वर्ष दिनभन्दा धेरै भयो, देउवाजीको दिनदशा गडबड हुन थालेको । हिजोसम्म आफ्नै इसारामा चल्ने कांग्रेस आज अरुको इसारामा चल्न थालेको छ । हिजोसम्म आफूले आँखा झिम्क्याउँदा संगठनमा तरंग आउँथ्यो, आज आँखा च्यातेर हेर्दा पनि निस्पट्ट अन्धकार मात्रै देखिन्छ । हिजोसम्म आफूले भनेपछि महाधिवेशन त के पार्टी पनि कहिले यता सर्थ्यो, कहिले उता सर्थ्यो । आज महाधिवेशन रोक्न अनेक गर्दा पनि रोकिएन । राजनीतिक ग्रहदशा उमेरसँगै थाहै नपाई फेरिएछ । सोच्दा पनि टाउको झुम्म हुन्छ !

नाति पुस्ताका नेता–कार्यकर्ताले जोडबलमा महाधिवेशन शुरु भयो । युवाहरू जुर्मुराएका छन् । हिजोसम्म देउवाजीको छायामा बसेका नेताहरू शितल खोज्दै अर्कोतिर सरेका छन् । राजनीति पनि अचम्मको हुन्छ । हिजो एउटै छातामुनि ओत लागेकाहरू राजनीतिक वर्षामा ओतिन अर्कैतिरको छाता बोकेर हिंड्न थालेका छन् ।
देउवाजीले महाधिवेशन रोक्न खोजे । तर रोकिएन । ढोका थुन्न खोज्दा झ्यालबाट हावा छिर्यो । झ्याल थुन्न खोज्दा छानोबाट घाम छिर्यो । अन्ततः कांग्रेसभित्र परिवर्तनको बतास चल्यो । पुरानाहरू पनि बिस्तारै संस्थापनतिरै लागे । देउवाजीको वरिपरि रहेका कुर्सीहरू खाली हुँदै गए । कुर्सी खाली भएपछि मात्रै थाहा हुने रहेछ, वरिपरि मान्छे थिए कि मान्छेको वरिपरि स्वार्थ !
तर देउवाजीको आशा अझै मरेको छैन । छुट्टै महाधिवेशन गर्ने, आफ्नै सभापति आफैँ बन्ने र मूल कांग्रेसको आधिकारिकता आफ्नै हातमा राख्ने धोको अझै बाँकी छ । मूल घरमा आफ्नो कोठा नपाए छुट्टै घर बनाउने, अनि त्यही घरलाई पुर्ख्यौली घर घोषणा गर्ने ! राजनीतिमा असम्भव केही छैन, कागज मिल्यो भने सुकेको हाँगो पार्टी पनि मूल पार्टीजस्तै देखिन सक्छ ।
यस्तै चिन्ता र आशाले सताएपछि देउवाजी हात हेराउन ज्योतिषकहाँ पुगे ।
ज्योतिषले हातका रेखा हेरे । निधार हेरे । टाउकाको चोट हेरे । ग्रहदशा हेरे । केहीबेर गम्भीर भएर बसेपछि भने, ‘तपाईंको भाग्यमा हिजोआज एउटै मात्र तारा देखिन्छ । कांग्रेसको झण्डामा चारतारा छन् । कांग्रेस जसको भए पनि तीमध्ये एउटा तारा चाहिँ हजुरकै हुन्छ ।’
देउवाजीको अनुहार उज्यालियो ।
‘त्यो कसरी ? कांग्रेस त अरूकै हातमा जाने भयो । महाधिवेशन रोक्न खोज्दा पनि रोकिएन । युवाहरू सबै उतै लागे । आफ्नै मान्छेले पनि छाडे । अब मेरो तारा कहाँबाट आउँछ ?’
‘ज्योतिषले चस्मा मिलाउँदै भने, ‘हजुरले राजनीति बुझ्नुभएन कि क्या हो ?’
‘कसरी ?’
‘हेर्नुस्, महाधिवेशन रोक्न खोज्नुभयो, रोकिएन । युवाहरूलाई रोक्न खोज्नुभयो, उनीहरू जुर्मुराएर आए । आफ्नै साथमा रहेका पुराना नेताहरूलाई रोक्न खोज्नुभयो, उनीहरू पनि छाडेर गए । अब सबैले छाड्ने, महाधिवेशन हुने, आफ्नो पक्ष कमजोर हुने भएपछि हजुरले दिउँसै तारा देख्नुहुन्छ ।’
देउवाजी एकछिन टोलाए ।
‘अनि त्यो चारतारामध्ये मेरो तारा कुन हुन्छ त ?’
ज्योतिषले मुसुक्क हाँस्दै भने, ‘देखेजति सबै हजुरकै । चार, पाँच, कतिकति ! धेरै तारा हजुरकै भागमा पर्लाजस्तो देखिन्छ ।’
देउवाजीको अनुहारमा चिन्ताको रेखा थपियो । उनलाई लाग्यो, ज्योतिषले हात हेरेको हो कि राजनीतिक भविष्यको पोस्टमार्टम गरेको हो !
कांग्रेसको झण्डामा चारतारा छन् । तर चारतारा हुनु र सबै तारा आफ्ना हुनुमा धेरै फरक छ । पार्टीमा सभापति हुनु र पार्टी आफ्नो मात्र हुनु जस्तै फरक । पदले मानिसलाई नेता बनाउँछ, तर कार्यकर्ताको विश्वासले मात्रै पार्टीको नेता बनाउँछ ।
अहिले कांग्रेसमा युवाहरूको उत्साह बढेको छ । संस्थापन पक्ष महाधिवेशनको उल्लासमा छ । पुराना नेताहरूको साथ त्यतै सर्दैछ । यस्तो बेला छुट्टै महाधिवेशन गरेर मूल कांग्रेसको सभापति बन्ने सपना देख्नु भनेको नदीले धार बदलिसकेपछि पुरानो किनारमा उभिएर आफूलाई माझी घोषणा गर्नुजस्तै हो ।
देउवाजीलाई एउटा कुरा चाहिँ कसैले सम्झाइदिनुपर्छ - चारतारे झण्डा हातमा राख्दैमा चारै तारा आफ्नो हुँदैनन् । कहिलेकाहीँ झण्डा समातेको डण्डी आफ्नै हातमा हुन्छ, तर झण्डा हावामा उडिसकेको हुन्छ ।
अन्ततः ज्योतिषको भविष्यवाणी सही साबित हुनसक्छ । कांग्रेसको झण्डामा तारा रहिरहने छन्, तर देउवाजीले तीमध्ये आफ्नो तारा खोज्दै जाँदा कतै आकाशतिर होइन, आफ्नै राजनीतिक विगततिर फर्केर हेर्नुपर्ने हुन सक्छ ।
किनभने राजनीतिमा सबैभन्दा डरलाग्दो ग्रहदशा शनि र राहुको होइन, आफ्नै मान्छेले विश्वास गर्न छाडेपछि गहिरिदै जान्छ । आफ्नै पार्टीको झण्डामा तारा गन्न पाउनु, तर तीमध्ये एउटा पनि आफ्नो नहुने दुर्भाग्यले मात्र देउवालाई पर्खिरहेको छ !