नेभिगेशन

नरक यात्राअघिको गुनगुन – ‘मुख्यमन्त्री आआफै बन्ने त !’

दुवै जना एउटै साइत कुरेर बसेका थिए । कसोकसो साइत जुर्‍याे । त्यो साइत पहाड चढ्ने, हिमाल चढ्ने वा पदयात्रा गर्न थिएन । फेरि सत्तामार्गमा अघि बढ्ने साइत थियो त्यो ।

चिया आयो । बिस्कुट आयो । नक्सा आयो । अनि प्रदेशहरूको नक्सामाथि औँला घुम्न थाल्यो ।

ओलीले नक्सातिर हेर्दै भने, ‘प्रचण्डजी प्रधानमन्त्री त अहिले यसै मिल्दैन । तर मुख्यमन्त्री पनि नराम्रो पद होइन रहेछ ।’

प्रचण्डले तुरुन्तै समर्थन जनाए, ‘हो नि । नाम मात्रै फरक हो । मुख्य र प्रधान भनेको उस्तै त हो । प्रधान भनेको ठूलो, मुख्य भनेको पनि ठूलो ।’

SATIRE_STRIP__final_one_IMgu25G2M1-1783398380.jpg
दुवै केहीबेर गम्भीर भए । मानौँ देशको भविष्य तय हुँदैछ ।

ओलीले फेरि तर्क निकाले, ‘त्यसमाथि बागमती प्रदेशको मुख्यमन्त्री भनेपछि काठमाण्डौ पनि त त्यसैभित्र पर्छ । काठमाण्डौ चलाउने त मुख्यमन्त्रीले नै हो । हिसाबले त प्रधानमन्त्रीभन्दा पनि ठूलो देखियो ।’

प्रचण्डको अनुहार उज्यालियो, ‘हो त ! प्रधानमन्त्रीले काठमाण्डौमा बसेर देश चलाउँछ, मुख्यमन्त्रीले काठमाण्डौ पनि चलाउँछ । काठमाण्डौमा बस्नेहरूलाई मुख्यमन्त्रीले चलाउने भएपछि प्रधानमन्त्रीलाई पनि मुख्यमन्त्रीले नै चलाउने भयो । यो हिसाबले त मुख्यमन्त्री झनै ठूलो हो ।’

दुवैको अनुहारमा सत्ता दर्शनको दिव्य प्रकाश फैलियो ।

‘पहिले को बन्ने त ? मैले रहर नपुग्दै छोड्नुपर्‍याे’ ओलीले टाउको कन्याए ।

‘तपाईँले अलिअलि भए पनि रहर पूरा गर्नुभयो, म त सत्ताबाहिर बसेको कति भयो भयो !’ प्रचण्ड औँला भाँच्न थाले । औँला भाँच्दाभाँच्दै उतिखेरै झसँग भएर भने, ‘म त सङ्घीय सांसद पो हो क्यारे, तपाईँ त झन् अहिले सांसद पनि हुनुहुन्न ।’

कोठामा केही क्षण मौनता छायो ।

ओली मुसुक्क हाँसे र भने, ‘प्रदेशमा आफ्नै सरकार हुने भएपछि ऐन पनि आफ्नै, नियम पनि आफ्नै । चाहियो भने संशोधन गरौँला । लोकतन्त्रमा नियम नागरिकका लागि हो, नेताका लागि होइन भन्ने कुरा त सबैले बुझिसकेकै छन् क्यारे !’

दुवै हाँसे । त्यसपछि प्रचण्डले अलि दार्शनिक शैलीमा भने, ‘हतार नगरौँ । अहिले हाम्रै साथीहरूमार्फत प्रदेशको स्वाद लिऔँ । केही वर्षपछि फेरि प्रधानमन्त्री त भइहालिन्छ ।’

ओलीले सहमति जनाए, ‘सत्ता भनेको दहीजस्तै हो । माथिबाट खान नपाए तलबाट खानुपर्छ । स्वाद त उही हो ।’

कोठाबाहिर केही नेता–कार्यकर्ता उभिएका छन् । उनीहरूले पार्टी पुनर्गठन र पुस्तान्तरणको बहस गर्दै आएका छन् । पार्टीमा युवा नेतृत्वको आवश्यकता र नेतृत्वको कार्यशैली सुधार हुनुपर्ने उनीहरूको माग छ । उनीहरूलाई लागेको थियो—आज नेताहरूले सङ्गठन कसरी बलियो बनाउने, युवालाई कसरी नेतृत्व हस्तान्तरण गर्ने, नयाँ पुस्तालाई कसरी अघि बढाउने भन्ने छलफल गर्दै होलान् ।

तर भित्र त मुख्यमन्त्री र प्रधानमन्त्रीमध्ये को ठूलो भन्ने तर्कशास्त्र पो चल्दै रहेछ ।

एक जना कार्यकर्ताले निराश हुँदै भने, ‘हामी त पुस्तान्तरणको प्रस्ताव लिएर आएका थियौँ ।’

अर्कोले लामो सास फेर्‍याे, ‘हामीले पार्टी पुनर्गठन खोज्यौँ, उनीहरू सत्ता पुनर्गठन खोज्दैछन् ।’

नेताहरूको कानमा कुर्सीको आवाज मात्रै सुनिँदो रहेछ ।’

‘कुर्सीले जिस्काउँदै भन्दो रहेछ–यता आऊ । नेताहरू दौडन थालेपछि कुर्सी अलिकति पर सर्दो रहेछ । फेरि उनीहरू दौडँदा रहेछन् । फेरि कुर्सी सर्दो रहेछ...।’

‘देशले बेरोजगारी देख्यो, उनीहरूले मन्त्रालय देखे ।’

‘देशले युवा पलायन देख्यो, उनीहरूले मन्त्रालय बाँडफाँट देखे ।’

‘देशले विकास खोज्यो, उनीहरूले सरकार खोजे ।’

‘नागरिकले पुराना नेतृत्वमा सुधार खोज्यो, उनीहरूले पुरानै पारा रोजे ।’

‘यस्तो लाग्थ्यो, देश एउटा बस हो र उनीहरू दुई जना सधैँ ड्राइभरको सिटमा पालो कुरेर बसिरहेका छन् । बस सही हालतमा छ कि छैन, बसमा यात्रु छन् कि छैनन्, गन्तव्य कहाँ हो, इन्धन छ कि छैन—त्यसको मतलब छैन । स्टेरिङ मात्रै आफ्नै हातमा हुनुपर्छ ।’

‘राजनीतिमा हार/जीत सामान्य कुरा हो । तर हार स्वीकार्नभन्दा गाह्रो सत्ता छोड्नु रहेछ ।’

‘फागुनको चुनावबाट नागरिकले एउटा सन्देश दिएका थिए—अब पुराना दलमा नयाँ सोच चाहिन्छ । तर त्यो सन्देश नेताहरूले यसरी बुझे कि सङ्घमा भएन भने प्रदेशमा जाऔँ ।’

‘प्रदेशमा पनि भएन भने सायद पालिकातिर जाने योजना बन्नेछ । अनि पालिकामा पनि भएन भने टोल विकास समितिको अध्यक्षलाई संवैधानिक निकाय घोषणा गर्ने बहस शुरू होला ।’

‘कुर्सीप्रतिको यस्तो प्रेम र मोह देखेर यमराजले पनि नर्कको एउटा नयाँ शाखा खोल्ने सोच बनाएका होलान् । त्यहाँ आगो हुँदैन । त्यहाँ तेलको कराही हुँदैन । त्यहाँ त केवल एउटा खाली कुर्सी हुन्छ । त्यो कुर्सी वरिपरि नेताहरू अनन्तकालसम्म घुमिरहन्छन् । बस्न खोज्छन् । उठ्छन् । फेरि बस्न खोज्छन् । फेरि उठ्छन् । कुर्सी भने सधैँ एक इन्च पर सर्दिरहन्छ ।’

‘त्यो दृश्य देखेका देवताले पनि सोध्लान्, यो कुन नर्क हो ?’

‘अनि यमराज मुस्कुराएर भन्लान्, यो साधारण नर्क होइन । यो सत्ताको मोहबाट जन्मिएको नर्क हो । यहाँ आउनेहरूलाई आगोले होइन, कुर्सीले पोल्छ ।’

त्यो कोठाबाट बाहिर निस्किएका कार्यकर्ताले एकअर्काको अनुहार हेरे । कसैले निराश स्वरमा भन्यो, ‘अब बुझियो, यो सहकार्य प्रदेश सरकार बनाउनका लागि मात्रै होइन रहेछ । यो त नर्क यात्रा सँगै शुरू गर्ने साँच्चैको सहमति रहेछ ।’

प्रकाशित मिति:
थप ब्लग