लगातारको झरीले मौसम चिसिएको छ । तर मौसम जति चिसिए पनि राजनीतिका कुरा सेलाएका छैनन् । चियाको कपबाट उठ्ने बाफसँगै राजनीतिक बहसको ताप उस्तै छ । प्रधानमन्त्रीले राष्ट्रसंघ महासभामा सम्बोधन गरेर फर्किसकेपछि पनि चियापसलमा त्यसकै चर्चा छ ।

चियावाला : ए दाइ, राष्ट्रसंघमा प्रधानमन्त्रीको भाषण हेर्नुभयो ?
जेठाबा : हेरेँ, बल्ल ढुक्क भो । म त संविधान दिवसकै दिनदेखि डराएको थिएँ ।
कान्छा : किन ?
जेठाबा : टुँडिखेलमा प्रधानमन्त्रीले बोलेको सुनेपछि लागेको थियो, अब राष्ट्रसंघमा पनि यस्तै भयो भने नेपालको इज्जत कहाँ बाँकी रहला ?
चियावाला : टुँडिखेलको भाषणमा त्यस्तो के देख्नुभयो र ?
जेठाबा : भाषणभन्दा पनि भाषणसँगको संघर्ष देखियो नि ! कागजसँग, अक्षरसँग, माइकसँग । अनि आफ्नै वाक्यसँग पनि ।
कान्छा : त्यसो भए राष्ट्रसंघमा त झन् गाह्रो होला भनेर सोच्नुभयो ?
जेठाबा : त्यति मात्रै हो र, राष्ट्रसंघको महासभामा पुगेपछि पनि बीचमै उठेर हिँड्ने हुन् कि क्या हो भन्ने डर थियो ।
चियावाला : संसद्को अनुभव पनि त छ नि !
जेठाबा : हो, त्यही भएर डर लागेको नि । नेपालमा त संसद् भवनबाट बाहिर निस्किए भइहाल्यो । त्यहाँ त बाहिर निस्किएपछि सीधै संसार छ !
चियावाला : तर त्यस्तो भएन नि !
जेठाबा : भएन । बेलैमा पुगे । स्कुलको वादविवाद प्रतियोगितामा विद्यार्थीले घोकेर बोलेको शैलीमा खररर बोले । कहीँ कतै अलमल नगरी बेलैमा फर्किए ।
कान्छा : बोल्न त बोले, उपलब्धि चाहिँ के भयो त ?
जेठाबा : सबैभन्दा ठूलो कुरा कहीँ कतै नअड्किकन फरर बोले । बीचमै उठेर हिँडेनन् । बोल्दै बोल्दिनँ भनेर तर्केनन् । शुरूमा अलमललिए पनि राष्ट्रसंघ महासचिवसँग हात मिलाए ।
चियावाला : त्योभन्दा पनि ठूलो कुरा त नेपालले जलवायु न्याय पाउनुपर्छ भनेर दह्रोसँग कुरा उठाए नि !
कान्छा : हो । नेपालले जलवायु परिवर्तनमा कम योगदान गरे पनि त्यसको असर धेरै भोगिरहेको छ भन्ने कुरा उठाए । भाषणको अन्त्यमा पशुपतिनाथले विश्वको कल्याण गरून् भनेर नेपालीमा भने । अरू त हेरेको हेर्यै भए नि !
जेठाबा : नेपालीमा के भनेको हो बुझेनन्, त्यसैले त हेरेका हेर्यै भए ।
कान्छा : तर त्यहाँ पुगेका समर्थकले चाहिँ बेला न कुबेला हुटिङ गरेर चर्कै तमासा देखाए नि !
चियावाला : प्रधानमन्त्रीले विश्वलाई जलवायु न्यायको पाठ पढाइरहेका बेला आफ्नै समर्थकले हलभित्र ‘हाम्रो पनि उपस्थिति छ है’ भनेर सम्झाएका होलान् ।
जेठाबा : चियामा चिनी धेरै हाल्यो भने मीठो हुँदैन, गुलियो मात्रै हुन्छ । समर्थन पनि त्यस्तै हो ।
चियावाला : जे भए पनि प्रधानमन्त्रीले दमदार भाषण गरे । विश्वले सुने पनि नसुने पनि नेपालीले मजाले सुने । कसैले राम्रो भने, कसैले प्रस्तुति मिलाउनुपर्थ्याे भने । जेठाबालाई चाहिँ कस्तो लाग्यो कुन्नि ?
जेठाबा : त्यस्तै भनौँ । घरमा पाहुना बोलाएर राम्रो खाना पकाउनु एउटा कुरा हो, तर थालमा कसरी पस्किन्छौँ भन्ने चाहिँ महत्त्वपूर्ण कुरा हो ।
कान्छा : भाषण सकियो भनेर कुरा पनि सकियो भन्ने होइन । जलवायु न्याय भनेको माइकमा बोलेर मात्र पाइने कुरा होइन । त्यसपछि कूटनीति चाहिन्छ, स्रोत चाहिन्छ, योजना चाहिन्छ, अन्तर्राष्ट्रिय सहकार्य चाहिन्छ ।
चियावाला : एउटा कुरा चाहिँ पक्का हो, प्रधानमन्त्रीले यसपालि संसारलाई एउटा राम्रो कुरा सुनाए ।
जेठाबा : हो त, नेपालका तन्नेरी प्रधानमन्त्रीले पनि खुलेर देशको कुरा विश्वसामु सुनाउन सक्छन् भन्ने पुष्टि भयो ।
कान्छा : पहिलेको भाषण सुनेर डराएकाहरूले यसपालि राहतको सास फेरे । अब अर्को पटक भाषणभन्दा पहिले चियापसलमै पूर्वानुमान नगर्नू ।
चियावाला : किन ?
जेठाबा : हाम्रो पूर्वानुमानभन्दा प्रधानमन्त्रीको भाषण यसपालि अलि फरक पर्याे नि !
कान्छा : चिया थपौँ ?
जेठाबा : नथपाैँ । चिया र भाषण उस्तै हो बाबु । अड्कलेर, थोरै र ठीक ठाउँमा बोल्न जान्यो भने मात्रै मीठो हुन्छ । धेरै भयो भने चिया पनि फिक्का हुन्छ, कुरा पनि ।
जेठाबा कुरा सकेर बाहिर निस्कँदा झरी परिरहेकै थियो, चियापसलभित्र चाहिँ राजनीतिक कुराले मानिस तातिरहेकै थिए ।