नेभिगेशन
आइतबार, कात्तिक १५, २०८३

पानी कहिले पर्छ–थाहा हुन थाल्यो, आदेश कसले दिन्छ–थाहा हुन छाड्यो !

गाउँको चौतारीमा दुई जना बुढा मान्छे गफिँदै थिए । अघिल्लो दिन परेको बेमौसमी पानीले पाक्न लागेको धान खेतमै सोत्तर पारेको थियो । दुई बुढाले खेततिर हेर्दै लामो सुस्केरा हाले ।

एक जनाले मन थाम्न सकेनन् । भने ‘यो पानी कस्तो बेलामा परेको ? धान काट्ने बेला पानी, रोप्ने बेला खडेरी । खेती गर्न अब आकाशको मुख ताकेर मात्रै नहुने भयो ।’

अर्का बुढाले विद्वता देखाए ‘आकाशको मुख ताक्ने दिन सकिए ! अहिले त मौसमविद्हरूले पानी कहिले पर्छ, कहाँ पर्छ, कति पर्छ भनेर पहिल्यै भनिदिन्छन् । मोबाइलमै सूचना आउँछ । पानी पर्छ भने छाता बोक्न पाइयो, पर्दैन भने घाम ताप्न पाइयो ।

‘हो त नि, पहिले आकाशमा बादल देखेपछि पानी पर्ला कि भनेर अनुमान गर्नुपर्थ्याे । अहिले त मौसमको पूर्वानुमान मिल्न थालेको छ । तर को पक्राउ पर्छ र कति बेला पर्छ भन्ने पूर्वानुमान गर्न चाहिँ गाह्रो हुन थालेछ ।’

‘सही कुरा गर्नुभो ! पक्राउ गर्ने र आदेश दिनेले पनि पक्राउ परेका मान्छे कसकाे आदेशले पक्राउ परेको हो भन्दैनन्, बरु छाडेको चाहिँ मैले हो भन्दै जस लिन तँछाडमछाड गर्छन् ।’

‘अस्तिको शुक्रवार प्रहरी सञ्चारगृहभित्र पसेर पत्रकारहरूलाई समातेर लगेछ । रेडियोमा सुनेर झसङ्ग भएँ । पुरानो राजाको शासनकालमा पनि सञ्चारगृहभित्रै प्रहरी पसेर पत्रकार पक्राउ परेका थिएनन् । पहिलेको शासनकालभन्दा पनि डरलाग्दो पो हुन थाल्यो त ।’

‘कतिले त ज्ञानेन्द्र शाहको पालामा सञ्चारमाध्यममाथि भएको धरपकड सम्झिएछन् । पत्रकारले समाचार लेख्ने कि पक्राउ पर्ने भन्ने अवस्था आयो ।’

‘तर पत्रकार पक्राउ गर्ने आदेश कसले दिएको रहेछ त ?’

‘त्यही त रमाइलो छ ! प्रधानमन्त्रीको सचिवालयले भन्यो, प्रधानमन्त्रीलाई पत्रकार पक्राउबारे जानकारी थिएन रे । थाहा पाएपछि प्रधानमन्त्रीले पत्रकार छोड्न निर्देशन दिनुभयो रे । पत्रकार पनि छुटे ।’

‘प्रधानमन्त्रीलाई थाहा थिएन भने प्रहरीले कसको आदेशमा समात्यो त ?’

‘प्रहरीले चाहिँ प्रधानमन्त्री कार्यालयको चासोअनुसार पत्रकारलाई बोलाएको भन्यो रे ।’

‘त्यसो भए प्रधानमन्त्रीलाई थाहा नभएको कुरा प्रधानमन्त्री कार्यालयलाई चाहिँ थाहा रहेछ ?’

‘त्यही कुरा बुझ्न नसकेर म पनि हैरान छु । प्रधानमन्त्रीको निर्देशन होइन, गृहमन्त्रीको निर्देशन होइन, प्रहरीले पनि आफूखुशी गरेको होइन रे ! अब कसको आदेश होला त ?’

‘कतै अघिल्लो सरकारकै आदेश त होइन ? ओली सरकारको पुरानो आदेश बाँकी रहेछ क्यार !’

‘अब त एआईलाई सोध्नुपर्ने भयो । एआई, पत्रकारलाई कसले पक्राउ गर्न लगायो भनेर !’

‘एआईले पनि के भनोस् ? प्रधानमन्त्रीले होइन भन्छन्, गृहमन्त्रीले होइन भन्छन्, प्रहरीले आफूखुशी होइन भन्छ । अब एआईले पनि अनुमान मात्रै गर्ने भयो । मान्छेले नबुझेको कुरा मेशिनले कसरी बुझोस् !’

‘तर एउटा कुरा चाहिँ बुझ्न सकिएन । इनम भन्ने केटाको नामसँग उच्च प्रहरी अधिकृतदेखि प्रधानन्यायाधीश, न्यायाधीश, नेता र सांसदसम्मको नाम जोडिएको चर्चा छ । एउटा मान्छेको सम्बन्धले यत्रो राज्य संयन्त्रलाई किन यति धेरै तरङ्गित बनाएको होला ?’

‘पहिलेका बिचौलिया भनेका कपाल फुलेका, झोला बोकेका, सरकारी अड्डा धाउने हुन्थे । अहिलेका बिचौलिया युवा छन्, आधुनिक छन्, प्रधानमन्त्री र मन्त्रीहरूजस्तै जोशजाँगर भएका । फरक यत्ति हो, कोही नागरिकको काम गर्छन्, कोही नागरिकको काम हुने ठाउँमा आफ्नो काम गर्छन् ।’

‘त्यसो भए राजनीतिक सत्ता युवा पुस्ताको हातमा पुग्यो भनेर खुशी हुनु कि बिचौलियाको नयाँ पुस्ता हुर्किंदै गरेको देखेर चिन्ता गर्नु ?’

‘त्यही छुट्याउन नसकेर त देशै अन्योलमा परेको छ त ! पहिले बिचौलिया मन्त्रालय धाउँथे, अहिले मन्त्रालय र अदालतका मान्छे बिचौलिया भेट्न होटल जान्छन् ।’

‘अनि पत्रकार पक्राउको विरोध भइरहँदा प्रधानमन्त्रीले चाहिँ के गर्नुभएछ ?’

‘फेसबुकमा लुँडो खेलको महत्त्वबारे पोस्ट गर्नुभएछ ।’

‘देशमा पत्रकार पक्राउ पर्छन् । अनि प्रधानमन्त्री लुँडोको चिन्ता गर्छन् ।’

‘लुँडो पनि राजनीतिसँग मिल्दोजुल्दो खेल हो नि ! कहिले छक्का पर्छ, कहिले गोटी काटिन्छ । कहिले आफ्नो गोटी घर पुग्छ, कहिले अरूको । राजनीतिमा पनि कसको गोटी कहाँ पुग्छ, कसले कसलाई काट्छ, कसैलाई थाहा हुँदैन ।’

‘तर लुँडोमा त पासा फ्याँक्ने मान्छे देखिन्छ नि ! यहाँ त पासा फ्याँक्ने मान्छे नै देखिँदैन ।’

दुवै बुढा हाँस्दै घरतिर लागे ।

बेमौसमको पानीले खेतभरि धान ढलेको थियो, पत्रकार पक्राउ गर्ने आदेश कसले दियो भन्ने थाहा नपाएर चाहिँ संसारै ढलपल गरिरहेको थियो ।

प्रकाशित मिति:
थप विशेष