रुपैयाँ जरिवाना, गाडीमा कालो सिसा राख्नेलाई एक लाख जरिवाना । गति बढी भएमा पचास हजार रुपैयाँसम्म । हेल्मेट नलगाउनेलाई तीन हजार रुपैयाँ.....।’

बैठकमा सन्नाटा छायो ।

अन्त्यमा बैठकको अध्यक्ष गरिरहेका खाल्डोले निष्कर्ष सुनायो । ‘नियम कडा हुनु नराम्रो होइन । नियम त हुनैपर्छ । गल्ती गर्नेले सजाय पाउनुपर्छ । तर नियमले नागरिकलाई मात्रै होइन, राज्यलाई पनि हेर्नुपर्छ ।’

उसले थप्यो, ‘हामी सडकले आफ्नो काम गर्न सकेका छैनौँ । एकझर पानी पनि थेग्न सक्दैनौँ । ट्राफिक बत्ती आफैँ बिरामी छन् । नाला बन्द छन् । पैदलमार्ग कब्जामा छन् । जेब्रा क्रस हराएका छन् । अनि यत्रो कमजोरीमाथि उभिएर लाख रुपैयाँ जरिवानाको भाषण गर्दा हामीलाई नै लाज लाग्यो ।’

चिल्लो सडकले आँखा पुछ्दै भन्यो, ‘बरु सधैँ पानी परिरहे हुन्थ्यो । कम्तीमा डुबानले हाम्रो लाज त छोप्थ्यो ।

साँघुरो सडकले समर्थन गर्दै भन्यो, ‘हो नि । पानीले ढाकिदिएपछि कसैले हाम्रो अवस्था देख्दैनथ्यो ।’

तर पुरानो खाल्डाले टाउको हल्लायो । ‘समस्या त्यही हो । पानी त सधैँ पर्दैन । घाम लागेपछि फेरि हामी नाङ्गै देखिन्छौँ । अनि लाख रुपैयाँको जरिवानाको खबर हाम्रो छेउबाट हाँस्दै गुड्छ ।’

बैठक सकियो । सबै सडक आ–आफ्नो ठाउँमा फर्किए । बाहिर फेरि पानी पर्न थाल्यो । काठमाण्डौका सडकहरू फेरि नदी बने । नागरिकहरू फेरि जोखिम मोलेर घर फर्किए । र सडकहरूले चुपचाप आकाशतिर हेरे ।

उनीहरू प्रार्थना गरिरहेका थिए– हे बादल ! आज अलि धेरै पानी परिदेऊ । हामी डुबौँला, तर कम्तीमा लाख रुपैयाँसम्मको जरिवानाको खबरले ल्याएको लाज त केहीबेर छोपिनेछ ।’

प्रकाशित मिति:
थप ब्लग